‘वन पैदावार बिक्रीलाई पारदर्शी बनाऊ’ «
Logo

‘वन पैदावार बिक्रीलाई पारदर्शी बनाऊ’

काठमाडौं- उप–राष्ट्रपति रामसाहाय यादवले वन पैदावार बिक्रीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार आयोजित प्राविधिक संघ (एनएफए) को ४९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वन पैदावार बिक्री वितरणलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै यादवले वन क्षेत्रको प्रवर्द्धन तथा जैविक विविधता संरक्षणका लागि वन प्राविधिकहरूले गरेको योगदान प्रशंसनिय रहेको बताए । ‘नेपालमा भएको वन संरक्षणका गतिविधि विश्वमा नै चर्चामा रहेको छ, हामीले संरक्षणमा राम्रो गर्न सकिरहेका छौ,’ उनले भने, ‘अब वन पैदावार बिक्री वितरणबाट राज्यको समृद्धि हासिल गर्नुपर्छ, आर्थिक आय आर्जन वृद्धि गर्नुपर्छ र वन पैदावार बिक्रीलाई पारदर्शी बनाउँदै लैजानुपर्छ ।’

वन्यजन्तु तस्करी रोक्नका लागि अझै पहल बढाउनुपर्नेमा यादवले जोड दिए । वन तथा वातावरण मन्त्रालयका सचिव दिपक खरालले वन क्षेत्रको संरक्षण तथा व्यवस्थापनको कार्यमा नयाँ तरिकाले अगाडि बढ्नुपर्ने बताए । ‘समृद्धिका लागि वन बनाउन सबै सरोकारवालाहरू बीच हातेमालो गरेर अगाडि बढ्न जरुरी छ, मुलुकको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा वन क्षेत्रको योगदान बढाउन सक्नुपर्छ’उनले भने,‘यसका लागि हामी सबैजना मिलेर अगाडि बढ्नुपर्छ, वन क्षेत्रमा नीतिगत व्यवस्था झन्झटिलो भयो भन्ने गुनासाहरू बढिरहेको छ, ती व्यवस्थाहरूलाई सहज बनाउँदै लगिने छ ।’

वन तथा जैविक विविधता संरक्षणको क्षेत्रमा आगामी दिनमा अझै नमुना लायक काम गर्नका लागि पहल गरिने उनको प्रतिबद्धता थियो । वन प्राविधिकहरूको सेवा सुविधा कम भएको भन्दै श्रम अनुसारको सेवा सुविधा बढाउन लागि पहल अगाडि बढाउन महासंघलाई उनले आग्रह गरे । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफनकी महासचिव पार्वता गौतमले लामो समयमासम्म पनि दिगो वन व्यवस्थापनका कार्यक्रम कार्यान्वयन हुन नसकेको भन्दै यसले वन पैदावार बिक्री वितरणमा समस्या ल्याएको बताइन् ।

‘वन क्षेत्रको दिगो वन व्यवस्थापनको कुरामा अब धेरै अलमल गर्न हुँदैन, हामी किन के मा अल्झिएका हौ ? दिगो वन व्यवस्थापनको मापदण्ड चाँडोभन्दा चाडो कार्यान्वयन गर्नुपर्छ,’ उनले भनिन् ,‘वनको व्यवस्थापन हुन नसक्दा पन पैदावारको उचित व्यवस्थापनमा चुनौती देखियो सरकारले गम्भीर रुपमा लिन जरुरी छ ।’ सरकारले नीजि क्षेत्रलाई वन दिएको भन्दै फेकोफनको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ ।

‘विश्वमा नेपाल सामुदायिक वनको देश भनेर चिनिएको छ, सामुदायिक वन उपभोक्ता समूहहरूले वन क्षेत्रको सदुपयोग गरेर विश्वमा नमूनाको रुपमा चिनिएको छ,’ उनले भनिन्,‘हामीले संरक्षण गरेर उत्पादन गरेको वन पैदावारको सहज रुपमा प्रयोग गर्न पाउनुपर्छ ।’ सो अवसरमा साझोदारी वन उपभोक्ता समूहका सदस्य रामप्रसाद चौधरीले पनि दिगो वन व्यवस्थापनको विषयलाई चाँडोभन्दा चाँडो टुंगोमा पर्‍याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्