बाली बीमा गर्न किसानलाई समस्या «
Logo

बाली बीमा गर्न किसानलाई समस्या

दाङ– बाली बीमा गर्न किसानलाई असहजता बढेको छ । आवश्यक कागजी प्रक्रिया पूरा गर्न नसकेको कारण यो बीमा किसानहरूको लागि असहज बनेको हो । यज्ञबहादुर खत्री यस्तै किसानमा पर्छन् । बाली बीमा कृषकहलाई आवश्यक भएपनि धेरै कृषकहरू यसमा जोडिन नसकेको उनको भनाइ छ ।

‘बाली बीमा गर्दा कृषकले आवश्यक पर्ने प्रक्रिया पुरा गर्न नै समस्या हुने भएकाले अहिले पनि धेरै कृषकहरूले बीमा गर्न सकेका छैनन’ उनले भने । बीमालाई सहज र सरल बनाउन सकेमा धेरै कृषकहरूले बाली बीमा गराउने उनको भनाइ छ । ग्रामीण महिला उत्थान केन्द्रको आयोजनमामा रिप्लान्ट परियोजनाअन्र्तगत कृषि बाली उत्पादनपछिको भण्डारणका लागि अपनाउनु पर्ने विधि र कृषि बीमा बारेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बाली बीमा नगर्दा कृषकहरूले क्षति व्यहोरनु परेको उनको भनाइ छ । ‘बीमा पाउने रकमभन्दा पनि खर्च धेरै हुने गर्दछ’ खत्रीले भने । बीमालाई राज्यले सहजता बनाइदिनु पर्ने उनले बताए । राज्यले कृषकहरूलाई प्रोत्साहन गर्न सक्नु पर्ने उनको भनाइ छ । तर, राज्यको निकायबाट कृषहरूलाई प्रोत्साह गरेको पाइदैन । जसले गर्दा कृषकहरू समस्यामा पर्ने गरेको खत्री बताउँछन् । अर्को कृषक कालीराम चौधरीले बाली बीमा सोजा र साना कृषकहरूले नपाउने गरेको बताए ।

‘साना र सोझा कृषकहरू बाली बीमा गर्नका लागि सम्बन्धित निकायसम्म पुग्नै समस्या हुने गरेको छ’ उनले भने । बीमा गरेको रकमसमेत सहज रुपमा नपाउने गरेको उनले बताए । आफूले गरेको बीमाको रकम पाउनका लागि पनि धेरै दुख पाउनु पर्ने भएकाले बीमा प्रति कृषकहरूको आकर्षण बढ्न नसकेको उनी बताउँछन् । ‘बीमा गरेको रकम पाउनै समस्या हुन्छ भने किन बीमा गर्ने ?’ उनले भने । बीमाको रकम सरल र सहज रुपमा पाउन सकेमा धेरै कृषकहरू बीमा गर्ने उनको भनाइ छ ।

सबै बाली बीमा हुन्छ भनेर सबै कृषकहरूले जानकारी नपाउने अवस्था रहेको समेत उनले बताए । बीमालाई सरल, सहज बनाएर ग्रामिण स्तरसम्म यसका बारेमा सचेतना जगाउन आवश्यक रहेकोमा उनले जोड दिए । ग्रामीण क्षेत्रसम्म सचेतना जगाउन सकिएमा धेरै कृषकहरूले बाली बीमा गर्ने उनले बताए । अर्का कृषक पदमा हमालले बाली उत्पादनपछिको भण्डारणका लागि अपनाउनु पर्ने विधीका बारेमा सचेतना दिन सकेमा अन्न खेर हुनबाट बचाउन सकिने बताइन् ।

भण्डारका लागि पिक्स ब्यागको प्रयोगले उत्पादन भएको वस्तुको संरक्षणमा धेरै सहयोग पुगेको उनको भनाइ छ । पिक्स व्यागको बारेमा ग्रामिण स्तरसम्म सचेतना दिन सकेमा खेर जाने खाद्यान्न तथा उत्पादन भएको वस्तु वचत गर्ने सकिने उनी बताउँछिन् । ‘खेर जानबाट बचाउन सकिएमा यसले कृषकहरूलाई धेरै फाइदा पुग्ने छ’ हमालले भनिन् । देवीमाया थापाले पिक्स ब्यागको महत्व बुझ्दै जादा यसको प्रयोग गर्नेहरू बढ्दै गएको बताइन् । यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा ग्रामीण उत्थान केन्द्रका सल्लाहकार सौगतविर चौधरीले कृषकहरूले संरक्षण सम्वर्द्धनका लागि जिल्लामा रिप्लान्ट परियोजना सञ्चालन गरिएको बताए । ‘यसले कृषकहरूले उत्पादन भएका वस्तु संरक्षण गरेर राख्न सहयोग पुगेको छ’ चौधरीले भने । कृषकहरूलाई सम्मानित गराउन नसक्दा धेरै युवाहरू विदेशीने गरेको उनले बताए । कृषकहरूले उत्पादन गरेको वस्तुको बजारीकरण हुन नसकेको भन्दै बजारीकरणमा राज्यले ध्यान दिनुपर्ने चौधरीले बताए ।

अर्का किसान जंगबहादुर गुरुङले कृषकहरूलाई प्राविधिक सहयोग गदै आएको बताए । यसले उत्पादन वृद्धि गर्नमा सहयोग पुग्ने गरेको उनको भनाइ छ । सबै बालीको बीमा हुने भन्दै बीमा गरेर जोखिम कम गर्न समेत उनले किसानहरूलाई आग्रह गरे । नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तले जिल्लामा धेरै नागरिक कृषिमा निर्भर रहेको बताए । कृषि क्षेत्रमा आधुनिकीकरण प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन लाग्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्