लम्पी स्किन पीडित कृषकको राहतमा अर्थको अवरोध «
Logo

लम्पी स्किन पीडित कृषकको राहतमा अर्थको अवरोध

काठमाडौं– अर्थ मन्त्रालयको हेलचेक्र्याइँका कारण लम्पी स्किन पीडित किसानले राहत पाउन ढिला भएको छ । कृषि मन्त्रालयले पीडित कृषकलाई राहत दिने घोषणा गरेको चार महिना बितेको छ । तर, अर्थ मन्त्रालयले अझै राहतबारेको प्रस्ताव स्वीकृत गरेको छैन । प्रस्ताव स्वीकृत भएर बजेट निकासा भएपछि मात्र पीडित कृषकले राहत पाउनेछन् । कृषि मन्त्रालयले एउटा चौपाया मरेका कृषकलाई ५ देखि २० हजार रुपैयाँसम्म दिने प्रस्ताव गरेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन पीडित कृषकलाई राहत दिने प्रस्ताव गत भदौ १२ मा अर्थमा पठाएको थियो । हालसम्म अर्थबाट कुनै जवाफ नआएको कृषिमन्त्री बेदुराम भुसालका स्वकीय सचिव सुशील भट्टराईले जानकारी दिए । ‘क्षति व्यहोरेका कृषकलाई राहत उपलब्ध गराउन मापदण्ड बनाएर करिब २५ करोड रुपैयाँ बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई प्रस्ताव पठाइएको थियो । चार महिना हुँदा पनि कुनै जवाफ आएको छैन । पटक–पटक ताकेता गर्दा पनि अर्थले प्रस्ताव स्वीकृत नगरी अड्काएर राखेको छ,’ उनले भने ।

कृषि मन्त्रालयको प्रस्ताव अर्थबाट स्वीकृत भएर आएपछि मन्त्रीपरिषद्मा जाने र त्यहाँबाट पारित भएपछि मात्र कार्यान्वयनमा जानेछ । अर्थले नै अल्झाएर राखेपछि प्रस्ताव मन्त्रीपरिषद्मा पुग्न नपाएको भट्टराईले बताए । अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता धनीराम शर्माले लम्पी स्किन पीडित किसानलाई राहत दिने प्रस्ताव अर्थमा आएको र छलफलकै क्रममा रहेको जानकारी दिए ।

राहत मापदण्डअनुसार साना बाच्छीको हकमा ५ हजार रुपैयाँ दिइनेछ भने स्थानीय साना गाईको हकमा १५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यस्तै, ठूला वयष्क भैंसी, राँगा र उन्नत जातका गाईको हकमा २० हजार रुपैयाँ राहत दिने प्रस्ताव छ ।
क्षतिपूर्तिका लागि वडा कार्यालयले मरेका पशुको तथ्यांक संकलन गरी पालिकामा पठाउनु पर्नेछ । वडाले संकलन गरेको तथ्यांक पालिकाले सही वा गलत हो अध्ययन गरी प्रमाणीकरण गरेर अर्थ मन्त्रालयको विपत् व्यवस्थापन समितिमा पठाउँछ । त्यसपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत पीडित कृषकको बैंक खातामा रकम पठाइने प्रस्ताव मापदण्डमा छ ।

कृषि मन्त्रालयका अनुसार लम्पी स्किन रोगका कारण देशभर ५२ हजार ५४८ पशु मरेका छन् । कुन प्रकारका पशुचौपाया कति छन् भन्ने यकिन तथ्यांक भने मन्त्रालयसँग छैन । देशभर १५ लाख १९ हजार ७७९ पशुलाई संक्रमण पुष्टि भएको छ ।
२०७९ चैतदेखि कोशी प्रदेशबाट यो रोग फैलिन सुरु भएको हो । ७७ वटै जिल्लामा रोग पुष्टि भइसकेको छ । पशु सेवा विभागको तथ्यांकअनुसार देशभर ७४ लाख १३ हजार १ सय ९७ गाई र ५१ लाख ३२ हजार ९ सय ३१ भैंसी छन् ।

नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुन्छ । यो रोग देखिएको ठाउँमा पशुमा रोग फैलिने दर १० देखि २० र मृत्युदर १ देखि ५ प्रतिशत पुग्ने विश्व पशु स्वास्थ्य संगठनले बताएको छ । तर, भारतलगायत केही मुलुकमा फैलिने दर उच्च देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्