करोडौं खर्चेर बनाइएको सडक तीन महिनामै बन्द «
Logo

करोडौं खर्चेर बनाइएको सडक तीन महिनामै बन्द

सुर्खेत– करोडौं खर्च गरेर निर्माण गरिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट लेकबेसी चिङ्गाड गाउँपालिका हुँदै जाजरकोटको शिवालय जोड्ने सडक निर्माण सम्पन्न भएको तीन महिना पनि नचली अवरुद्ध भएको छ । निर्माण गर्दा करिब ६ वर्ष लगाइएको उक्त सडकमा सवारी नचले पछि स्थानीय भने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । टाढाको बाटो भएर सानो जीपमा कोचाकोच भएर यात्रा गर्नुपर्ने भएपछि बिरामी, ज्येष्ठ नागरिक बालबालिकालाई थप सास्ती छ भने स्थानीय किसानले उत्पादन गरेका कृषिउपज बजारसम्म पुर्‍याउन पाएका छैनन् ।

झण्डै २९ करोड खर्च गरेर ६ वर्षमा निर्माण गरिएको सुर्खेतको गंगटे आरनटुँडा–ढाँडखेत हुँदै जाजरकोटको थाला जोड्ने सडक तीन महिना पनि नचलेर बन्द भएको हो । उक्त सडक कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट लेकबेशी नगरपालिकाको गंगटे–आरनटुँडा चिङ्गाड गाउँपालिकाको ढाँडखेत हुँदै जाजरकोटको शिवालय जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग हो । गंगटे–आरनटुँडा–ढाँडखेत थाला जाजरकोट सडक निर्माण गर्न २८ करोड ८६ लाख रुपैयाँमा लामा राजेन्द्र एसएनएस जेभी सुर्खेतले २०७४ असार २५ गते सम्झौता गरी ठेक्का लिएको थियो ।

निर्माण सम्पन्न गर्ने समय म्याद थपसहित २०८० असार मसान्तसम्म रहेकोमा काम सम्पन्न भएको भनी निर्माण कम्पनीले जेठ महिनामै सबै भुक्तानी लगिसकेको छ । तर उक्त सडक साउनदेखि बन्द छ । सडक बन्द हुँदा आफूहरूलाई आउजाउमा समस्या भएको चिङ्गाड गाउँपालिका–६ का प्रेमबहादुर चलाउनेले बताए । ‘६ वर्ष लगाएर सडक बन्यो तर तीन महिना पनि नचलेर बन्द भयो,’ चलाउनेले भने, ‘सडक आएपछि बिक्री होला भनेर लगाएको तरकारी अदुवा पनि बेच्न पाएका छैनौं ।’

झण्डै २९ करोड खर्च गरेर ६ वर्षमा निर्माण गरिएको सुर्खेतको गंगटे आरनटुँडा–ढाँडखेत हुँदै जाजरकोटको थाला जोड्ने सडक तीन महिना पनि नचलेर बन्द भएको हो । उक्त सडक कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट लेकबेशी नगरपालिकाको गंगटे–आरनटुँडा चिङ्गाड गाउँपालिकाको ढाँडखेत हुँदै जाजरकोटको शिवालय जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग हो ।

सडक मर्मतका लागि गाउँपालिकालाई भन्दा आफ्नो अधिकार क्षेत्रभित्र नभएको भन्ने गरेको सडक कार्यालय रुकुम पश्चिमलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको वडा नं. ६ का वडा सदस्यसमेत रहेका कृष्णबहादुर मल्लले गुनासो गरे । वर्षाले भत्किाएको सडक मर्मतका लागि स्थानीयले चिङ्गाड गाउँपालिकाको कार्यालयमा पटकपटक मौखिक तथा लिखित माग नै गरेका छन् । तर पनि सडक सुचारु नभएपछि वैकल्पिक बाटो भएर चल्ने पाँच सिट क्षमताको जीपमा एकै पटक २५–३० जना जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

‘एउटा जीप साघुँरो गाउँको बाटो भएर जान्छ त्यसमा पनि पाँच जना अट्नेमा २५/३० जना बस्नुपर्छ,’ वडा सदस्य चलाउने भने, ‘बस नचल्दा भाडा पनि बढी तिर्नु परेको छ भने ज्यान जोखिम राखेर यात्रा गर्नुपरेको छ ।’ निर्माण सम्पन्न गरेको एक वर्षसम्म आयोजना भत्किए बिग्रेमा मर्मत सम्भार गर्ने जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीको नै हुने नियम छ । सोही प्रावधानलाई देखाउँदै अवरुद्ध भएको सडक खुलाउन गाउँपालिका पन्छिँदै आएको छ । मर्मतगरी सवारी सञ्चालनका लागि कार्यालयलाई टेलिफोन र औपचारिक पत्राचारसमेत गरेको गाउँपालिकाको जवाफ छ ।

चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी सडक कार्यालयको जिम्ममा भएकाले गाउँपालिकाबाट मर्मत सम्भार गर्न नसकिने बताए । ‘ठेकेदारको मर्मत सम्भार समय बाँकी भएकाले गाउँपालिकाले काम गर्न मिल्दैन त्यसमा काम गर्‍र्याैं भने फेरि भोलि अख्तियारको फन्दामा हामी परिन्छ कि भन्ने हुन्छ,’ अध्यक्ष जिसीले भने, ‘तर पनि सडक त खुलाउनै पर्‍यो त्यसका लागि सडक कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेका छौं ।’

सुरुमा संघीय सडक विभागबाट बहुवर्षीय ठेक्का लगाइएको उक्त सडक आयोजना प्रदेश बनेपछि भने प्रदेशलाई नै हस्तान्तरण गरेको थियो । अहिले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक आयोजना कार्यालय रुकुम पश्चिमले उक्त सडक हेरिरहेको छ । ठेक्का सकिए पनि मर्मत सम्भारको जिम्मेवारी अझै सम्बन्धित निर्माण कम्पनीकै भएकाले सडक सुचारु नगरेर बैंक ग्यारेण्टि जफत गर्नेसम्मको कारबाही हुने सडक कार्यालयका इन्जिनियर सफल ऐडी बताउँछन् ।

‘निर्माण सकिए डिएलपी पिरियड बाँकी छ त्यसभित्र सडक मर्मत सम्भारको काम कम्पनीको हुन्छ,’ उनले थपे, ‘हामी मौखिक रूपमा बारम्बार भनेका छौं यदि भनेअनुसार काम नगरेमा ठेकेदार कम्पनीले पछि धरौटी रकम पाउँदैन ।’ करोडौं खर्चिएर बनाइएको सडकमा सानो अवरोध हटाउनका लागि गाउँपालिकाले सडक कार्यालय र कार्यालय इन्जिनियरलाई देखाएर आफू उम्किने गरेका छन् । वर्षाैंपछि बनेको सडकबाट सहज यात्रा गर्ने सपना बुनेका नागरिक भने निराश छन् ।

प्रतिक्रिया दिनुहोस्