मातृ स्वास्थ्यमा सुधार «

मातृ स्वास्थ्यमा सुधार

लमजुङ – मातृ स्वास्थ्यको अवस्थामा सुधार हुँदै गएको पाइएको छ । सुरक्षित मातृत्वका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाको संख्या बढेसँगै मातृ तथा शिशु स्वास्थ्यमा सुधार आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष लमजुङमा एक हजार चार सय ८७ जनाले स्वास्थ्य सस्ंथामा गएर सुत्केरी गराएका छन् । विगतका वर्षमा घरमै बच्चा जन्माउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या आउने र अकालमै ज्यान जाने गरे पनि पछिल्लो समय त्यस्तो घटना नघटेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका तथ्यांक सहायक लेखनाथ उपाध्ययका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या आर्थिक वर्ष २०७४-०७५ मा एक हजार सात सय ३१ रहेको थियो भने ०७३-०७४ मा एक हजार सात सय २१ रहेको थियो । गत आर्थिक वर्ष तीन हजार नौ सय ९० अनुमानित लक्ष्य राखिएकोमा एक हजार चार सय ८७ अर्थात् ३७.३ प्रतिशतले मात्र स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका हुन् ।
अघिल्ला दुई वर्षको तुलनामा गत आर्थिक् वर्ष २०७५-७६ मा तुलनात्मक रूपमा कम महिलाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएको पाइए पनि जिल्लामा भएका वास्तविक गर्र्भवतीको आधारमा मातृ स्वास्थ्यको अवस्थामा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले बताए । ‘जिल्लामा गर्भवतीको संख्या कम हुनु र जिल्ला बाहिरका ठूला अस्पतालमा सुत्केरी हुन जाने हुँदा अपेक्षित लक्ष्य नभेटिएको हो’ स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले भने ।लमजुङमा जनसंख्या वृद्धिदर (–१.५) रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नियमित गर्भजाँच, सरसफाइ, खोप र संस्थागत सुत्केरी सेवाप्रति क्रमिक रूपमा चेतनाको वृद्धि हुँदै गएको कार्यालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय स्वास्थ्य संस्थाको वृद्धिसँगै महिलाले नियमित गर्भजाँच, स्वास्थ्य संस्थामै तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने सम्बन्धमा महिला र परिवारका अन्य सदस्य पनि सचेत भएको पाइएको छ । यसले गर्दा मातृ तथा शिशु स्वास्थ्यमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
गर्भावस्थामा सकेसम्म प्रत्येक महिना आफ्नो गर्भ र स्वास्थ्यको बारेमा जाँच गराउँदा राम्रो हुने बताइएको छ । गर्भवती भएको थाहा पाएदेखि सुत्केरी नभएसम्म कम्तीमा चार पटक स्वास्थ्य संस्थामा गई जाँच गराई सुत्केरी गराएमा सरकारले प्रोत्साहन स्वरुप एक हजार चार सय रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्