लगानी सम्मेलनको औचित्य «
Logo

लगानी सम्मेलनको औचित्य

पटक–पटक लगानी सम्मेलन गर्ने तर कतैबाट लगानी नआउने अवस्था बनेका बेला सरकार फेरि अर्को अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा जुटेको छ । आगामी वैशाख ९ र १० मा सम्मेलन गर्ने गरी तयारी सुरु भएको सरकारी धारणा छ । यो तेस्रो लगानी सम्मेलन हुनेछ । स्वदेशी, गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको भनिएको छ ।

विगतमा केपी ओली सरकारले दुई–दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरे पनि त्यसको औचित्य अहिलेसम्म देखिएको छैन । सम्मेलनपछि वैदेशिक लगानी बढ्नुपर्नेमा क्रमशः घट्दो छ । हाम्रो मुलुकको हकमा लगानीकर्ताले पर्याप्त प्रतिबद्धता गर्ने तर वास्तविक लगानी नआउने अवस्था बनिरहेको छ । विगतका दुई सम्मेलनमा पनि ३० खर्बभन्दा बढीको लगानी ल्याउने प्रतिबद्धता गरिएकै थियो । यसको थोरै अंश पनि आउन सकेन ।

लगानी सम्मेलनमा रुचि राख्ने संघ सरकार मात्र होइन, प्रदेश र कतिपय गाउँपालिका पनि यस्ता सम्मेलन गर्ने भन्दै छन् । सम्मेलन आयोजना गर्दैमा लगानी आउने भए अहिले मुलुकभित्र ठूलाठूला कम्पनीका कार्यालयहरू हुने थिए । लाखौं व्यक्तिले रोजगारी पाउने थिए । सरकारको राजस्व बढ्ने थियो । समग्रमा मुलुकको जिडिपीको आकार पनि माथि पुग्ने थियो । तर, सोचेर र कल्पना गरेर मात्र केही उपलब्धि हासिल हुन सक्दैन ।

यो यथार्थ सबैले बुझ्नुपर्छ । लगानी ल्याउनका लागि कस्तो वातावरण बन्नुपर्छ ? बजारको अवस्था कस्तो छ ? सरकारी नियम–कानुन कस्ता छन् ? श्रमशक्ति उपलब्ध छ/छैन ? लगायतका सबै विषय हेरेर मात्र लगानीकर्ता आउँछ । ठूलो जोखिम मोलेर हाम्रोमा नै लगानीकर्ता आउनुपर्छ भन्ने बाध्यता कसैलाई छैन । पैसा भएका व्यक्तिलाई अहिले लगानी गर्ने क्षेत्र र ठाउँको कुनै कमी छैन । विश्वमै सबैभन्दा सम्पन्न र धनी मुलुक अमेरिकादेखि हामीजस्ता गरिब मुलुक सबैको चाहना विदेशी लगानी ल्याउनु हो ।

राजनीतिक अस्थिरता, बन्द–हड्ताल, मजदुर–कर्मचारीबाट हुने अवरोध, अपर्याप्त विद्युतलगायतका विगतका समस्या अहिले छैनन् । तर पनि अझै लगानीका लागि पूर्ण वातावरण बनिसकेको छैन ।

त्यसैले वस्तु तथा सेवा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा जसरी बेच्न प्रतिस्पर्धा गर्नुपर्छ, त्योभन्दा बढी मेहनत विदेशी लगानी ल्याउनुमा पर्छ । लगानीकर्तालाई सबैले रातो कार्पेट बिछ्याएका छन् । करदेखि अन्य सबै किसिमका छुट र सुविधा उपलब्ध गराएका छन् । लगानी ल्याउन विश्वभरका मुलुकबीच रहेको प्रतिस्पर्धामा हामीले लगानीकर्तालाई के त्यस्तो सुविधा दिएका छौं ? जसका कारण उनीहरू हाम्रोमा लगानी गर्न आकर्षित बनून् । यो नै आजको सबैभन्दा पेचिलो प्रश्न हो ।

जति पटक सम्मेलन गरे पनि लगानी नआउनुको मुख्य कारण मुलुकभित्र लगानी गर्ने वास्तविक वातावरण नभएको भनिँदै आएको छ । स्वदेशी लगानीकर्ताले नै सरकारले वातावरण बनाउन नसकेको भन्दै आएका छन् । यस्तोमा विदेशीले वातावरण छैन भन्नु त्यति अनुपयुक्त देखिँदैन । यसो भन्दैमा मुलुकभित्र वातावरण पटक्कै नभएको र सरकारले बनाउन नखोजेको पनि होइन । राजनीतिक अस्थिरता, बन्द–हड्ताल, मजदुर–कर्मचारीबाट हुने अवरोध, अपर्याप्त विद्युतलगायतका विगतका समस्या अहिले छैनन् ।

तर पनि अझै लगानीका लागि पूर्ण वातावरण बनिसकेको छैन । यसबीच सरकारले धेरै कानुन निर्माण गरेको छ । उद्योग दर्तादेखि धेरै कामका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको छ । तर, सरकारले तयार पारेका कानुन र अन्य पूर्वाधार कार्यान्वयनमा कर्मचारीतन्त्र बाधक छ । अतिरिक्त पैसा वा सुविधा नलिएसम्म कर्मचारीले कुनै काम गर्दैनन् । विदेशी लगानीकर्तालाई सहजीकरण होइन, अवरोध सिर्जना गरेर नजराना दिन बाध्य गराइन्छ । अहिले कुनै पनि उद्योग वा व्यवसायका लागि अनुमति लिँदा बिनापैसा सम्भव छैन ।

ठूलो लगानीको उद्योग वा व्यवसाय आउन चाहे विभागीय मन्त्रीसम्मलाई रिझाउनुपर्ने अवस्था छ । यो एउटा क्षेत्रको उदाहरण मात्र हो । लगानीकर्तालाई पाइला–पाइलामा समस्या उत्पन्न गराइन्छ र उसलाई हरेक क्षेत्रले लुट्न खोज्छ । यस्तो वातावरण रहेसम्म जति पटक लगानी सम्मेलन गरे पनि उपलब्धि एउटै आउने हो, प्रतिबद्धता गर्ने तर लगानी नआउने । त्यसैले सम्मेलन आयोजना गर्नुअघि लगानी नआउनुका कारणलाई निवारण गरे मात्र सम्मेलनको औचित्य देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्