अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता «
Logo

अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता

जाजरकोट– भूकम्पका पीडितका लागि अस्थायी आवास निर्माणमा विभिन्न राजनीतिक दल सक्रिय भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ता नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन् ।

तिहार सकिएसँगै दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माणलगायत समग्र प्रभावित क्षेत्रको पुन:स्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई त्यहाँ खटाएका हुन् । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवास निर्माण गरेको छ ।

टोलीले नलगाड नगरपालिका–५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माण सुरु गरेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर एक सय वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिए । टोलीमा पौडेलसहित गण्डकी प्रदेशसभा सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता–कार्यकर्ता रहेका थिए ।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णय गरेको थियो ।

नेता पौडेलका अनुसार टोलीले एक सय अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि आवश्यक जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाइएको छ । आवास निर्माणको सरकारी मापदण्ड बने पनि सोअनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

नेकपा (एमाले)ले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएर परिचालित भएको बताएको छ । शुक्रबार एमालेको भ्रातृ संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब एक सय जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ । उक्त टोलीले शुक्रबार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका–३ थाप्लेका भग्नावशेष घरमा सफाइ अभियान चलाएको छ ।

एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ । ‘शुक्रबार एक सय जना फिल्डमै खटिसकेका छन्, बाँकी सबै गरेर एक हजार एक सय खटाउने लक्ष्य छ’, उनले भने, ‘खटिएकाहरूले पनि जहाँ बढी प्रभावित भएको छ, त्यही पालिकामा पहिलो प्राथमिकतामा राखेर जनतासँग रहेर काम गर्नेछन् । अहिलेका लागि सफाइ गर्ने, अस्थायी टहरा बनाउनेलगायतका काम गर्नेछन् ।’ प्रदेश र केन्द्रबाट नेता, कार्यकर्ता त्यहाँ खट्ने र त्यहाँको व्यवस्थापन जिल्लाको पार्टीले गर्ने शाहले बताए ।

नेकपा (माओवादी केन्द्र)ले तीन हजार स्वयंसेवक परिचालन गरेर अस्थायी संरचना निर्माणमा जुटेको माओवादी केन्द्रकास्थायी कमिटी सदस्य कालीबहादुर मल्लले बताए । जाजरकोटबाट मात्र पाँच सय स्वयंसेवक खटिएको उनले जानकारी दिए । सबैभन्दा बढी प्रभावित ठाउँमा खटिएर काम गरिएको राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए । शर्मा कुशे गाउँपालिकामा खटिएका छन् ।

भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माण गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका दुई सय नेता, कार्यकर्ता यति बेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन् । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा विद्यार्थी नेता, कार्यकर्ता प्रभावित क्षेत्रमा खटिएका छन् । उनीहरूले भूकम्पबाट ध्वस्त भएका घर पन्छाउने, अस्थायी टहरा बनाउने काम गरिरहेका छन् ।

सिंहले कर्णालीबाट विद्यार्थी टोली खटिसकेको र सोमबारसम्म लुम्बिनीबाट पनि विद्यार्थी टोली प्रभावित क्षेत्रमा खटिने बताइन् । अबको एक महिना अखिल क्रान्तिकारी पुन:निर्माणमा सक्रिय हुने उनको भनाइ छ । संगठनका केन्द्रीय पदाधिकारी पनि प्रभावित क्षेत्रमा खटिएका छन् । जाजरकोट पुगेको टोलीले भेरी नगरपालिका–१ को रिम्ना क्षेत्रमा काम गरिरहेको छ । पानीबाहेक सबै आफैंले गर्ने गरी व्यवस्थापन गरेर प्रभावित क्षेत्रमा खटिइएको सिंहको भनाइ छ ।

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर ५० हजार रुपैयाँ दिने भने पनि अहिलेसम्म उक्त रकम पुग्न नसकेको पीडितको गुनासो छ । सिंहका अनुसार केन्द्रको कार्यविधिले स्थानीय सरकार निकै अलमलमा परिरहेका छन् । सकेसम्म प्रक्रिया छोट्याई जनताको हातमा रकम पुग्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ । ‘रु. ५० हजार आउँछ भन्ने कुरा जनतालाई थाहा छ तर हातमा परेको छैन’, उनले भनिन्, ‘कुनै आयस्रोत नभएकालाई निकै गाह्रो छ ।’

नेकपा (एकीकृत समाजवादी)ले मंसिर ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाएको छ । समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार १५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ। ‘ती भनेका संरचना निर्माणमा दक्ष व्यक्ति हुन’, थापाले भने, ‘युवा संघको नेतृत्वमा टोली परिचालन गरिनेछ । साथै पार्टी अध्यक्ष पनि केही दिनमा प्रभावित क्षेत्रमा पुग्नुहुनेछ ।’ यत्ता मापदण्ड अनुसार निर्माण नभएका अस्थायी आवासको रकम सरकारले नदिने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । ‘विभिन्न निकायले घर बनाइरहनुभएको छ तर ति हाम्रो मापदण्डमा छैनन, त्यसैले रकम ५० हजार रकम दिन सकिदैन’ उनले भने ।

भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न जोहो
नलगाड–१ मा ८५० घरधुरी छन् । ५०० घरधुरी पूर्णरुपमा क्षति भएका छन् । क्षति भएको घरबाट स्थानीयले अन्न निकाल्न पाएका छैनन् । अन्न निकाल्न नपाएको परिवारले अहिले तत्काल राहत स्वरुप पाएको सामग्री खाएर जिविकोपार्जन गरेपनि त्या कति दि सम्म पुग्ने भन्ने चिन्ता थपिएको छ ।

अन्न निकालिएको घरबाट अन्य भत्किएको घरका सर्वसाधारणले पैँचोसमेत चलाएको नगरप्रमुख डम्बर रावतले बताए । पैंचो पनि कति दिन सम्म निरन्तर हुने भन्ने प्रश्न सिर्जना भएको उनको भनाइ छ । ‘उत्पादन भन्दा भारत गएर हुने कमाईमा बढी निर्भर हुने गाउँका परिवारले भूकम्पका कारण खाद्य संकट व्यहोर्नुपर्ने अवस्था छ’ नगरप्रमुख रावतले बताए । भूकम्पबाट जाजरकोटका ६३ वटा वडा प्रत्यक्षरुपमा प्रभावित छन् । तीमध्ये नलगाड नगरपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकाका भारी क्षति भएको छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी पनि अबको तीन महिनापछि भूकम्पबाट बढी क्षति व्यहोर्नुपरेका बस्तीहरू खाद्य संकटको नजिक रहेको बताउँछन् । उनका अनुसार बारेकोटका ९ वटै वडाका बस्तीहरुले भूकम्पका कारण कुनै न कुनै क्षति भोग्नुपरको छ । एक हजार भन्दा बढी घरहरू ढलेको उनले बताए । जिल्ला कृषि विकास कार्यालय जाजरकोटले पूर्ण क्षति भएका घरबाट खाद्यान्नमा भएको क्षतिको प्रारम्भिक विश्लेषण गरेको छ । एक हजार ९४० मेट्रिक टन खाद्यान्न नष्ट भएको जिल्ला कृषि विकास कार्यालयको आंकलन छ ।

सबै घरधुरीमा २८ लाख २८ हजार ७२५ किलो खाद्यान्न नष्ट भएको प्रारम्भिक तथ्यांक बनाइएको कार्यालयका सू्चना अधिकारी टोपबहादुर नेपालीले बताए । जाजरकोटमा मकैपछिको दोस्रो बाली गहुँ हो । जिल्लामा १० हजार ४०० हेक्टर जमिनमा गहुँ उत्पादन गरिन्छ । यसैपनि बर्षेनी खाद्यान्न अपुग हुने जिल्लामा यो विपदले संकट निम्त्याउन सक्ने नेपाली बताउँछन् । उनका अनुसार गत वर्ष पनि जाजरकोटमा तीन हजार ४८८ मेट्रिक टन खाद्यान्न अपुग भएको थियो । प्रत्येक वर्ष तीन हजार ५०० मेट्रिक टन खाद्यान्न जिल्ला बाहिरबाट आयात गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्