विकासका लागि प्राविधिक शिक्षा «
Logo

विकासका लागि प्राविधिक शिक्षा

कुनै पनि देशको चौतर्फी विकासका लागि प्राविधिक शिक्षाले महŒवपूर्ण भूमिका खेल्छ, किनभने यसबाट उत्पादनशील तथा सीपमूलक जनशक्ति तयार गर्न सकिन्छ । वर्तमान समयमा विश्वका धेरै देशमा प्रविधिको विकास प्राथमिकताको विषय भएको छ । तर, खेदको कुरा त के छ भने नेपालमा हालसम्म पनि यसको अध्ययन तथा अनुसन्धानको सुरुवात गरिएको इतिहास लामो छैन ।

श्रम बजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर तथा चुनौतीहरू दिन–प्रतिदिन थपिँदै छन् । यस्तो अवस्थामा मागअनुसार प्राविधिक शिक्षाको विकासले महत्वपूर्ण भूमिका खेल्छ । आजकाल विश्वका धेरैजसो विद्यार्थी प्राविधिक शिक्षा हासिल गरेर छोटो अवधिमै धेरै आयआर्जन गर्न चाहन्छन् । परन्तु, नेपालको विज्ञान तथा प्रविधि मन्त्रालयले यस सम्बन्धमा आजसम्म पनि उचित ध्यान दिन सकेको छैन । तसर्थ, यहाँको प्राविधिक शिक्षामा ठोस विकास हुन सकेको छैन ।

वस्तुतः प्राविधिक शिक्षाले ‘सीप हातमा रोजगार साथमा भन्ने मान्यता’ले सार्थक बनाउँछ । यद्यपि नेपालमा यस्तो शिक्षा ओझेलमा परेकाले बेरोजगारको समस्या दिन–प्रतिदिन बढिरहेको छ । केही वर्षयता यहाँका लाखौं युवा रोजगारीका लागि विदेश जान्छन् । तर, प्राविधिक ज्ञान तथा सीपको कमीले यिनीहरूमध्ये धेरैले सोचेअनुरूप आयआर्जन गर्न सक्दैनन् ।
जो–कोहीको जीवन निर्वाहका लागि विभिन्न किसिमको ज्ञानको आवश्यकता पर्छ, जुन शिक्षाको माध्यमद्वारा मात्र प्राप्त गर्न सकिन्छ । यस्तो शिक्षा समसामयिक मात्र नभई सम्बन्धित देशको भूगोल, सामाजिक परिवेश र प्रविधिसँग आबद्ध हुन उपयुक्त मानिन्छ ।

नेपालको वर्तमान संविधानमा उल्लेख गरिएको शिक्षासम्बन्धी हकले प्रत्येक नेपाली नागरिकलाई आधारभूत शिक्षाको प्रत्याभूत गरेको छ । उक्त संविधानमा वैज्ञानिक, प्राविधिक, सीपमूलक, रोजगारमूलक र राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने कुरा उल्लेख गरिएको छ । यसलाई व्यवहारमा उतार्न विद्यालय तहका प्राविधिक शिक्षालाई निःशुल्क गर्न उपयुक्त देखिन्छ । परन्तु, यसलाई व्यवहारमा उतार्न भने सोचेअनुरूप सहज छैन ।

नेपालमा देश, समाज र माटो सुहाउँदो प्राविधिक शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । यद्यपि, यहाँ राजनीतिक संक्रमणका कारण विद्यमान शिक्षा नीतिले उक्त किसिमको शिक्षाको ठोस विकास गर्न सकिएन । तसर्थ, आजसम्म पनि यहाँ प्रविधिको विकासले नयाँ मोड लिन सकेन । केही वर्षयता नेपालमा प्राविधिक शिक्षाको विकास एवं विस्तारमा प्राथमिकता दिन थालिएको छ । यसै सन्दर्भमा आर्थिक वर्ष २०८०-८१ देखि नेपाल सरकारले सिटिइभिटीअन्तर्गत आङ्गिक प्राविधिक शिक्षालय प्रदेश मातहतमा हस्तान्तरण र स्थानीय तहसमेतको साझेदारीमा शिक्षण संस्थाहरू सञ्चालन गर्ने नीति ल्याएको छ । तर, यसलाई कार्यान्वयन गर्न भने सहज छैन ।

मानव स्रोत विकास केन्द्रले यहाँका सामुदायिक विद्यालयहरूमा कक्षा ९ देखि १२ सम्मका लागि प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । परन्तु, अदूरदर्शी शिक्षानीति र फितलो कार्यान्वयनका कारण अपेक्षाकृत सफलता प्राप्त गर्न सकिएको छैन ।
वर्तमान सरकार नेपालका सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न तत्पर छ । तथापि, हाल यहाँ विद्यमान प्राविधिक शिक्षालयहरूमा उपलब्ध सिट संख्याको झन्डै ७५ प्रतिशत मात्र विद्यार्थी भर्ना भएका छन् ।

नेपालको सर्वतोमुखी विकासका लागि यहाँ विद्यमान शिक्षालाई प्रविधिसँग समन्वय गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सक्षम हुनुपर्छ । यसो गर्न सकेमा यहाँ विद्यमान स्रोत तथा साधनहरू उपयुक्त किसिमबाट परिचालन गरी विभिन्न क्षेत्रको उत्पादकत्व वृद्धि गर्न सकिन्छ, जसबाट यहाँको आर्थिक विकासमा केही योगदान पुग्नेछ ।

कुनै पनि देशका युवा विदेश पलायन नहुने उपाय भनेको विकासका पूर्वसर्त हुन् । वास्तवमा भन्ने हो भने उनीहरूको सहभागिताबिनाको विकास केवल नारामा सीमित हुनेछ । परन्तु, यसबारे आजसम्म पनि सरोकारवालाहरूको ध्यान जान नसक्नाले प्रत्येक वर्ष यहाँका लाखौं युवा बिदेसिन बाध्य छन् । जुनसुकै देशको चौतर्फी विकासका लागि विभिन्न दक्ष जनशक्तिको आवश्यकता पर्छ, जुन स्वदेशमै उत्पादन गर्न उपयुक्त हुन्छ । तर, खेदको कुरा के छ भने विदेशीहरूको गुलामी बन्नका लागि यहाँ शैक्षिक जनशक्ति उत्पादनमा लगानी भइरहेकाले यसबाट अन्य देशहरूले फाइदा उठाइरहेका छन् ।

वस्तुतः आपसी समन्वयको क्रमिक रूपले विकास गरी नागरिकको समस्या समाधान गर्ने कुनै शक्ति यहाँ छ भने त्यो युवाशक्ति नै हो । जसको कुनै पनि पक्षबाट हुन सक्ने सम्भावित नकारात्मक क्रियाकलापहरू रोक्न वर्तमान सरकारबाट युवामैत्री नीतिको व्यवस्थापन गर्नु आजको आवश्यकता हो । जसको परिपूर्ति गर्न सकेमा यहाँको समग्र विकासमा ठूलो योगदान पुग्नेछ ।

नेपालका युवायुवतीलाई उनीहरूका रुचि र क्षमताअनुसार स्वदेश र विदेशमा श्रम बजारको मागअनुरूपको प्राविधिक शिक्षाको आकर्षण एवं अवसर प्रदान गर्न सकेमा स्वदेशकै विकासमा संलग्न हुने वातावरण सिर्जना गर्न सकिन्छ । यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनुपरेको छ ।

सन् २०२३ मा वल्र्ड हेरिटेज फाउन्डेसन नामक अन्तर्राष्ट्रिय संस्थाद्वारा प्रकाशित आर्थिक सूचकांकअनुसार नेपाल विश्वको १ सय ४२ औं स्थानमा छ । यसैगरी यो एसिया–प्रशान्त क्षेत्रका ३९ देशका आर्थिक अवस्थाको सन्दर्भमा दोस्रो स्थानमा छ । जसले यहाँको आर्थिक अवस्था सन्तोषप्रद देखाउँदैन । आर्थिक विकासक्रम न्यून भएका कारण यहाँ आर्थिक मन्दी छाएको छ । जसको प्रमुख कारण यहाँ हालसम्म पनि प्राविधिक शिक्षाको ठोस विकास गर्न नसक्नु नै हो ।

नेपालमा आजसम्म पनि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, ऊर्जा, पर्यटन आदि क्षेत्रमा आयातित प्राविधिको प्रयोग गरेर दैनिक कार्य सञ्चालन गरिन्छ । यही कारणले यहाँबाट प्रत्येक वर्ष अर्बौं रुपैयाँ बाहिरिन्छ, जसका कारण यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । वस्तुतः यहाँ विद्यमान केही प्राविधिक उपयुक्त अवसरको खोजीमा अन्य देशहरूमा जाने क्रम दिन प्रतिदिन बढिरहेको छ । फलतः यहाँ आवश्यक दैनिक प्राविधिक कार्यहरू सम्पन्न गर्न विदेशी प्राविधिकहरूको माग दिन–प्रतिदिन बढिरहेको छ, जसले गर्दा प्रत्येक वर्ष यहाँको विपुल धनराशि बाहिरिएको छ ।

नेपालमा फलाम, तामा, सिसा, अभ्रख, म्याग्नेसाइट, युरोनियम आदि बहुमूल्य धातुहरू पाइन्छन् । योबाहेक यहाँ कोइला तथा प्राकृतिक ग्यास पनि पाइन्छन्, जुन यहाँको विकास निर्माण कार्य गर्न नितान्त आवश्यक छ । परन्तु, यहाँको कुल गार्हस्थ्य उत्पादनमा खनिज तथा खनिजजन्य पदार्थको योगदान १ प्रतिशतभन्दा पनि कम छ । जसको प्रमुख कारण यो देश प्राविधिक क्षेत्रमा निकै पछाडि पर्नाले हो ।

यथार्थतः नेपालजस्तो अतिकम विकसित देशमा उच्च तथा मध्यम स्तरका प्राविधिक ज्ञान भएको जनशक्तिको धेरै आवश्यकता छ । समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षा परिपूर्ति गर्न उक्त जनशक्ति उत्पादन गर्न सम्बन्धित पक्षको ध्यान जानुपरेको छ । यसो गर्न सकेमा भविष्यमा यहाँको समग्र विकास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्