Logo

मुम्बा बगरबाट अवैध रूपमा नदीजन्य पदार्थ झिकियो

रसुवा– उत्तरगया गाउँपालिका–१ मा पर्ने मुम्बा बगरमा पर्ने सार्वजनिक जग्गामा केही व्यक्तिले अवैध रुपमा नदीजन्य ढुंगा, गिटी–बालुवा संकलन गरिरहेका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरिकन अवैध तवरले गिट्टी–बालुवा निकालेर खुलेआमा बिक्री गरिरहेको भन्दै उक्त कार्य तत्काल रोकी सरकारले छानबिन गर्नुपर्ने स्थानीयले माग गरेका हुन् ।

नदीजन्य पदार्थ उत्खनन् गरेर क्रसर उद्योग सञ्चालन गरी गिट्टी–बालुवा सञ्चालित विद्युत आयोजनामा बिक्री गर्ने गरेको भेटिएको छ । कोरियाली लगानीको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले प्रवर्द्धन गर्न लागेको २१६ मेगावाट क्षमताको जलविद्युत आयोजनामा त्यहाँको ग्राभेल प्रयोग गरेको स्थानीयले बताएका छन् । मुम्बा बगरमा एकातिरको अनुमति लिएर अर्को ठाउँको सार्वजनिक जग्गाबाट ग्राबेल निकालेको स्थानीयले बताएका छन् ।

अवैध रूपमा नदीजन्य ढुंगा, गिट्टी–बालुवा संकलन रोक्छ स्थानीय वडा कार्यालयमा पटक–पटक अनुरोध गरेपछि वडाले पत्रचार गर्दासमेत नरोकिएपछि स्थानीय युवा गाउँपालिकामा पुगेका थिए । उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाको सिमानाको त्रिशूली नदीमा पर्ने मुम्बा बगरमा ग्रावेल संकलनका लागि स्काभेटरको प्रयोग गरेर दैनिक आठवटा ट्याङकरलाई ४० टिपसम्म बोलाउने गरेको स्थानीय वीरबहादुर तामाङले बताए ।

मुम्बा बगरमा अवैध रूपमा नदीजन्य ढंगा, गिट्टी–बालुवा संकलन गरेको स्थानीयको वातावरणीय प्रभाव मूल्यांकन नगरिकन अवैध तवरले खुलेआमा गिट्टी–बालुवा तस्करी भइरहेकोले तत्काल सरकारले रोकेर छानबिन गर्नुपर्छ स्थानीय हर्क तामाङले बताए । उनले भने,‘उत्तरगया–१ को भूगोलबाट शक्तिको आडमा यसरी प्राकृतिक स्रोतमाथिको दोहन तत्काल बन्द गर्नुपर्छ । सरकारले तथ्य छानविन गर्नुपर्छ ।’

स्थानीय छेकु लामाका अनुसार मिनिरल एग्रिकेट प्रालिले गोसाइँकुण्ड गाउँपालिकामा ०७५ मा अनुमति लिइ ग्राभेल निकालेर गिट्टी–बालुवा उत्पादन तथा बिक्री गरेको र मुम्बा बगर उत्तरगया गाउँपालिकाको सिमानामा पर्ने भएकाले विवाद भएको हो । यहाँ नदीजन्य पदार्थको दोहन भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पनि कर तिरेर ग्रावेल निकालेको भने पनि उत्तरगया क्षेत्रको सार्वजनिक क्षेत्रबाट पनि ग्रावेल निकालेको देखिन्छ । स्थानीय तहको सिमानामा त्रिशूली नदी पर्छ । गोसाइँकुण्ड गाउँपालिकाले भने तीन वर्षअघि एक वर्षको मात्र कर तिरेको जनाएको छ ।

लामाले भने, ‘त्यहाँ ग्रावेल झिक्न तत्काल रोकेर दुई वटा स्थानीय तह, जिल्ला समन्वय समिति, निकुञ्ज र नापी, मालपोत कार्यालयलगायतका सरोकारवालाले पालिका सिमाना एकीन गर्नुपर्छ ।’ मुम्बा बगर क्षेत्रमा ईआईए र आईई नगरिकन एवं सार्वजनिक जग्गाबाट गिट्टी–बालुवा झिकेकोले वडा कार्यालयबाट ०८० कात्तिक २४ गते पत्राचार गरेर पनि सुनुवाइ नभएको उत्तरगया गाउँपालिका–१ ले बताएको छ । उत्तरगया गाउँपालिकाका कावा अध्यक्ष चमेली गुरुङले मुम्बा बगरको भूगोल उत्तरगया गाउँपालिका–१ मा पर्ने बताइन् ।

कालिका र गोसाइँकुण्ड गाउँपालिकासँग पनि सिमाना जोडिएकोले नापी नक्सामा गोसाइँकुण्ड गाउँपालिको वडा नं ६ मा पर्ने भने पनि गोसाइँकुण्ड गाउँपालिकामा राजस्व बुझाएको नदेखिएकोले अवैध रूपमा नदीजन्य गिट्ट–बालुवा निकालेर बिक्री गर्ने कार्य तत्काल रोक्न प्रहरी, प्रशासनसमक्ष पत्राचार गरेको उनले बताइन् । उक्त क्षेत्रमा सीमा विवाद पनि देखिएकोले दुवै स्थानीय सरकार, प्रहरी, प्रशासन, नापी कार्यालयका प्रतिनिधि फिल्डमा ल्याएर सीमा निर्धारण गर्ने काम गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।

आफूहरूले गोसाइँकुण्ड गाउँपालिकामा पर्ने त्रिशूली खोलाबाट वातावरणमैत्री रूपले बालुवा संकलन गर्ने गरी झन्डै १६ रोपनी क्षेत्रफलको जग्गामा त्रिशूली नदीले वर्षायाममा निजी जमिनमा खोला पसी जम्मा गरेको बालुवा संकलन गर्ने र संकलित बालुवा स्थानीय बजारमा बिक्री गर्ने प्रयोजनका लागि गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जमा नियमानुसार कर तिरेर क्रसर राखेर नदिजन्य ढुंगा, गिट्टी–बालुवा संकलन गरेको सो वडाका पूर्व वडाध्यक्ष समेत रहेका बमबहादुर तामाङले बताए ।

मिनरल एग्रिकेट प्रालिमार्फत् स्थानीय आशावीर तामाङ र पूर्व वडाध्यक्ष तामाङलगायतले मिलेर नदीजन्य ढुंगा, गिट्टी–बालुवा संकलन गरेको हुन् । उक्त भूगोल गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्ने र त्रिशूली खोलाबाट वातावरणमैत्री तवरले बालुवा संकलन प्रयोजनका लागि प्रारम्भिक वातावरण परीक्षण अध्ययन गरी ०७५ चैतमा सार्वजनिक सूचना प्रकाशन गरेर वैधानिक तवरले आशावीर तामाङले बताए । त्यसैगरी उत्तरगया गाउँपालिका–१ को सल्लेटारमा पनि अवैध रूपमा नदीजन्य ढुंगा, गिट्टी–बालुवा संकलन गरेको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्