देश कति बन्यो, कति बाँकी ? «
Logo

देश कति बन्यो, कति बाँकी ?

बाल्यकालको त्यति सम्झना नभए पनि केही कुराको केही सम्झना भने अहिले पनि रहेको छ । मैले देखेको त्यस बेलाको मेरो गाउँ र अहिले तुलना गर्दा कतिपय कुरामा म आफैंलाई अचम्म लागेर आउँछ । त्यो समय र अहिलेको अन्तर ७३ वर्षको छ; अर्थात् करिब नेपालीको सरदर आयुजत्तिकै ।

म जन्मिँदा सानो कटेरो आकारको घरमा जन्मिएको थिएँ, जुन के घर, के छाप्रोजस्तो थियो । माटाको डल्लाले बनाइएकोे थियो । घरको छाना भने खरले छाएको हुन्थ्यो । अहिले त्यसलाई सभ्य भाषामा फुसको छाना भनिन्छ । भित्र कतै कोठा थिएनन् । घरभित्रै पकाउने, खाने र सुत्ने व्यवस्था थियो । प्रकाशका लागि सानो एउटा आँखीझ्याल मात्र थियो । त्यही झ्यालबाट अलि–अलि अड्कलेर सूर्यको प्रकाश भित्र पसेको हुन्थ्यो । मुस्किलले त्यही प्रकाशमा रुमलिएर घरभित्रको काम गर्नुपथ्र्यो । सकभर रात पर्नुभन्दा पहिले नै घरभित्र खाना पकाउने, खाने र सरसफाइ गर्ने सम्पूर्ण काम सम्पन्न गरिन्थ्यो । किनकि उज्यालो छँदै यी काम गर्न पाए अलि–अलि भए पनि मटीतेल जोगिन सक्थ्यो । यस्ता काम मेरो घरमा मात्र होइन, सबैको घरमा यसरी नै हुन्थे ।

विद्यालय भन्ने थाहा थिएन । त्यो कतै देखिँदैनथ्यो । कहिले–कहिले सुनिएको सम्म थियो । बरु अभिभावकहरूले पढ्नुपर्छ भन्नुहुन्थ्यो । तर, पूर्वाधार केही थिएनन् । पढ्ने ठाउँ आफ्नै घर हुन्थ्यो । दुई–चार घरमा क, ख पढाउने काम हुन्थ्यो, त्यो पनि बिहान मात्र । दिउँसो भने गाईवस्तु चराउन जंगल जानुपथ्र्यो । यसरी घर–घरको पढाइबाट पछि स्कुल जाने वातावरण सिर्जना भएको थियो मेरो गाउँमा । स्कुल नभएकाले सार्वजनिक स्थलमा निर्माण गरिएको ठाँटी (पौवा) मा सामान्य ज्ञान भएका गुरुहरूबाट हामी केटाकेटीलाई पढाउनुहुन्थ्यो ।

सायद ती गुरुहरूको पढाइ पनि साधारण थियो । उनीहरूलाई जीविका धान्ने किसिमको पारिश्रमिक पनि थिएन । गुरुहरूको इज्जत मात्र थियो र केही सुविधा थिएन । अरूले मास्टर भनिदिए उनीहरूलाई पुगिहाल्थ्यो । पारिश्रमिकको रूपमा उनीहरूलाई केवल बिहान–बेलुका खाना खाने कुरा मात्र थियो । त्यो पनि गाउँलेहरू सबै मिलेर दाल–चामल उठाएका हुन्थे । यसरी आर्जन गरेको अलि–अलि शिक्षाले गाउँलेको ठूलो गर्जो टरेको हुन्थ्यो । कसैको चिठी लेखिदिनुपर्यो, तमसुक लेखिदिनुपर्यो, विदेशमा भएको आफ्नो कार्यालयमा चिठी पठाउनुपर्दा लेखिने अर्जी लेखिदिने जान्नेबुझ्ने भनेका तिनै गुरुहरू हुन्थे । अहिले पनि स्कुलका मास्टरहरूले यिनै काम गरेर गाउँलेहरूको समस्या फुकाउने गरिआएका देखिन्छन् ।

हो, अहिले गाउँको त्यो अवस्थामा केही परिवर्तन आएको देखिन्छ । मैले देखेको मेरो गाउँघर परिवर्तन भएको छ । अहिले घरमा स्कुल खोल्नुपरेको छैन । नगिच–नगिच विद्यालय खोलिएका छन् । माथिल्लो तहको अध्ययन गर्न पनि घरबाटै जान सम्भव भएको छ । कम खर्चमा शिक्षा प्राप्त गर्न सम्भव छ । तर पनि बोर्डिङ स्कुलमा अधिकांश अभिभावकले पढाउन सक्ने अवस्था छैन । बिहान–बेलुकीको समस्या सुल्झाउन नसक्ने अभिभावकहरूले कसरी महँगा बोर्डिङ स्कुलमा पढाउन सक्थे र ? राम्रो र निःशुल्क शिक्षा सरकारले दिन सकिरहेको छैन । त्यसकारण अहिलेको शिक्षा हुनेको र नहुनेको भनेर बुझ्न सकिन्छ ।
निश्चय नै बोर्डिङ स्कुलको पढाइ राम्रो छ । त्यसैले ठूलो रकम तिर्नुपर्छ । हुनेले धेरै पैसा तिरेर पढाएका छन् र विद्यार्थीले राम्रै नतिजा ल्याएका पनि छन् । राम्रो नतिजा ल्याउनेहरूले राम्रै अवसर पाएका छन् । छात्रवृत्तिमा डाक्टर, इन्जिनियरजस्ता विषय पढ्न पाएका छन् र पछि राम्रै सरकारी एवं अन्य क्षेत्रमा अवसर पनि पाएका छन् । हुनेले राम्रो शिक्षा हासिल गर्ने र राम्रै रोजगारी पाएका छन् । नहुनेले सेवा गर्ने मौका नै पाएका हुँदैनन् । यसरी हाम्रो शिक्षा प्रणाली अहिले पनि हुने र नहुनेमा विभाजन भएको देखिन्छ ।

७३ वर्षअघिको मेरो गाउँ र अहिले आकाश–जमिनको फरक म आफैंले अनुभव गरेको छु । त्यस समयमा एक गाग्री पानीका लागि घण्टौं समय बिताउनुपथ्र्यो । अहिले घरघरमा पानीका धारा जडान भएका छन् । पानीको कारणले गर्दा सरसफाइ र बालीनाली तथा मौसमी तथा बेमौसमी तरकारी उत्पादनले घर खर्च चलाएका पनि छन् । यसरी मेरो गाउँमा अहिले पहिलेको तुलनामा धेरै कुरा आएका छन् र धेरैको धेरथोर आवश्यकता पूरा भएका छन् ।

स्वास्थ्य सुविधाको अभावमा मानिसको अकालमा मृत्यु हुन्थ्यो । अहिले गाउँको नगिचै स्वास्थ्य सुविधा उपलब्ध छ । सामान्य रुघाखोकी लागेको बेलामा पनि मानिस अस्पताल पुगिहाल्छन् । अलि कडा रोग लागेमा ठूलै अस्पताल गएका हुन्छन् । यसरी गाउँका मानिसहरूले स्वास्थ्य सुविधा लिइरहेका छन् । स्वास्थ्यमा खेलबाड गर्नु हुन्न भन्ने एक प्रकारको चेतना आएको छ । अहिले त सानातिना औषधि त पालिकाको वडा कार्यालयबाट पनि उपलब्ध हुने गरेको छ ।

मानिसको लागि अति आवश्यक पर्ने अर्को आधारभूत आवश्यकता भनेको बस्ने घर हो । मलाई थाहा हुँदा सबैका घर थिए तर सबै कच्ची । अथवा फुसका छाना । कथम्कदाचित कुनै घरमा आगलागी हुन गयो भने गाउँ नै सखाप हुन्थ्यो । अहिले त्यो अवस्था छैन । सबै घर पक्की छन् । कसैका कंक्रिट छन्, कसैका टिनका छाना । मैले देखेको मेरो गाउँका केही घर स्याउलाको छाना र स्याउलाले बेरबार गरेका थिए । अहिले त्यस्ता घरहरू सबै हटिसकेका छन् र पक्की घर बनिसकेका छन् ।

२०७२ सालको भूकम्पले गाउँघरमा निकै परिवर्तन ल्याइदियो । भूकम्पले क्षतविक्षत बनाएका घरहरू पुनर्निर्माण गरिए । राज्यले यस्ता घरका लागि थोरै भए पनि अनुदान दिने काम ग¥यो । त्यसमा भूकम्पपीडितले केही रकम थपथाप र श्रम खर्चेर घर निर्माण गरे । अहिले सबै घर टिनको छाना भएकाले गाउँ टलक्कै टल्किएको अनुभव हुन्छ । हो, यसरी अहिले मेरो गाउँको अनुहार परिवर्तन भएको छ ।

मैले यस्तो भनिरहँदा तपाईंलाई लाग्न सक्छ, त्यो गाउँमा त कति धेरै विकास पुगिसकेछ । हो, यो पनि सत्य कुरा हो । त्यहाँ विकासमात्र पुगेको देखिँदैन, अन्य कुरा पनि पुगेको छ । अहिले प्रत्येक घरपरिवारमा विदेशी कमाइ भित्रिएको छ । विदेशबाट आएको पैसाले घर धानिएको छ । जति विप्रेषणबाट आउँछ, त्यो सबै घरजग्गा खरिद र सामाजिक कार्यमा नै खर्च भएको छ । विदेशमा पसिना बगाएर कमाएको पैसा स्वदेशमा उत्पादनशील क्षेत्रमा लगानी गर्न सकेको भए त्यसबाट मनग्य आम्दानी हुन सक्थ्यो । त्यसतर्फ ध्यान जान नसकेको हुँदा विप्रेषणबाट प्राप्त रकमको खासै उपलब्धि हुन सकेको छैन ।

अहिले गाउँघरका ऊर्जावान् श्रमशक्ति रोजगारीका लागि विदेश पलायन भएको छ । उसले पठाएको पैसाले बाआमा र परिवार धानिएका छन् । खेती गर्ने जनशक्ति नभएकाले खेतबारी बाँझो भएका छन् । यसरी नै बाँझो भइरहने हो भने हाम्रो अवस्था भविष्यमा कस्तो हुनेछ, हामी आफैं अनुमान लगाउन सक्छौं । यस्तो विकराल अवस्था सिर्जना हुने देख्दादेख्दैै सरकार भने देशको अर्थतन्त्र विप्रेषणले धानिएकोमा खुसी भएको छ । विप्रेषणको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन सरकारले बाटो देखाउन सकेको भए देशको अवस्था निश्चय नै अर्कै हुने थियो । खै ! त्यतातिर राज्यको ध्यान जान सकेको ?

पहिले मेरो गाउँमा बाटाघाटा पुगेका थिएनन् । साना बाटाहरू गाउँलेहरूले आफैं निर्माण गरेका थिए । सबैको श्रम लागेको हुन्थ्यो । अहिले यस्तो अवस्था देखिँदैन । विकास निर्माण गर्ने काम भनेको त सरकारको हो, हामी जनताको होइन भन्ने एक प्रकारको भावना विकसित हुँदै गएको छ । त्यसकारण सबै पालिकाले आफ्नो पालिकामा बजेट थोपर्न संघको मुख ताक्ने एक प्रकारको प्रणालीको विकास हुँदै गएको छ । आफ्नो गाउँठाउँको विकास पहिले जसरी हुने गथ्र्यो, अहिले मानिसमा भिन्न विचार आएको पाइन्छ । यसले कताकता विकासमा अवरोध आएको छ र स्थानीय विकास अवरुद्ध भएको आभास देखिन्छ ।

गाउँमा विकास पुगेको त छ, तर कस्तो विकास पुगेको छ भनेर एकपल्ट सबैले विचार गर्नुपर्छ । हो, साँच्ची नै जताततै काँक्राका चिराजस्तो गरी सडक जताततै देख्न पाइन्छ । तर, ती सडक कसका लागि बनेका हुन् र किन बनेका हुन् भन्ने जवाफ पाउन सकिँदैन । केवल तिनीहरू सडकका लागि सडकमात्र हुन् । तिनीहरूको उपयोगिता केही देखिँदैन । डोजर लगायो, केही क्षणमा नै सडक निर्माण भइहाल्दो रहेछ । हिउँदमा सडकको आकार देखिने, वर्षाको बेलामा सबै बगाएर लाने हुँदा पछि त सडकको नामनिसाना नैै हुँदो रहेनछ । यस्ता सडकको कुनै उपयोगिता र प्रयोग नै हुँदैन भने किन सीमित साधन र स्रोतको दुरुपयोग गर्ने ? अहिले यसरी नै गाउँघरमा बिनाकुनै अध्ययन र आवश्यकताको पहिचान नै नगरी सडक बनेका छन् ।

सहर–बजारमा विकासको गति यही प्रकारको देखिन्छ । आवश्यक भएको ठाउँमा विकास पुग्दैन, अनावश्यक ठाउँमा विकास पुगेको हुन्छ । यसरी पुगेको विकासको के औचित्य हुन्छ र ? औचित्य पुष्टि नगरीकनै गरेको विकासको कुनै अर्थ हुँदो रहेनछ । काठमाडौं सहरकै कुरा गरौं न । अनावश्यक ठाउँमा सडक मर्मत गरिएको देखिन्छ र मर्मत गर्नुपर्ने ठाउँमा मर्मत गरिएको हुँदैन । त्यस्तै सडक निर्माण गर्दा पनि । पद र पहुँचको आधारमा पुग्ने विकास र गरिने विकासको कुनै अर्थ हुँदो रहेनछ । यस्तो विकास त भोट तान्ने पो हुँदो रहेछ ।

७३ वर्षअघि मैले देखेको विकास र अहिलेको विकासमा धेरै फरक छ । त्यस बेलाको विकास सानो भए पनि आवश्यकता र दिगो देखिन्थ्यो । तर, अहिलेको विकास यान्त्रिक विकास भएको देखिन्छ । विकासभन्दा पनि विनाशतर्फ उन्मुख विकासले जनताको आवश्यकता पूर्ति गर्ने देखिँदैन । जे–जस्तो भए पनि विकास भएको छ । केही न केही त अवश्य नै फाइदा दिएकै छ । चाहेजति र हुनुपर्ने विकास भने हुन सकिरहेको छैन ।

देश कति बन्यो भनेर कसैले प्रश्न गर्यो भने ठ्याक्कै यति बन्यो भनेर उत्तर दिन त सकिँदैन । तर, बन्दै छ भनेर भन्न भने सकिन्छ नै । त्यस्तै गरेर कति बन्न बाँकी छ भन्ने प्रश्नमा पनि यकिन जवाफ त दिन सकिँदैन । तर, धेरै बन्न बाँकी छ भनेर भन्नचाहिँ सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्