बिजुली निर्यातले देखाएको आशा «
Logo

बिजुली निर्यातले देखाएको आशा

नेपालको सन्दर्भमा बिजुली बेचेर देश धनी बन्न सक्ने/नसक्ने बहस लामो समयदेखि जारी छ । अहिलेसम्म नेपालको बिजुली उत्पादन क्षमता ठ्याक्कै कति हो भन्ने नै निक्र्योल हुन सकेको छैन । सरकारी वा गैरसरकारी संस्थाहरूका बिजुली उत्पादन क्षमताबारे आआफ्नै धारणा छन् । यही कारण बिजुली बेचेर आउने आम्दानीले मुलुकको आर्थिक विकासमा कस्तो प्रभाव पार्न सक्छ भन्ने यथार्थ जानकारी आउन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणले यो वर्षका चार महिनामा साढे १२ अर्ब रुपैयाँबराबरको विद्युत भारत निर्यात गरेको छ । साउनदेखि कात्तिकसम्ममा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात भएको हो । यसबाट १२ अर्ब ५० करोड रुपैयाँ आर्जन भएको छ । गत वर्ष प्राधिकरणले चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत निर्यात गरी ७ अर्ब ६३ करोड आर्जन गरेको थियो । यस वर्ष २८ जेठबाट भारतीय बजारमा बिजुली बेच्न सुरु गरिएको थियो ।

साउनमा २ अर्ब १४ करोड, भदौमा ३ अर्ब ४७ करोड, असोजमा ४ अर्ब १७ करोड र कात्तिकमा २ अर्ब ६९ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । यो वर्ष बिजुली धेरै युनिट बिक्री भएको मात्र नभई मूल्य पनि बढी पाइएको छ । यो वर्ष औसत विद्युत बिक्रीदर प्रतियुनिट ९ रुपैयाँ १८ पैसा छ । जबकि गत वर्ष प्रतियुनिट ७ रुपैयाँ ७६ पैसा थियो । प्राधिकरणले बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत सम्झौताबमोजिम बिजुली बेचेका कारण बढी दर पाएको हो ।

उच्च व्यापारघाटा र निर्यात व्यापारमा सुधार ल्याउन नसकेको यो अवस्थामा बिजुली निर्यातले केही सम्भावनाका ढोका भने खुलाएको छ ।

बिजुली व्यापारबाट निकासीमा सहयोग पुग्नुका साथै भारतीय रुपैयाँ आर्जन भएकाले विदेशी मुद्रा सञ्चिति बढाउन पनि सहयोग पुगेको छ । अहिले मुलुकमा १६ खर्ब रुपैयाँभन्दा माथि विदेशी विनिमय सञ्चिति पुगेको छ । हामीसँग भएको बिजुली बेच्दा मुलुक धनी हुन सक्ने/नसक्नेमा विवाद भए पनि बिजुली निर्यातले हाम्रो निर्यात व्यापारमा ठूलो सहयोग पुग्नेमा कुनै द्विविधा छैन । निर्यात व्यापारको अंश सानो भएका कारण थोरै मात्रामा बिजुली बेच्दा पनि ठूलो सहयोग पुग्ने अवस्था छ ।

चालु आवको चार महिनामा वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब पुगेको छ । यसमध्ये ५ खर्ब १२ अर्ब रुपैयाँबराबरको आयात र ५० अर्ब ५६ करोड रुपैयाँबराबरको निर्यात भएको अवस्था छ । निर्यात गत वर्षभन्दा पनि घटेको छ । गत आवका चार महिनामा ५४ अर्ब ७७ करोड निर्यात पुगेको थियो । यो वर्ष व्यापारघाटा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँबराबरको भएको छ । यो गत आवको तुलनामा ३.३४ प्रतिशत कम हो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२ र निर्यातको हिस्सा ८.९८ प्रतिशत पुगेको छ ।

उच्च व्यापारघाटा र निर्यात व्यापारमा सुधार ल्याउन नसकेको यो अवस्थामा बिजुली निर्यातले केही सम्भावनाका ढोका भने खुलाएको छ । चालु आवमा कुल निर्यात ५० अर्ब रुपैयाँ पुग्दा बिजुली निकासी साढे १२ अर्ब रुपैयाँ पुग्नु सानो होइन । बिजुली निर्यातको हिस्सा कुल निर्यातको करिब २५ प्रतिशत हो । अर्कातिर गत वर्षभन्दा अहिलेको निकासी ५० प्रतिशतले धेरै हो । गत वर्षभन्दा यो चार महिनामा ४ अर्ब ८६ करोड रुपैयाँको बढी बिजुली बेचेका छौं । हामीले यस्तै गरी बिजुली निर्यात गर्न सके भारतसँगको व्यापारघाटा कम गर्न सहयोग पुग्ने देखिन्छ ।

त्यसै पनि भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न तयार रहेको बताएको छ । त्यसमाथि बंगलादेश पनि हाम्रो विद्युत किन्न तयार छ । भारतको सहयोग रहे बंगलादेश बिजुली पु¥याउन कठिन हुने छैन । यी दुवै मुलुकलाई बिजुली बेच्न सके हाम्रो कुल निर्यातको अंश धेरै माथि पुग्नेछ । अहिलेसम्म हाम्रो निर्यात २ खर्ब रुपैयाँ हाराहारी मात्र पुगेको छ । अघिल्लो आर्थिक वर्षमा उच्च आयात हुँदा निर्यात पनि २ खर्ब रुपैयाँ माथि पुगेको थियो । तर गत वर्ष आयातमा कमी आउँदा निर्यात पनि खुम्चिएर १ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ ।

चालु आवका चार महिनामा निर्यात ५० अर्ब रुपैयाँ मात्र पुग्नुले यो वर्ष पनि निकासीको आँकडा २ खर्ब रुपैयाँ पुग्ने देखिँदैन । यो वर्ष आयात झनै घटिरहेको छ । यस्तो बेलामा निर्यात बढाउन सके कुल व्यापारघाटामा कमी आउने थियो । तर, त्यो सम्भावना न्यून देखिन्छ । आगामी महिनाहरूमा बिजुली निर्यातमा वृद्धि गर्न सक्ने हो भने कुल निर्यात व्यापारको आँकडा फेरि २ खर्ब पुग्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्