वित्तीय विवरण नबुझाउने ८८ कम्पनी कारबाहीमा «
Logo

वित्तीय विवरण नबुझाउने ८८ कम्पनी कारबाहीमा

काठमाडौं– नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले विकास बैंक,जलविद्युतलगायत उपसमूहका ८८ वटा कम्पनीलाई कारबाहीसहित जरिवाना तिराएको हो । बोर्डले ती कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ ।

कारबाहीमा परेका ढिलो गरी वित्तीय विवरण बुझाउने हरेक कम्पनीहरूबाट बोर्डले ५० हजार प्रति कम्पनी जरिवानासमेत लिएको छ । कारबाहीमा परेका कम्पनीमध्ये ६९ वटाले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण बोर्डलाई ढिला गरी बुझाएका थिए । यस्तै बाँकी कम्पनीहरूले विवरण नै नबुझाएको बोर्डले जनाएको छ ।

बोर्डलाई वित्तीय विवरण नदिने ती कम्पनीहरूसँग प्रति कम्पनी एक लाख रुपैयाँ जरिवाना अशुल गरिएको बोर्डले जनाएको छ । बोर्डको इतिहासमै यतिधेरै कम्पनीहरू कारबाहीमा परेका हुन् । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) बमोजिम आव २०७९/८० को चौथो त्रैमासिक विवरण बोर्डमा ढिलोगरी बुझाउने तथा नबुझाउनेलाई कारबाही गरेको जनाएको छ ।

साथै, कारबाहीमा परेका कम्पनीहरूलाई १५ दिनभित्र सफाइ पेस गर्न सूचित गरिएको बोर्डले जनाएको छ । बोर्डको कात्तिक २० गतेको निर्णय अनुसार बोर्डले ती कम्पनीहरूलाई सफाइ पेस गर्न भनेको थियो । चाडपर्वका कारण बिदा परेकाले केही मात्रै कम्पनीहरूले स्पष्टीकरण बुझाएको बोर्डले जनाएको छ । बाँकी कम्पनीले स्पष्टीकरण बुझाउने क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्