आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन «
Logo

आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन

फाइल तस्बिर ।

काठमाडौं- सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगको परामर्श बमोजिम सो दिन निर्वाचन गर्ने निर्णय गरिएको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ ।

त्यसैगरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उनले बताइन् । बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको मन्त्री शर्माले बताइन् । मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्