Logo

लगानी गर्न चेम्बरको आग्रह

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया (आईकोसा) सँग मंगलबार भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् ।

नेपालमा जलविद्युत, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरे । आइकोसाकाका अध्यक्ष डा. कुरोसे नावुहिरोसहितको प्रतिनिधीमण्डलसँग अध्यक्ष मल्लले नेपाल र जापानबीच आर्थिक र कूटनीतिक तवरले उच्चस्तरीय सम्वन्ध रहेको बताए । उनले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य भएकोमा जोड दिए ।

जलविद्युत, पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्दे मल्लले भने, ‘प्रतिफल सुनिश्चितताका लागि चेम्बरको तर्फबाट पहल गर्नेछौं ।’ नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि लगानी बोर्डमार्फत कानूनी सुनिश्चितता भईरहेको अध्यक्ष मल्लले जानकारी गराए । नेपालमा लगानीको सुनिश्चिततासँगै श्रमशक्ती पनि सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाइ थियो ।

मल्लले जापानी प्रविधि भित्र्याएर उद्योग स्थापनाका लागि साझेदारी गर्न चेम्बर तयार रहेको बताए । चेम्बर पदाधिकारीसँगको भेटमा आईकोसाका अध्यक्ष नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखेका थिए । कोभिड १९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ छ ।

नेपालमा जलविद्युत, पर्यटनलगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । उनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै सम्भावना युक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसँग प्रस्ताव गर्ने आश्वासन दिएका पनि चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्