नलगाड जलविद्युत आयोजना निर्माण हुँदै

जाजरकोट– नलगाड जलविद्युत आयोजना दुई महिनाभित्र निर्माण प्रक्रियामा जाने तयारी थालिएको छ । ताक्सुगाड जलविद्युत आयोजना ७.१ मेगावाटको सबै प्रक्रिया पूरा गरेर निर्माणका लागि बोलपत्रको काममा जुटेको आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए । आयोजना निर्माणस्थलमा रहेको घरजग्गाको मुआब्जा दिनका लागि बिहीबार सूचना प्रकाशित गरी छुटेका भए जानकारी गराउन अनुरोध गरिएको छ ।
१५ दिनभित्र छुटेका जग्गाको नाम टिपाउनका लागि आयोजनाले अनुरोध गरेको इन्जिनियर थापाले बताए । यो नलगाड जलविद्युत आयोजनाको सहायक आयोजना हो । नलगाड नगरपालिका–१० मा विद्युत उत्पादनगृह निर्माणदेखि नहर निर्माण हुनेछ । आयोजनाका लागि आवश्यक पर्ने ७३ जना स्थानीयबासीको जग्गा अधिग्रहण गर्न प्रक्रियागत काम सुरु भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आयोजनालाई आवश्यक पर्ने घरजग्गा अधिग्रहण गर्न पहिलो चरणमा ७३ जना सर्वसाधारणको नामावली प्रकाशित गरिएको छ ।
प्रजिअ सुरेश सुनारले जग्गा र घरको अनुगमन गरेर पहिलो चरणमा ७३ जना स्थानीयबासीको जग्गा आयोजनाबाट प्रभावित हुने पाइएको र छुटेको भए १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरिएको छ । ६७ रोपनी जग्गा अधिग्रहण हुन लागेको छ । आयोजना निर्माण गर्नका लागि १८ सय मिटर लामो टर्नेलमार्फत् ताक्सुगाडको पानी विद्युत उत्पादन गृहमा पुर्याइने छ । आयोजना ३० महिनाभित्र निर्माण कार्य पूरा हुने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
एक अर्ब ४५ करोड रुपैयाँमा आयोजनाको लागत रहेको इन्जिनियर थापाले बताए । यो आयोजना निर्माण कार्य पूरा भएमा मात्र नलगाड जलविद्युत आयोजना निर्माण गर्न थप बाटो खुल्ने छ । नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट निर्माण गर्नका लागि सहायक आयोजनाका रूपमा लिइएको ताक्सुगाड भेरी करिडोरको बीचमा रहेको छ । नलगाड जलविद्युत आयोजना नलगाड नगरपालिका–७ दल्लीमा विद्युत उत्पादन गृह रहने छ भने बाँध बारेकोट गाउँपालिका–८ अधेरीखोलामा रहेको छ ।
नलगाड जलविद्युत आयोजना निर्माण गर्न आवश्यक पर्ने विद्युत ताक्सुगाडबाट लिनुपर्ने बाध्यता रहेकाले दुई महिनाभित्र निर्माण कार्यमा जानका लागि बोलपत्रको काम सुरु गर्न लागिएको इन्जिनियर थापाले बताए । नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत भएसँगै आयोजना निर्माणका लागि बाटो खुलेको छ । कात्तिक १५ गते ईआईए स्वीकृत भइसकेको थियो ।
यसरी हुँदैछ निर्माण कार्य ?
नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेसनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेसनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले पाएका थिए । आयोजना निर्माणस्थलमा प्रभावित हुने क्षेत्र बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको नलगाड जलविद्युत आयोजनाबाट यहाँका फलाम, तामाखानी, जलचर, कस्तुरी, चिरकालिज, सुनगिद्ध, मृग तथा शिलाजितलगायत जडिबुटीलाई पर्ने प्रभावका विषयमा यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई उचितरूपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माणस्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्षसम्म सहयोग गर्ने हो त्यो समेत किटान गर्न आग्रह गर्दै सकेसम्म स्थानीयस्तरमै बसोबासको व्यवस्थापन गर्न आग्रह गरेका छन् । कर्णाली प्रदेशको सामरिक महत्वका रूपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चिलो हुनाका साथै सजिलोसमेत भएको ऊर्जाविज्ञको तर्क छ । आयोजना निर्माणका लागि एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ ।
वातावरणीय व्यवस्थापन अनुमानित लागत ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ । यो आयोजना निर्माण कार्य साढे ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बनडाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ । आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवं रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुने अपेक्षा रहेको छ । सुक्खा मौसमयमा यो आयोजनाबाट ६०४.९ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुने डिपिआरमा उल्लेख छ ।
५०३ घरको मुआब्जा दिइँदै
आयोजनाले ५०३ वटा घरको झण्डै ९० करोड बराबरको रकम स्थानीयलाई मुआब्जा उपलब्ध गराउने तयारी रहेको छ । नलगाड नगरपालिकाभित्रका वडा नम्बर २, ५, ७ र ८ र बारेकोट गाउँपालिका १, २, ५, ६, ७, ८ र ९ का सर्वसाधारण आयोजनाबाट प्रभावित हुनेछन् । परामर्शदाताले तयार पारेको विवरणअनुसार वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टले ११ सय ७२ घरधुरी प्रभावित हुने औंल्याएको छ ।