Logo

पुस ६ देखि औद्योगिक प्रदर्शनी

विराटनगर– नेपालको सबैभन्दा जेठो औद्योगिक प्रतिष्ठानका रूपमा रहेको मोरङ व्यापार संघले ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । विराटनगरमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन पुस ६ देखि १६ सम्म विराटनगर–२, शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२३’ अन्तर्राष्ट्रिय स्तरको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै संघले आफ्नै नाममा एक्स्पो आयोजना गर्ने जनाएको हो । यस क्षेत्रको कृषि, पर्यटन, ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएका संघका अध्यक्ष नवीन रिजालले बताए । अध्यक्ष रिजालले एक्स्पोमा भारत, बंगलादेश र पाकिस्तानका उत्पादित वस्तु एवं उत्पादनकर्ताहरूको सहभागिता रहने छ ।

एक्स्पोमा सुदूरपश्चिम तथा दुर्गम क्षेत्रका कृषि तथा साना घरेलु उद्योगका उत्पादनका लागि निःशुल्क स्टल उपलव्ध गराउनेसहित २ सय ५० वटा स्टल रहने अध्यक्ष रिजालले जानकारी दिए । एक्स्पोले अन्तरप्रादेशिक उत्पादन र सेवाहरूको राष्ट्रिय–अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरूबीच व्यावसायिक सम्बन्ध र सहकार्य स्थापना, पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारलगायतका कार्य प्रवर्द्धन गरेको छ ।

३ करोड ५० खर्च लाग्नेछ भने १५ करोडको कारोबार हुने विश्वास गरिएको एक्स्पोका संयोजक अनिल साहले जानकारी दिए । नेपाल र भारतका गरी ४ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने विश्वास गरिएको आयोजकले जनाएको छ । मोरङ व्यापार संघले वि.सं. २०५३ देखि एक्स्पोको आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्