लुम्बिनीमा कोरियाली धर्मगुरुद्वारा ‘शान्ति घण्टी’ स्थापना «
Logo

लुम्बिनीमा कोरियाली धर्मगुरुद्वारा ‘शान्ति घण्टी’ स्थापना

बुटवल–बुद्ध जन्मस्थल लुम्बिनीमा डेढ टनको घण्टी बजाएर विश्व शान्तिको कामना गरिएको छ । कोरियाली धर्मगुरुद्वारा शान्तिका लागि प्राथना गर्न ‘शान्ति घण्टी’ को स्थापना गरिएको हो । कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घण्टी मंगलबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले बजाएर उद्घाटन गरे ।

१०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूहका सदस्यहरु, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घण्टी बजाइएको हो । उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री किराँतीले बुद्धभूमिबाट घण्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताए । भिक्षुहरुले बुद्ध जन्मस्थल लुम्बिनीमा चढाएको घण्टीले नेपाल र कोरियाबीचको निस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको किराँतीको भनाइ छ ।

उनले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल कोरियाबीच इतिहास जस्तै पुरानो, समुन्द्र जस्तो शान्त र हिमालजस्तै अग्लो सम्बन्ध छ’ उनले भने, ‘कोरियाले नेपालीलाई रोजगारी दिएर र नेपालीले पसिना दिएर सहयोग गरेका छौं, अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।’

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका किराँतीले संसारभरका बुद्धमार्गीलाई लुम्बिनी जाऔं भन्ने अभियान कोरियामा चलाउन घण्टी उद्घाटन समारोहमा सहभागी हुन आएका बौद्ध गुरु, भिक्षु भिक्षुणी, उपासक, उपासिकाहरुसँग अनुरोध गरे । ‘नेपालीहरु पाहुनालाई भगवान मान्छौं, अब तपाईहरुले बुद्धभूमि लुम्बिनी जाऔं भन्ने अभियान चलाउनुहोला, परिवारसहित लुम्बिनीमा आउनुहोस्’ उनले भने । उनले गौतमबुद्धलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसुतीगृह निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) का तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घण्टीको अनावरण र उद्घाटनको अवस्थसम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीलाई धन्यवाद दिए । उनले शान्ति घण्टीको अर्थ बुद्धको शान्ति र दयाको शिक्षाबाट विश्वमा द्वन्द्वको समाधान र शान्ति स्थापनाको सन्देशका रुपमा बुझ्नुपर्ने बताए ।

कार्यक्रममा शान्ति घण्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्मगुरु हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घण्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे । ‘यो घण्टीको आवाज बुद्ध र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाहरुले प्राणीहरुको पीडालाई राहात दिने प्रतिक हो’ हेजाले भने, ‘बुद्धको जन्मस्थलबाट बज्ने घण्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकहरुलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीहरुको पीडालाई आनन्दको आवाज दिनेछ ।’

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रो डा. सुर्वलाल बज्रचार्य, कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदकले बुद्ध जन्मस्थलमा शान्ति घण्टी स्थापनाले धार्मिक वातावरण बनाउने बताए । यसअघि धर्मगुरु हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपालमैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्