कालिञ्चोक क्षेत्रमा नयाँ संरचना बनाउन पुनः रोक «

कालिञ्चोक क्षेत्रमा नयाँ संरचना बनाउन पुनः रोक

दोलखा-कालिन्चोक मन्दिर क्षेत्रमा नयाँ संरचना निर्माणमा पुनः रोक लागेको छ । अनियन्त्रित रुपमा विभिन्न होटल लगायतका संरचना बन्दै गएकोमा त्यसलाई जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अवैध रुपमा बनेका संरचना भत्काउने आग्रह गरेको हो ।
कालिञ्चोकको कुरी, घ्याङडाँडा र मन्दिर नजिकैको क्षेत्र अव्यवस्थित रुपमा फेरि अवैध रुपमा संरचना बन्न थालेपछि त्यस्ता संरचना भत्काउन सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । “सकभर आफैं त्यस्ता संरचना भत्काउन निश्चित समय दिएका छौं,” उनले भने “जबरजस्ती गरे यस्ता अवैध रुपमा बनेका संरचना प्रशासनले नै भत्काउछ, कानुनी कारबाही हुन्छ ।,”
अव्यवस्थित संरचना बनेर पर्यटकीय क्षेत्र नै कुरुप हुन थालेपछि गत पुसमा पनि जिल्लाको उच्चस्तीय बैठकको निर्णयपछि संरचना भत्काएको थियो । त्यही बेला विगतमा अनुमति लिएका ४० होटल र कुरी र घ्याङाँडामा निर्माणाधिन संरचनालाई मात्र पूरा हुन दिने निर्णय भएको थियो । त्यसपछि कुरी र घ्याङडाँडा बाहेकका अन्य संरचना भत्काइएको थियो ।
४ महिना अघि पनि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकले पटक पटकको निर्देशन अबज्ञा गर्दै अवैध संरचना बनाउनेहरु माथि कारबाही गर्ने निर्णय भएको थियो । सोही निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
कालिञ्चोक क्षेत्रमा अनियमित रुपमा प्राकृतिक सौदर्यतालाई नै कुरुप बनाउने गरी अतिक्रमण हुन थालेपछि त्यसको जनस्तरमा विरोध हुन थालेको छ । कालिन्चोक क्षेत्रमा अव्यवस्थित र अनियमित रुपमा संरचना निर्माण तीव्र भएका बेला प्रमुख जिल्ला अधिकारीले त्यसलाई व्यवस्थित गर्ने पहल गरेका हुन् ।
केबलकारले तिर्नुपर्ने भूबहाल कर कस्ले उठाउने भन्ने विषयमा विवाद भएपछि हाललाई जिल्ला गुठी व्यवस्थापन समितिको खातामा जम्मा गर्दै आएको छ । सुरुमा दर्ता भएका ४० वटा होटलले पनि जग्गा भाडा वापतको शुल्क गुठीमै बुझाउने गरेका छन् । गाउँपालिकाले पनि यो शुल्क आफूले उठाउनु पर्ने माग गर्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले त्यस क्षेत्रबाट उठेको रकम त्यही क्षेत्रको विकासमा खर्च गर्ने बताए । कालिञ्चोक क्षेत्रको स्वामित्वको विवादमा अल्झिनु भन्दा स्थानीय सरकारले पहल गरे राम्रो हुने उनले बताए ।
कालिन्चोक क्षेत्रको जमिनको स्वामित्वको बारेमा सरकारी निकाय बीचको विवाद भने कायमै रहेको छ । हाल गुठी संस्थान, वन कार्यालय, गौरीशंकर संरक्षण क्षेत्र तथा स्थानीय निकायहरुबीच त्यहाँको स्वामित्वको बारेमा विवाद हुँदैआएको छ । कालिन्चोक दर्शन लिले गुठी संस्थानबाट अनुमती लिई केबलकार निर्माण गरेपछि स्वामित्वको विवाद हुँदैआएको थियो ।
२ वर्ष अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले आफ्नै अध्यक्षतामा जिल्लास्तरीय गुठी समिति बनाएर कुरी क्षेत्रमा जग्गा भाडामा समेत दिएका थिए । एक वर्ष केबुलकार र होटलहरुले आफूले भोग चलन गरेको जग्गाको भाडा गुठीलाई तिरे तापनि अहिले पुनः रोकिएको छ ।
कालिञ्चोक क्षेत्रमा एक दशक अघि सडक पुगेर गाडी चल्न थालेपछि आन्तरिक पर्यटकहरुको गन्तव्य बन्दै आएको छ । अहिले कालिञ्चोक क्षेत्रमा साना ठूला गरी ६० बढी होटलहरु सञ्चालनमा छन् । अन्य उत्तिकै संख्यामा संरचना बनेको छन् । २ वर्ष अघि जिल्ला वन कार्यालय र स्थानीय सामुदायिक वन समूहले अनियमित रुपमा बनेका संरचना समेत भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्