प्रविधिको विकाससँगै घट्यो चिठीपत्र आदानप्रदान

दाङ– प्रविधिको विकाससँगै हुलाकमार्फत आदान प्रदान हुने चिठीपत्र घट्दै गएको छ । कुनै समय सञ्चारको सबै भन्दा विश्वासिलो र भरपर्दाे माध्यमका रूपमा हुलाक सेवा थियो । तर अहिले यो सेवा सुस्ताएको छ । प्रविधिकै कारण हुलाक सेवाको अस्तित्व संकटमा परेको छ । व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना आदानप्रदान गर्न बलियो आधारको रूपमा रहेको हुलाकलाई सरकारले समयसापेक्ष परिवर्तन गर्न नसक्दा र प्रविधि सँगसँगै लैजान नसक्दा सुस्ताएको जानकारहरूको भनाइ छ ।
सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय संकटमा परेको छ । हुलाक सेवाले नागरिकको घरदैलोमा सेवा पुर्याउँदै आएपनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा पनि इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा पर्न थालेको हो । एक दशक अघिसम्म आम नागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । प्रविधिको द्रुत विकाससँगै हुलाक कार्यालयमार्फत आदान प्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ ।
एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउन इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिलाई पठाउने चिठीमा कमी आएको हो । व्यक्तिको नाममा आउने चिठी ९९ प्रतिशतले घटेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख सोभाराम बस्नेतले जानकारी दिए । धेरैजसो सरकारी कार्यालयका चिठीपत्रहरु आदान प्रदानको काम हुने उनको भनाइ छ । हाल दैनिक सरदर १५० देखि २५० वटासम्म चिठी आउने गर्दछन् । जिल्लाका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्रहरु आउने गरेको उनी बताउँछन् ।
अन्य चिठी आउन छोडेपनि हुलाकको काम भने घटेको छैन । हाल हुलाक कार्यालय दाङले चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक, बैंक सेवा, धनादेश सेवा, ५ सय वाट क्षमताका एफएम रेडियो नवीकरण, रोयल्टी, केवल टेलिभिजन नेटवर्कको नवीकरण, तथा रोयल्टी बुझ्ने, सूचना हक कार्यान्वयन गर्ने गराउने, जिल्लाका सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्न लगाउने, नागरिक वडापत्र राख्न लगाउने तथा त्यसको अनुगमन गर्ने कार्य गर्दै आएको उनले बताए ।
विगत तीन आर्थिक वर्षमा जिल्ला हुलाक कार्यालय दाङमा एक करोड ६६ लाख बढी राजस्व असुली भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ५७ लाख ७७ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा राजस्व संकलन बढेर ५९ लाख पुगेको छ । २०७८/०७९ भन्दा २०७९/८० मा आएर ९ लाख ७४ हजार २४२ रुपैयाँले राजस्व संकलन घटेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ४९ लाख ५५ हजार बढी राजस्व संकलन भएको कार्यालयको तथ्यांकले देखाएको छ ।