प्रविधिको विकाससँगै इँटा व्यवसाय संकटमा «
Logo

प्रविधिको विकाससँगै इँटा व्यवसाय संकटमा

धनगढी– विकास निर्माणमा नयाँ प्रविधिको विकाससँगै इँटा व्यवसाय संकटमा पर्दै गएको छ । सुदूरपश्चिममा रहेका ९० इँटा उद्योगमध्ये आठवटा उद्योग बन्द भएका छन् । सडक पूर्वाधार र घर निर्माणमा इँटाको सट्टा ब्लक, पी फ्याब र मेटल स्टक्चरजस्ता प्रविधि प्रयोग बढेको कारण इँटाको माग घटेको छ ।

सिमेन्ट, बालुवा र गिट्टीबाट बनेको ब्लक इँटाभन्दा हलुका र सस्तो हुने भएको कारणले ब्लकको माग बढ्दै जाँदा इँटा व्यवसाय ओरालो लागेको इँटा व्यवसायी दीपेन्द्र श्रेष्ठले बताए । ‘सरकारले निर्माण गर्ने नाला र फुटपाथमा नयाँ प्रविधिको प्रयोग भइरहेको छ,’ उनले भने, ‘विगतमा नाला निर्माण गर्दा इँटा प्रयोग हुन्थ्यो । घर बनाउँदा पनि नयाँ प्रविधि प्रयोग हुँदा इँटाको माग घटेको छ ।’

निर्माण क्षेत्रमा इँटाको माग घट्दै गइरहेकाले आफूहरूलाई व्यवसाय टिकाउनमै केन्द्रित हुन परेको व्यवसायीहरू बताउँछन् । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा रहेका ९० इँटा उद्योगमध्ये आठवटा इँटा उद्योग बन्द भएको सुदूरपश्चिम इँटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले बताए । उनले चालु अवस्थामा रहेका इँटा उद्योगले समेत उत्पादन घटाएको बताए । ‘विगतमा मैले ५ लाख इँटा उत्पादन गर्थें,’ उनले भने, ‘सबै बिक्री हुन्थ्यो, तर पछिल्लो वर्ष उत्पादन गरेको इँटामध्ये आधा मात्र बिक्री भयो ।’

अध्यक्ष शाहले नयाँ प्रविधिको प्रयोग, हिउँदे वर्षालगायतका कारण इँटा व्यवसायी समस्यामा परेको बताए । उनले तीनै तहका सरकारले स्वदेशी इँटाभन्दा विदेशी प्रविधिलाई प्राथमिकता दिएको कारणले इँटा व्यवसायीलाई जीविकोपार्जनका लागि नयाँ व्यवसायी रोज्नुपर्ने अवस्था आएको बताए । ‘सरकारले निर्माण गर्ने भवन, नाला तथा पुलमा नयाँ प्रविधि प्रयोग भइरहेको छ’ उनले भने, ‘सरकारले स्थानीय उत्पादनलाई विस्थापन गर्ने नीति लिइरहेको जस्तो हामीलाई लागिरहेको छ ।’

उनका अनुसार बेमौसमी वर्षाले इँटा भिज्दा र तयार भएको इँटा बिक्री नहुँदा व्यवसायीहरूले वार्षिक २० करोड रुपैयाँ नोक्सान बेहोर्नुपरिरहेको छ । असोजदेखि मंसिरसम्म काँचो इँटा बनाउने र सुकाउने काम हुन्छ । पुस–माघमा पोल्ने तथा बजारमा पुर्‍याउने काम हुन्छ । यही समयमा वर्षा हुँदा ठूलो परिमाणमा नोक्सान हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्