भारतको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं– ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण भएको विद्यालयको भवन हस्तान्तरण गरिएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उपराष्ट्रपति रामसहाय यादवले नेपालका लागि कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तवले उद्घाटन गरेका हुन् ।
करिब एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण भएको दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो ।
यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गौतम बुद्ध माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवन पनि दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, तीन तल्ले प्रयोगशाला भवनको निर्माणमा र फर्निचर एवम् प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको थियो ।
भारत सरकारले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । जसमध्ये ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा ५ वटा परियोजना कपिलवस्तुमा छन् ।