Logo

सात मुर्रा राँगा पोखरामा

पोखरा– भारतबाट आएका सात मुर्रा राँगा पोखरामा आइपुगेका छन् । छिमेकी मुलुक भारतले नेपाललाई उपहारको रुपमा उपलब्ध गराएको उन्नत जातका मुर्रा राँगामध्ये सात वटा शुक्रबार राति पोखरामा ल्याइएको हो ।

भारतले नेपाललाई दिएको १५ वटा उन्नत जातका मुर्रा राँगामध्ये सातवटा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदीश पाण्डेले बताए । कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप भारतले दिएकामध्ये सात वटा राँगाबाट अब यस क्षेत्रको भैसी पालनमा कोषेढुंगा साबित हुने उनले बताए ।

उनका अनुसार पोखरा ल्याइएका मुर्रा राँगालाई २१ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि मात्र वीर्य उत्पादन सुरु गरिने भएको छ । राँगाहरुबाट आगामी पुसदेखि वीर्य संकलन सुरु गरिने भएको छ । मुर्रा राँगाहरु स्वस्थ छन् भनेर प्रमाणित गरेर मात्र त्यसको वीर्य उत्पादनमा लाग्ने भएको प्रमुख पाण्डेले बताए । क्वारेन्टाइन अवधि पूरा नभई अन्य बथानसँग उक्त राँगा मिसाउन नहुने उनले बताए ।

पाण्डेले भने,‘यहाँँ ल्याइएका सबै दुई वर्ष उमेर पूरा भएका छन्, विभिन्न पशु रोगहरुको परीक्षणपछि मात्र वीर्य संकलन सुरु गछौँ ।’ एउटा राँगाबाट वार्षिक १५ देखी २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले उल्लेख गरेको छ । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख पाण्डेले जनाए ।

भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रुपैडिया नाका हुँदै स्वदेश ल्याइएको हो । उच्च नश्लका मुर्रा भैंसीहरूले रैथाने भैंसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैंसीहरूमा नस्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्