Logo

बजार समस्या समाधान गर्न माग

धनकुटा– धनकुटाको छथर जोपरपाटी गाउँपालिकाका उद्यमीहरूले उत्पादन भएका वस्तु तथा सामग्रीहरूले बजार नपाएको भन्दै बजारको दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छन् ।

नवौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाद्वारा धनकुटाको छथर जोरपाटीको सिधुवा बजारमा आयोजित कार्यक्रममा उद्यमीहरूले बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा स्थानीय उत्पादनले बजार नपाएकाले भन्दै स्थानीय उत्पादनको प्रयोग र बजारीकरणमा ध्यान दिन सरोकारवाला निकायका प्रतिनिधिलाई आग्रह गरेका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले स्वदेशी उत्पादनको उपयोगलाई अनिवार्य गर्ने नीति भए पनि त्यसको व्यावहारिक कार्यान्वयन नभएकाले साना तथा ठूला उद्यमीहरू समस्यामा रहेको बताए । अहिले सबै क्षेत्रमा बजारीकरणको समस्या भएकाले त्यसको नीतिगत र व्यावहारिक समस्या समाधान आवश्यक रहेको समेत अध्यक्ष राईको भनाइ थियो ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय, धनकुटाका प्रमुख ईश्वर थापाले उद्योगको प्रवर्द्धन उत्पादित वस्तुको बजारीकरण र उद्योगहरूले झेल्नुपरेका समस्याहरूको विषयमा सबै सरोकारवालाहरू एक भएर दीर्घकालीन समाधान निकाल्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्