Logo

उद्यम र रोजगारी जोड

नेपालगन्ज– स्वदेशमै युवा, उद्यम र रोजगारी रहेको बताइएको छ । क्रिएटिभ ह्यान्डले आयोजना गरेको स्वदेशमै सम्भव छः युवा, उद्यम र रोजगार शीर्षकको कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा युवा उद्यमी तीर्थ थापाले युवालाई कृषि र पर्यटनमा लगाउन सकिने ठूलो सम्भावना रहे पनि सरकारबाट युवालाई परिचालन र सहयोग गर्ने कार्य नभएको बताए । राज्यको अनुदान समूह लक्षित वा पार्टी कार्यकर्तालाई बाँड्ने गरी भइरहँदा वास्तविक कृषक र युवाले त्यसको लाभ पाउन नसकेको उनको भनाइ थियो ।

सरकारले युवा लक्षित कार्यक्रम र उद्यम गर्ने वातावरण बनाउन नसकेका कारण युवा विदेशतिर पलायन भएको उनले बताए । ‘युवाहरू ५० लाख तिरेर गैरकानुनी बाटोबाट विदेश जान तयार छन् । तर, त्यही पैसा लगाएर यहाँ उद्यम गर्ने सोच युवामा देखिँदैनन,’ उनले भने, ‘यस्तो हुनुमा सरकार नै दोषी हो भन्ने लाग्छ ।’

भायोनेटका सिइओ सेवा पाठकले अहिलेको युग डिजिटिलाइजेसनको भएको बताउँदै टेक्नोलोजीले विगतमा कामदारले गर्ने काम गरिरहेकाले त्यो चुनौतीलाई ध्यानमा राखेर राज्यका नीति बन्नुपर्ने बताइन् । उनले एआईको प्रयोगले निम्त्याउने चुनौती र अवसरप्रति अहिलेको युवा पुस्ता सचेत रहनु आवश्यक रहेकोमा जोड दिइन् ।

आफू व्यवसायमा लागेको १५ वर्ष भएको बताउँदै त्यतिबेला र अहिलेको व्यावसायिक वातावरण धेरै परिवर्तन आएको उल्लेख गरिन् । ‘पहिला परिवारमा कोही पनि नलागेका व्यक्तिलाई व्यवसायमा लाग्न झन गाह्रो थियो । अहिले त्यो सहज छ ।’ उनले भनिन्, ‘अहिलेका जेनेरेसन चुनौती मोल्न तयार छन् । उनीहरूलाई वातावरण बनाइदिनुपर्छ ।’

कार्यक्रममा युवा उद्यमी मञ्चका अध्यक्ष सहारा जोशीले अहिलेका युवाहरूमा नेपालमै केही गरौं भन्ने हुटहुटी भए पनि अवसर नपाउँदा युवाहरू निराश भएको बताइन् । ‘युवाले अवसर खोजिरहेका छन् । अवसर दिनुपर्नेछ,’ उनले भनिन्, ‘युवाहरूलाई रोजगार र उद्यमी बनाएर नेपालमा भविष्य छ भन्ने देखाउनुपर्छ ।’

उनले वित्तीय र आर्थिक शिक्षा अति नै जरुरी रहेको बताउँदै भविष्यको आर्थिक योजना बनाउन सिकाउनुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका जित चन्दले नेपालको युवा नीति उत्कृष्ट रहेको बताए । तर, त्यसलाई कार्यान्वयनमा ल्याउँन नसक्दा युवाहरूमा चरम असन्तुष्टि रहेको उनको भनाइ छ ।

उनले भने, ‘युवाहरूमा खर्च गरिने बजेट नै कम छ । त्यसैकारण १२ पास भएका युवालाई रोक्न नेपालमा चुनौती देखिएको छ ।’ उनले राज्यको संयन्त्र र सामाजिक मनोविज्ञान नै विदेश जान दुरुत्साहित गर्ने खालको रहेको बताए । ‘हामीकहाँ लक्षित गरेर बजेट आउँछ, विदेशमा त्यस्तो हुँदैन ।’ उनले भने, ‘उनीहरूसँग सिस्टम छ । त्यसमा रहेर उनीहरूले काम गर्छन् । बजारको ग्यारेन्टी हुन्छ, नेपालमा त्यो छैन ।’

प्रतिक्रिया दिनुहोस्