बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित «

बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

तेह्रथुम-कहिले खडेरी त कहिले अबिरल वर्षाले बालीनाली नष्ट हुँदा किसानहरु समस्यामा पर्ने गरेका छन् । खडेरी र वर्षाको चपेटमा पर्दै आएका किसानहरुले लगाएको बाली जंगली जनवारले नष्ट पार्न थालेसँगै थप चिन्तित बनेका छन ।
जंगल क्षेत्रसँग जोडिएका बस्तीहरुमा जंगली जनावरहरुले किसानलाई बर्षेनी सताउने गरेका छन् । जिल्लाको हमरजुङ, आङदिम, पञ्चकन्या, फाक्चामारालगायत विभिन्न गाउँमा मानवबस्ती पातलिन्दै गएपछि खासगरी बाँदरले बस्तीहरुमा आक्रमण गर्न थालेको हो । वर्ष दिनको कमाई थन्क्याउनै नपाई बाँदरले नष्ट पार्न थालेपछि बाँदर लखेट्ने दिनचर्या नै बनेको हमरजुङका भीमबहादुर थापाले बताए ।
हुलका हुल बाँदरका बथान बालीनाली नष्ट गर्न बस्ती छिर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । किसानले लगाएको मकै, कोदो, दाल, अलैचीलगायत सबै बाली यतिबेला बाँदरले नष्ट पार्न थालेको छ । बाँदरकै कारण जिल्लाका दर्जनौ घर सुुरक्षित स्थानको खोजी गर्दै बसाई सर्न बाध्य भएका छन् ।
परिश्रमको कमाई थन्क्याउनै नपाई बाँदरले सखाप पारेपछि बसाई सर्नुको विकल्प नरहेको छथर २ का भक्तबहादुर कार्कीले बताए । साना नानी र महिलाहरुलाई बाँदरले नटेरेपछि बसाई सर्ने तयारीमा रहेको कार्कीले बताए । बाँदरले घरको करेसासम्म आएर बाली नष्ट पार्न थालेको छ ।
बस्तीमा बाँदरका हुल प्रवेश गर्दा पनि स्थानीय प्रशासनले बाँदर धपाउन कुनै पहल नगरेको किसानहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्