Logo

जाडोमा किन्ने भन्दा सामान हेर्ने ग्राहक बढी

काठमाडौं– मंसिर लागेसँगै चाडपर्व सकिएर जाडो मौसम सुरु भइसकेको छ । बजारमा जाडोका लागि नयाँ लुगा भित्रिने क्रम बढ्दै छ, तर व्यापार भने अपेक्षा अनुसार नफस्टाएको व्यापारीहरु बताउँछन् । गत वर्षदेखि बढ्न थालेको बजार तुलनामा नभएपछि किन्ने भन्दा हेरेर जाने ग्राहकको चाप बढी भएको काठमाडौं जोरपाटीमा लुगाको व्यवसाय गर्दै आएका रामकृष्ण पराजुली बताउँछन् ।

‘जाडोको लुगाको माग भन्दा पनि मूल्य बढी भएको छ’ उनले भने, ‘कोरोना पछि बजार लयमा फर्किएला कि भन्ने आश थियो, तर सटर बन्द गर्नु पर्ने अवस्था आएको छ ।’ असनमा विगत ७ वर्षदेखि स्वेटर र टोपीको होलसेल व्यापार गर्दै आएका सागर गुप्ताका अनुसार कोरोना कालदेखि नै बजार महंगो भएको हो । सामानको लागत बढेकाले जाडो याम सुरु भइसकेपनि किन्ने भन्दा हेर्ने ग्राहक बढेको उनको भनाइ छ ।

‘देशको अर्थतन्त्रमा त्रास आएका कारण मानिससँग पैसाको कमि छ त्यसैले गुणस्तरिय सामान किन्ने भन्दा पनि सस्तो सामान खोज्ने ग्राहकको संख्या बढेको छ ।’ काठमाडौंको जडिबुटीका अर्का व्यापारी निरज भण्डारीले चाडपर्वमा केही सुधार आएपनि गत वर्षको तुलनामा बजार लयमा नआएको बताए । ‘पसल बेचेर हिँड्नुपर्ने अवस्था आएको छ’ उनले भने, ‘व्यापार नभएको देखेर नेपालमा पनि केही गर्न सकिन्छ कि भन्ने आश मरेको छ ।’

जाडोका लागि सामान किन्न आउने उपभोक्ताले पनि जाडोमा लागाउने ज्याकेट, स्वेटर, टोपी, जुत्ता महंगो भएको बताएका छन् । जाडोमा लाउने ज्याकेट, स्वेटर, टोपी, जुत्ताको गत वर्ष भन्दा मूल्य वृद्धि भएको छ । कोभिड १९ पछि विश्वभर देखिएको आर्थिक मन्दीका कारण गत वर्ष भन्दा यो वर्षमा न्यानो लुगाको मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्