Logo

पर्यटन सञ्जालमार्फत भूकम्प पीडितलाई राहत

काठमाडौं– होटल संघ नेपालको संयोजकत्वमा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूको सञ्जाल पर्यटनका लागि सँगसँगै (टिएफटि) ले प्रधानमन्त्री पुष्प कमल दाहाललाई भेटी भूकम्प पीडितको लागि राहत सामग्री उपलब्ध गराएको छ ।

संघका अध्यक्ष विनायक शाह नेतृत्वमा गएको (टिएफटि) ले प्रधानमन्त्रीसँग भेट गरी जाजरकोट भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सहयोग उपलब्ध गराएकोमा प्रधानमन्त्री दाहाले धन्यवाद दिँदै भूकम्प पीडितको जीवनयापनमा प्राप्त सहयोगबाट सहजता हुने बताएका थिए ।

उनले पर्यटन क्षेत्रका छाता संगठनहरूको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताएका छन् । भूकम्प पीडितलाई पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार र सदस्य होटल हिमालयको तर्फबाट थप पाँच लाख रुपैयाँ बराबरको एक्रिलिक पन्चु ५०० थान र लाइभ सेभर वाटर फिल्टर १५ वटा एवं स्कल नेपालको तर्फबाट ५ लाख बराबरको ब्लयांकेट २४० थान उपलब्ध गराइएको थियो ।

योसँगै स्लिपिङ ब्याग १०० थान, ह्विल चियर पाँच थान, स्ट्रेचर पाँच थान, प्रोटेक्टिभ सुट २० थानसहित नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपालसहित करिब ३० लाख बराबरको नगद जिन्सी रहेको पनि होटल संघले जनाएको छ ।

उक्त अवसरमा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारी, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्य, स्कल नेपालका अध्यक्ष महेन्द्रराज पौडेल र होटल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा, द्वितीय उपाध्यक्ष दिनेश तुलाधर र कोषाध्यक्ष युवराज श्रेष्ठलगायतले संयुक्त रुपमा नगद र जिन्सी गरी करिब ३० लाख बराबरको राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेका थिए ।

बढ्दो जाडो याममा भूकम्प पीडितहरूलाई न्यानो कपडा, ओढ्ने कम्बल, ओछ्याउने म्याट्रेस, शौचालय प्यान, एकमुखे चुल्होलगायतका सामग्री संकलित रकमबाट खरिद हुनु उपयुक्त देखिएको पनि सो अवसरमा जानकारी गराइएको थियो । हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी सिप अभिवृद्धि तालिम सञ्चालन गरी सिक्दै कमाउँदै अवधारणाअन्तर्गत कार्यक्रमहरू सञ्चालन गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्