Logo

सडक निर्माणले खानेपानी आपूर्ति बन्द

इलाम– विकास हुन पहिला विनास त हुन्छ नै तर दीर्घकालीन असर पुग्ने खालका विनास रोकेर विकासलाई अगाडि बढाउनु पर्दछ । सडक निर्माण गर्दा इलाम बजारमा आउने खानेपानी आपूर्तिमा नै समस्या आएको छ ।

केचना कञ्चनजंगा सडकअन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन बिग्रिएपछि इलाम नगरपालिका क्षेत्रमा गिताङ खोलाबाट आउने खानेपानी सप्लाई बन्द भएको हो । खानेपानी सप्लाई बन्द भएपछि इलाम बजारमा पानी सप्लाई कम भएको छ । इलाम नगरपालिकामा साना सहरी खानेपानीअन्तर्गत एडिबीको लगानीमा पानी आउने गरेको छ । तर गिताङ खोलाबाट आएको पानी इलाम बजारमा आएको पानीमध्ये पुरानो खानेपानी आयोजना हो ।

यो एडिबिको लगानीमा आएको खानेपानी हैन । इलाम नगरपालिकाकै लगानीमा आउने यो खानेपानी गएको असार यता नै विभिन्न समयमा गएको पहिरोका कारण सञ्चालनमा समस्या भइरहेको छ । नगरपालिकाले विभिन्न समयमा मर्मत गर्दै खानेपानी पाइपमाथि उचाल्ने काम भइरहेको छ । तर पाइप बढी उचालेपछि मुहानबाट पानी तान्न नसकेपछि खानेपानी आउन नै छोडेको छ । सडक निर्माणका क्रममा करिव पाँच सय मिटर क्षेत्रमा पहिरो खसेका कारण समस्या भएको छ ।

पटक पटक मर्मत गर्दा पनि पहिरो नरोकिएका कारण समस्या बढेको नगरपालिकाले जनाएको छ । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक खन्दा समन्वय नभएका कारण समस्या आएको भन्दै इलाममा रहेको संघीय तथा प्रदेश खानेपानी कार्यालय, जिल्ला प्रशासन, सडक डिभिजन कार्यालय लगायतसँग छलफल सुरु गरेका छन् । मेची करिडोरअन्तर्गत पर्ने सडकको ठाडे खोला मुहानबाट आउने खानेपानी पाइपलाइन पनि सडक विस्तारका क्रममा बिग्रिएको छ ।

अस्थायी रूपमा नगरपालिकाले ठाडेखोलाको पानी जोडेको छ । गिताङ खोलाको पानी आपूर्ति बन्द भएपछि सुक्खायाममा ठाडेखोला, मेवा खोलाको आपूर्तिले मात्र धान्न नसक्ने र ठूलो पहिरोले जोखिममा परेको पाइपलाइन मर्मतमा समस्या रहेको इलाम नगरपालिकाले जनाएको छ । खानेपानी आपूर्ति बन्द भएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठकमार्फत् सडकमा रहेको अवरोध हटाउने र निर्माण कार्य निरन्तर गर्ने निर्णय नै गरेका थिए ।

डिभिजन सडक कार्यालय प्रमुख सरला न्यौपानेले पनि उक्त क्षेत्रको निरिक्षण गरी खानेपानी आपूर्तिका लागि पाइपलाइनमा पर्ने क्षेत्रमा पहिलो प्राथमिकता दिएर काम गर्ने जनाएकी छन् । नगरले समेत पाइपलाइनलाई सुरक्षित रूपमा जडान गर्ने गरी काम थालेको हुँदा केही दिनमा खानेपानीको अवरोध हट्ने बताइएको छ । खानेपानी पाइपलाइनलाई हाल अस्थायी रूपमा सुरक्षित गरी ल्याउने र सडकको क्षेत्रमा नाली र ग्याबियन पर्खाल निर्माण गरेर सुरक्षित पार्ने सहमति भएको छ ।

यता इलाम नगरपालिकाले सडक विस्तारका क्रममा खानेपानी आपूर्तिमा अवरोध भएकाले उक्त पुनर्निर्माणमा सडकले बजेटको व्यवस्था गर्नुपर्ने बताउँदै आएको छ । उक्त पाइपलाइन एडिबिभन्दा पुरानो पाइपलाइन भएकाले नगरमा पाइपलाइनको दाहोरो व्यवस्थापन खर्च अभाव भएको बताएको छ । यो अवरोध हटाउन पहल सुरु गरेको इलाम नगरपालिकाका अध्यक्ष केदार थापाले बताए । हाल सो क्षेत्रमा माईभगवती निर्माण कम्पनीले सडक निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्