मन्दीले प्रशोधित पानी उत्पादन घट्यो «
Logo

मन्दीले प्रशोधित पानी उत्पादन घट्यो

बिर्तामोड– आर्थिक मन्दीको असर प्रशोधित पानी (मिनिरल वाटर) उत्पादनमा समेत देखिएको छ । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा खुलेको प्रशोधित पानी (मिनिरल वाटर) उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बिक्री घटेपछि प्रशोधित पानी उत्पादकले पनि उत्पादन पनि घटाएको मेची पानी उत्पादक संघका अध्यक्ष हरि प्रसाईंले जानकारी दिए ।

पछिल्लो समय झापा जिल्लामा सञ्चालित प्रशोधित पानी उत्पादकले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमिनमुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट प्रशोधन गर्दै प्रशोधित पानी (मिनिरल वाटर) उद्योग सञ्चालन गरिरहेको भए पनि विश्वमा देखिएको आर्थिक मन्दीको असर प्रशोधित पानी (मिनिरल वाटर) उत्पादनमा देखापरेकाले आफूहरू समस्यामा परेको उनले बताए ।

झापा जिल्लामा तृष्णा, लाइफकेयर, लाइफलाइन, जिरो अक्वा, डालमिया, कावेल, समावेशी, कञ्चन, बेला, कनकाई, कनकाई अक्वा, शाश्वत, अक्वा मेरी, ओसिस, सुनमाई, ड्यू ड्रप, तृष्णा गोल्ड, जनता जललगायतका पानी बिक्री वितरण भइरहेको बताउँदै उनले आर्थिक मन्दीका कारण बाहिरी चलपहल घटेकोले पानीको बिक्रीसमेत घटेको जानकारी दिए ।

आर्थिक मन्दीको प्रभाव खानेपानीमा पनि देखिएकाले सुनमाई वाटर उद्योगको दैनिक एक हजार कार्टुन पानी उत्पादन क्षमता भए पनि हाल ६ सय कार्टुनमात्र पानी उत्पादन गरिरहेको सुनमाई वाटर उद्योगका सञ्चालक मिनप्रकाश मैनालीले बताए । त्यस्तै बिर्तामोडस्थित तृष्णा पानीका सञ्चालक हरि प्रसाईंले करिव ५० प्रतिशत उत्पादन घटेको जानकारी दिए ।

होटल, हस्पिटलदेखि पैदलयात्रीसम्मले दैनिक रुपमा पिउनका लागि मिनरल वाटर भन्दै पिउने बोतल र जारको पानी प्रयोग गर्ने गरेको भए पनि पछिल्लो समय मानिसको चहलपहल घट्दा पानीको खपत स्वत: घटेर गएको उनले बताए । करिब दुई दर्जन खानेपानी उधोग सञ्चालनमा रहेको झापामा यही अवस्था रहे अर्को वर्षसम्ममा ५/७ वटा उद्योग बन्द हुने अवस्थामा पुग्ने प्रसाईंको भनाइ छ ।

मेची पानी उत्पादक संघका अध्यक्षसमेत रहेका प्रसाईंले उनले प्रशोधित पिउने पानीमा आर्थिक मन्दीको प्रभाव बढिरहेको बताए । झण्डै ८० प्रतिशत पानी होटल व्यवसायबाट बिक्री हुने गरेको भए पनि विगतमा जस्तो मानिस होटलमा प्रवेश नगर्दा पानीको खपत स्वत: घटेर गएको उनको भनाइ छ । मन्दीले पानीको खपत घटेपछि प्रशोधित पानी (मिनिरल वाटर) उद्योगहरू दैनिक रूपमा चल्ने अवस्था नभएको उनको भनाइ छ ।

झापामा दैनिक पाँच हजार कार्टुन पानी उत्पादन हुँदै आएकोमा त्यसमध्ये ४५ सय खपत हुने गरेको भए पनि हाल देखिएको आर्थिक मन्दीले पानी उत्पादन अवस्था ४५ प्रतिशतले घटेको उनी बताउँछन् । त्यसैगरी मन्दीले पानी उत्पादनमा समस्या भएको विजय डालमिया बताउँछन् । मेचीनगर–६ काँकडभिट्टामा अक्वाटप मकालु पानी उद्योग सञ्चालन गरिरहेका डालमियाले आर्थिक मन्दीका कारण अन्य क्षेत्र सरह पानी उद्योग पनि प्रभावित भएकाले सरकारले राहत दिनुपर्ने बताए ।

आफूहरुले करोडौं लगानी गरेर प्रशोधित पानी (मिनिरल वाटर) उद्योग सञ्चालन गरी सयौँ स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गरिरहेको अवस्थामा आर्थिक मन्दीको प्रभाव खानेपानीमा पनि देखिएकाले आफूहरू नै पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले सहयोग नगरे झापाको विर्तामोड र दमकमा सञ्चालनमा रहेका डेढ दर्जन पानी उद्योग बन्द हुने अवस्थामा पुग्ने मेची पानी उत्पादक संघका अध्यक्ष हरि प्रसार्इंले जानकारी दिए ।

बोतल र जारको पानीको बजार फराकिलो बन्दै गएको देखेपछि प्रशोधित पानी (मिनिरल वाटर) उद्योगमा लगानी गर्न हौसिए पनि आर्थिक मन्दीले अहिले आफूहरू निल्नु न ओकल्नुको अवस्थामा पुगेको उनको भनाइ छ । झापामा अन्य जिल्लाबाट पानी आयात गर्नुपर्ने अवस्था नरहेको बताउँदै मेची पानी उत्पादक संघका अध्यक्ष हरि प्रसाईंले सरकारले सहयोग गरी प्रशोधित पानी (मिनिरल वाटर) उद्योगलाई जोगाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्