Logo

पूर्वी नाकाबाट चिया निर्यात घट्यो

बिर्तामोड– नेपालको निर्यात व्यापारमा प्रमुख हिस्सा ओगट्ने चियाको पूर्वी नाका काँकडभिट्टा भएर हुने निर्यात घटेको छ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्ष ०८०/८१ को चार महिनाको अवधिमा १८ दशमलव ८१ प्रतिशतले चिया निर्यात घटेको हो ।

नेपालमा उत्पादन भएको वस्तुमा अलैंचीपछि सबैभन्दा बढी निर्यात हुने वस्तु चिया भए पनि चालु आर्थिक वर्षको पहिलो चार महिनामै चिया निर्यातमा भारी गिरावट आएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी एवं भन्सार अधिकृत गणपति कँडेलले बताए । गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि कात्तिकसम्म काँकडभिट्टा नाका भएर १ अर्ब ६१ करोड ७८ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको ७८ लाख ४९ हजार ४ सय ११ केजी चिया निर्यात भएको थियो ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि कात्तिकसम्म काँकडभिट्टा नाका भएर १ अर्ब ३१ करोड ३४ लाख ३७ हजार रुपैयाँ बराबरको ५५ लाख ८० हजार ९ सय ५३ केजी चिया निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी एवं भन्सार अधिकृत कँडेलले बताए । तुलनात्मक रुपमा दुई वर्षको फरक हेर्दा चालु आर्थिक वर्षको चारमहिना अघिल्लो सोहि वर्षको अवधिको तुलनामा ३० करोड ४३ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरले चिया निर्यात कमि भएको उनले बताए ।

विभिन्न समयमा भएको मजदुर आन्दोलन तथा नेपालमा उत्पादित चिया नेपाली बजारमै खपत र अन्य देशबाट आयात कम भएका कारण नेपाली चियाको निर्यात कम भएको उनको भनाइ छ । वर्षैभरि किचलो चलिरहने चिया निकासीमा भारी गिरावट आउनु कहिलेकाहीँ विभिन्न माग गर्दै चिया मजदुर आन्दोलित हुनु र लामो समयसम्म आन्दोलन जारी राख्दा चिया प्रशोधन केन्द्र र बगान ठप्प हुने गरेको कारण रहेको उनको भनाइ छ ।

चिया मजदुरले लामो समयसम्म आन्दोलन जारी राख्दा समयमै चियामा लाग्ने रोग नियन्त्रण गर्न नसक्दा धेरै हरियो पत्ती नष्ट भएर पनि चिया निर्यात घटेको उनले बताए । चिया उत्पादनमा वृद्धि तथा आन्तरिक खपत कम भएकै कारण नेपाली चियाको निर्यात बढ्ने गरेपनि अहिले आन्तरिक खपत बढेकाले चियाको निर्यात घटेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी कँडेल बताउँछन् ।

चियाको आन्तरिक खपत बढ्नुका साथै चिया निर्यातको प्रक्रिया झन्झटिलो भएको कारण पनि चिया निर्यातमा कमी आएको उनले बताए । विशेष गरी झापाका बगानमा उत्पादित चिया पूर्वी नाका काँकडभिट्टा भएर भारत, जर्मन, पाकिस्तान,जापान, फ्रान्स, इटली, हङकङ, अष्ट्रेलियालगायतका मुलुकमा निर्यात हुदै आएको भन्सार अधिकृत कँडेलले बताए ।

नेपालबाट निर्यात हुने चियामध्ये सीटीसी चियाको ५० प्रतिशत र अर्थोडक्स चियाको ९० प्रतिशत बजार भारत भएको र ५० प्रतिशतभन्दा बढी चिया भारत निर्यात हुने उनले बताए । पूर्वी नाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको करिब २६ प्रतिशत हिस्सा चियाले ओगट्ने, ५० प्रतिशतभन्दा बढी चिया भारत निर्यात हुने र बाँकी रहेका चिया चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलियालगायत देशमा निर्यात हुने उनले बताए  । पछिल्लो समय रसिया र खाडी मुलुकमा समेत निर्यात भइरहेको उनी बताउँछन् ।

चियाको उत्पादन तथा प्रशोधन गर्ने मौसम अनुसार हुने गरेको र मौसम अनुसार प्रशोधन भई दैनिक रुपमै चिया निर्यात हुने गरे पनि यो वर्ष चिया निर्यातमा ह्रास आएको छ । देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा व्यापार सन्तुलन गर्न समेत समस्या हुने उनको भनाइ छ । झापा जिल्लामा नौ हजार ८८ हेक्टरभन्दा बढी जमीनमा चिया लगाइएको र समयअनूकुल भए प्रति हेक्टरमा न्यूनतम १६ हजार किलो चिया उत्पादन हुने बताइएको छ ।

झापासहित ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती हुने गरेको छ । नेपालमा चिया उद्योगले करिब ७० हजार जनसंख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । चियाको प्रवर्द्धन र निर्यातको लागि सरकार गम्भीर बन्नुपर्ने चिया क्षेत्रमा काम गर्ने सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्