विपिन मुक्त हुने सम्भावना बढ्यो «
Logo

छुटाउन कतार, इजिप्ट र इजरायलस्थित नेपाली दूतावासको प्रयास

विपिन मुक्त हुने सम्भावना बढ्यो

काठमाडौं– हमासको नियन्यणमा रहेका नेपाली विपिन जोशीलाई मुक्त गर्न नेपाल सरकार र विदेशस्थित नेपाली नियोगले प्रयास सुरु गरेका छन् । हमासको नियन्त्रणमा रहेका विभिन्न देशका नागरिक मुक्त गर्ने क्रम सुरु भएपनि नेपाल सरकार, कतार, इजिप्ट तथा इजरायलस्थित नेपाली दूतावासको पहलमा बन्दक नेपालीलाई मुक्त गर्ने प्रयास थालिएको हो ।

सरकारले केही दिनअघि कतार सरकारसँग बन्दक नेपालीलाई मुक्त गर्न सहजिकरण गर्न अनुरोध गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल तथा परराष्ट्र मन्त्री एनपी साउदले कतारका परराष्ट्र मन्त्री सुल्तान विन साद अल–मुराइखीसँग हमासले बन्दक बनाएका नेपालीको हिराइका लागि पहल गर्न अनुरोध गरेका थिए । कतारका गुहमन्त्री अल–मुराइखीले बन्दकको रिहाइका लागि कतारले आफ्नो तर्पmबाट प्रयास गरिरहेको जानकारी दिएका थिए ।

यसैबीच इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले हमासले हाल थाइ सरकारको अनुरोधमा उसका १० नागरिक मुक्त गरेको जानकारी दिँदै जोशीको रिहाइका बारेमा कुटनीतिक पहल गरिरहेको बताए । इजरायल सरकारले गरेको पहलमा हाल बालबालिका तथा इजरायली वृद्धवृद्धाको रिहाइ भइरहेको छ । इजरायलस्थित नेपाली दूतावासले बन्धक नेपाली जोशीको रिहाइका लागि इजरायल सरकारसँग अनुरोध गरिरहेको जनाएको छ ।

‘सबै क्षेत्रका कुटनीतिक तहबाट प्रयास भइरहेका कारण केही दिनपछि नेपाली बन्दक मुक्त हुने देखिएको छ’ प्रथम सचिव घिमिरेले शनिबार कारोबारसँग भने, ‘अब सबै विदेशीलाई मुक्त गर्ने योजना छ, सोही समयमा नेपाली पनि छुटनुहुने छ ।’ हालसम्म छुटेका १० थाई तथा १ फिलिपिन्सका नागरिक आ–आफनो देशको कुटनीतिक पहलबाट छुटेका हुन् । इजरायलले प्राथमिकताका आधारमा बन्दकलाई छुटाउने प्रयास गरिरहेकाले केही दिनमा नेपाली नागरिक पनि छुटने दूतावासको अनुमान छ ।

हमासले २८ देशका २२१ विदेशीलाई आफ्नो नियन्त्रणमा लिएको इजरायल सरकारले अक्टोबर ३० मा सार्वजानिक गरेको रिपोर्टमा उल्लेख छ । बन्दक बनाइएका नेपाली नागरिकलाई कहाँ राखिएको छ भन्नेबारे उल्लेख गरिएको नभएपनि उनी हमासको नियन्त्रणमा रहेको भने पुष्टी भइसकेको छ । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका नेपाली जोशी हमासको नियन्त्रणमा रहेको भने पुष्टि भएपछि केही दिनको पहलमा छुटने विश्वास गरिएको छ ।

जोशी विगत ४९ दिनदेखि हमासको नियन्त्रणमा छन् । स्टेट अफ् इजरायल नाम सरकारी सूचनामा जोशीसहित २८ देशका विदेशी हमासको नियन्त्रणमा रहेका पुष्टि भने ३० दिनपछि मात्र भएको थियो । नेपाली नागरिक जोशीसहित बन्धक बनाइएका विदेशीमध्ये १० थाई, दुई अमेरिकी नागरिक र १ फिलिपिन्सका नागरिक मुक्त भइसकेका छन् । इजरायल सरकारले बन्धक बनाइका विदेशीसहित इजरायली नागरिकलाई निःसर्त रिहाइ गर्न अनुरोध गर्दै तेस्रो चरणको रिहाइको प्रतीक्षा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्