ललितपुर प्रहरी प्रमुख ऐर हेडक्वार्टरको छानविनमा «

ललितपुर प्रहरी प्रमुख ऐर हेडक्वार्टरको छानविनमा

आचरण विपरितका गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरी प्रधान कार्यालयले ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐरमाथी अनुसन्धान थालेको छ । गैरकनुनी गतिविधिमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर गोविन्द पन्थीलाई निलम्वनको पत्र गृह मन्त्रालय पठाए लगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी ऐरमाथी पनि छानविन थालेको हो । पन्थीले केहीदिन अघि नै प्रधान कार्यालयको उजुरी शाखामा पुगेर बयान दिइसकेका छन् । अव ऐरलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको स्रोतले जानकारी दियो ।
होटल÷रेस्टुराँबाट हप्ता तथा मासिक रुपमा रकम असुलेको, ठगी मुद्दाका पीडितबाटै रकम मागेको, आफ्नो मध्यस्थतामा गैरकानुनी रुपमा रकम असुलको कागजात बनाइदिएको, आरोपित व्यक्तिलाई नै लाभ हुने गरी पीडितलाई गैरकानुनी रुपमा ‘अपहरण तथा शरीर वन्धक’ अभियोगमा अनुसन्धान थालेको लगायत कसूरमा प्रहरी प्रधान कार्यालयले पुल्चोक प्रभागका इन्स्पेक्टर पन्थीलार्य निलम्वन गर्न गृह मन्त्रालयमा पत्र पठाइसकेको छ ।
पन्थीमाथीको कसूरमा छानविन गर्नेक्रममा ललितपुर परिसरका एसएसपी ऐरको पनि मिलेमतो देखिएको भन्दै प्रहरी मुख्यालयले अनुसन्धान थालेको हो । “आर्थिक अनियमितता र गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा ललितपुर प्रहरी प्रमुखमाथी आन्तरिक छानविन भइरहेको छ,” प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, “केही दिन भित्रै बयानका लागि उनलाई उपस्थित गराउने तयारी छ ।” प्रहरी स्रोतका अनुसार गत कात्तिक २४ गते ललितपुरकै दिलिप डंगोल र उनकी श्रीमती निता डंगोललाई छुट्टाछुट्टै स्थानबाट अपहरण गरेको अभियोगमा पुल्चोक प्रभागले रविन्द्र सिंहलाई पक्राउ गरी २१ दिन हिरासतमा राखेको थियो । तर अनुसनधानका क्रममा डंगोल दम्पती अपहरण नै नपरेको खुलेपछि प्रहरीको अनुसन्धान नै संकाको घेरामा परेको थियो । प्रहरी स्रोतका अनुसार आरेपित भनिएका सिंह र डंगोल दम्पतीबीच लेनदेन हुँदै आएको थियो । तर डंगोल दम्पती प्रहरीसँग मिलेर सिंहलाई तिर्नुपर्ने रकम नतिने योजना अनुसार अपहरण गरेको कसूरमा विषयलाई अन्यत्रै मोड्न खोजिएको प्रहरी मुख्यालयको छानविनबाट देखिएको छ ।
एसएसपी ऐर र इन्स्पेक्टर पन्थीमाथी लागेको आरोपमा आन्तरिक अनुसन्धान गरीरहेका अधिकारी भन्छन्, “डंगोल दम्पतीले अपहरणकारी भनिएका सिंहलाई रकम तिर्नुपर्ने थियो तर अपहरणको कसूरमा उनलाई पक्राउ गरेर पैसा तिर्नुपर्ने नभएको व्यहोरा सहितको कागज सिंह हिरासतमा रहेका बेला उनकी पत्नीलाई गराउन बाध्य तुल्याएको देखिन्छ ।” सिंहबाट होटलमा बन्धक पारिएका भनिएका दिलिप वन्धक पारेको भनेकै दिन पटकपटक इन्स्पेक्टर पन्थीसँग फोन सम्पर्कम रहेको र घरमै वन्धक बनाइएकी भनिएका निता बन्धक भएको पत्याउनै नसकिने अवस्था रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो कसूरमा प्रभागकै अनुसन्धानलाई आधार बनाएर परिसर ललितपुरबाट सिंहमाथी अपहरण तथा शरीर बन्धक मुद्धा चलाउन सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन पठाएइएको थियो । तर घटना पुष्टि हुनै नसक्ने भन्दै ललितपुर सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन अस्वीकार गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्