Logo

कालोसूचीमा पर्ने डरले काममा फर्किए ठेकेदार

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाका ठेकेदार दुई वर्षपछि काममा फर्किएका छन् । निर्माण कम्पनीलाई धरौटी जफत गरी ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र योजनाको काम सुचारु भएको हो ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले मिलनचोकदेखि धाइरिङ जोड्ने सडक निर्माण कार्य सुचारु भएको जानकारी दिए । ‘सम्झौता अवधिसमेत सकिएको दुई वर्षपछि ब्याकुहोलोडर, एक्जाभेटर, रोलर र मजदुरसहित सडक निर्माणको कामलाई पूर्णता दिन सुरु भएको छ,’ उनले भने, ‘धेरै मेहनत र प्रयास गरेर ठेकेदारलाई काममा फर्काउन सफल भएका छौं । अब योजना सम्पन्न गराउन केन्द्रित हुन्छौं ।’

मिलनचोकदेखि ठोट्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गर्न विसं २०७६ मंसिर ६ गते २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत् सञ्चालित यो सडक विसं २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दोस्रो पटक २०८० मंसिर महिनासम्मका लागि थपिएको म्याद सकिने बेलामा ठेकेदारले अधुरो काम सुरु गरेका हुन् ।

धाइरिङ सल्यानका गिरिधारी पौडेलले ठेकेदार काममा फर्किएपछि सडक कालोपत्र हुने आशा पलाएको बताए । स्थानीयबासी र जनप्रतिनिधिले सडक निर्माणमा भएको ढिलाइप्रति खबरदारी र दबाब दिएका थिए । सडकका काम अलपत्र परेको भन्दै स्थानीयले पटक पटक आन्दोलनसमेत गरेका थिए । धाइरिङका बासिन्दाले बेनी–मालढुंगा सडकको छेउमा सञ्चालक र सडक समयमै सम्पन्न नहुँदाको अवस्था झल्काउने तस्बिरसहित गत फागुनमा ‘ठेकेदार हराएको सूचना’ लेखेको ब्यानर झुण्ड्याएका थिए ।

सडक अधुरो हुँदा आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भूक्षयको समस्या बढेको छ । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिरोको जोखिम भएको छ । पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली बनाउन धेरै ठाउँमा डोजरले भत्काइएको छ । अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोकदेखि सल्यान खण्डमा ग्राभेलसमेत गरेर कालोपत्रको तयारी गरिएको थियो ।

ठेकेदारले नाली सफा गर्ने, पहिरो पन्छाउने, बाँकी पर्खाल, नालि निर्माणको काम सुरु गरेको छ । यो सडक धाइरिङका एक हजारभन्दा बढी घरधुरीले प्रयोग गर्छन् । धाइरिङमा उत्पादित तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज अपेक्षा गरिएको छ । यो सडकको हालसम्म ४२ प्रतिशतमात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । प्रतिकूल भूगोल, नदीजन्य निर्माण सामग्री अभाव र सामाजिक समस्याले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्