काम नगर्ने ठेकेदार पालेर राख्दैनौ

म्याग्दी– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताएका छन् । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको स्थलगत निरीक्षणका क्रममा मन्त्री जुग्जालीले अधुरा र अलपत्र बनेका सडक र मोटरेबल पुलको पहिचान गरी ठेकेदारलाई काममा फर्काउन पहल गरिएको जानकारी गराए ।
सहीजकरण र समन्वय गर्दा पनि सम्पर्कमा नआउने र काममा नफर्किएका निर्माण कम्पनीसँगको धरौटी जफत गर्ने, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको मन्त्री जुग्जालीले बताए । ‘क्रोनिक अवस्थाका योजनाको समस्या पहिचान, सहजीकरण र समन्वय गर्न मन्त्रालयको टोली आयोजनास्थलमै पुगिरहेका छौं । काम हुने योजनाका लागि बजेटको अभाव हुन दिएका छैनौ र दिँदैनौ,’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई पालेर राख्ने पक्षमा मन्त्रालय छैन । दुई/तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेको छ ।’
मन्त्री जुग्जालीले मन्त्रालयको पहलसँगै अलपत्र अवस्थाका धेरै योजनाका निर्माण व्यवसायी काममा फर्किन थालेका बताए । ‘गत जेठमा प्रदेशभर ४७ वटा आयोजनाका ठेकेदार कार्यस्थलमा थिएनन्,’ उनले भने, ‘करिब ६ महिनाको अवधिमा ३२ वटा क्रोनिक आयोजनालाई सूचारु गराएका छौं । काम छाडेर भागेका १५ वटा योजनाका निर्माण कम्पनीको खोजीमा मन्त्रालय लागेको छ ।’
निर्माण कम्पनीलाई धरौटी जफत गरी ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र मिलनचोक–धाइरिङ सडक योजनाको काम सुचारु भएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताए । ‘ब्याकुहोलोडर, एक्साभेटर, रोलर र मजदुरसहित अधकल्चो सडक निर्माणको कामलाई पूर्णता दिन थालेका छन्,’ उनले भने, ‘धेरै प्रयास गरेर ठेकेदारलाई काममा फर्काउन सफल भएका छौं ।’
पर्वतको अन्य दुईवटा अलपत्र आयोजनाका निर्माण व्यवसायीलाई पनि काममा फर्काएको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताए । मिलनचोकदेखि ठोट्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न विसं २०७६ मंसिर ६ गते २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालिले ठेक्का सम्झौता गरेको थियो । यो सडक विसं २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दोस्रो पटक २०८० मंसिर महिनासम्मका लागि थपिएको म्याद सकिने बेलामा ठेकेदारले अधुरो काम सुचारु गरेका हुन् ।
जलजला गाउँपाकिलाका अध्यक्ष राजुप्रसाद आचार्यले ठेकेदार काममा फर्किएपछि सडक कालोपत्रे हुने आशा पलाएको बताए । ‘स्थानीयबासी र जनप्रतिनिधिले सडक निर्माणमा भएको ढिलाइप्रति खबरदारी र दबाब दिएका थियौं,’ उनले भने, ‘निर्माण व्यवसायीलाई सहज रूपमा काम गर्ने वातावरण बनाउँछौं ।’ पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडकको अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको छ ।
मिलनचोकदेखि सल्यान खण्डमा ग्राभेलसमेत गरेर कालोपत्रको तयारी गरिएको थियो । निर्माण कम्पनीका इन्जिनियर दिपक गिरिले नाली सफा गर्ने, पहिरो पन्छाउने, बाँकी पर्खाल, नालि निर्माणको काम सुरु गरेको बताए । यो सडक धाइरिङका एक हजारभन्दा बढी घरधुरीले प्रयोग गर्छन् । धाइरिङमा उत्पादित तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने वडाध्यक्ष टुंगनाथ शर्माले बताए । यो सडकको हालसम्म ४२ प्रतिशतमात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।