भारतसँग व्यापार सहजीकरण गर्न व्यवसायीको माग

वीरगन्ज– नेपालको भारतसँगको व्यापारमा देखिएका समस्या समाधानमा सहजीकरण गर्न वीरगन्जस्थित भारतीय महावाणिज्यदूतलाई बारा–पर्सा औद्योगिक करिडोरका व्यवसायीहरूले माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले आयोजना गरेको नवआगन्तुक भारतीय महावाणिज्यदूत देवी सहाय मीनाको स्वागत तथा ‘नेपाल–भारत व्यापार सम्बन्ध’ विषयक कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले त्यस्तो माग गरेका हुन् ।
नेपालको ७० प्रतिशत व्यापार भारतसँग रहेको भन्दै व्यापारमा देखिएका केही समस्याको समाधान गरी नेपाली व्यवसायीहरूलाई थप सेवा उपलब्ध गराए व्यापार बढ्ने उनीहरूको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं व्यापार समितिका सभापति सुवोध गुप्ताले नेपाल र भारतबीच आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध रहेको बताउँदै यसलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । भारतले नेपाललाई कृषिक्षेत्रको औद्योगीकरण र प्राविधिक सहयोग गरे थप व्यापार बढ्न सक्ने उनको भनाइ थियो ।
अहिले धेरै नेपाली विद्यार्थी भारतमा अध्ययनका लागि गएका र उनीहरूले भारतमा सिकेका सीप र ज्ञानलाई नेपालमै उपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । त्यसका लागि थप प्राविधिक ज्ञान, सीप, सहयोगहरू आदान–प्रदान गर्न सके नेपाल–भारतको व्यापारिक साझेदारका रूपमा विकास गर्न सक्ने सम्भावना रहेको उनको भनाइ थियो । त्यसका लागि भारतले केही सहुलियत र व्यापारमा सहजीकरण गर्नुपर्नेमा गुप्ताले बताए ।
महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले नेपाल र भारतको सम्बन्धको विषयमा सबै जानकार रहेको र अहिले नेपालमा देखिएको राजनीतिक अस्थिरता र आर्थिक संकटले नेपालका व्यवसायीहरू चिन्तित रहेको बताए । उनले छिमेकी देश भारतमा पनि असर पर्न सक्ने भएकाले यसतर्फ सचेत रहनुपर्नेमा जोड दिए ।
महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले भारतको विरुद्धमा नेपाली भूमिमा कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै नेपालको व्यापारको विकासमा भारतको सहयोग महत्त्वपूर्ण रहेको बताए । उनले दुवै देशका सीमाक्षेत्रका व्यवसायीहरूले ह्याप्पी बोर्डरको अवधारणा अगाडि सारेकाले यसलाई साकार बनाउन सहयोग गर्न आग्रह गरे ।
भारतसँगको व्यापारमा सम्झौता भएअनुसारको काममा पनि केही समस्या आउने गरेकाले त्यस्ता समस्याहरू फेरि दोहोरिन नदिन दुवैतर्फ आपसी समझदारी र सहकार्य जरुरी रहेको उनको भनाइ थियो । उनले नवआगन्तुक महावाणिज्यदूतले समन्वयकारी भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । उनीहरूले भारतका अस्पतालहरूमा उपचारका लागि जाँदा कहिलेकाहीं भारतीय रुपैयाँको सट्टा डलरमा विनिमय गर्नुपर्ने बाध्यता सिर्जना गर्ने गरेको भन्दै यसको सहजीकरणका लागि महावाणिज्यदूतसँग आग्रह गरे ।
भारतीय सीमाक्षेत्रका दरभंगा, पटना, गोरखपुरलगायतका स्थानबाट हवाई सेवा भए पनि वीरगन्जको रक्सोलबाट हवाई सेवा सुरु हुन नसक्दा नेपाली व्यवसायीहरूलाई व्यापारिक कामका लागि भारत जाँदा बढी समय लाग्ने गरेको व्यवसायीहरूको भनाइ छ । उनीहरूले रक्सौलबाट दिल्लीसम्मको छुट्टै द्रुत गतिको रेल सेवा दिनुपर्ने र त्यसमा नेपाली नागरिकलाई छुट तथा सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरे ।
कार्यक्रममा भारतीय महावाणिज्यदूत मीनाले नेपाल र भारतको सम्बन्धलाई अझ बलियो बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग र समन्वय रहने आश्वासन दिए । धेरै देशमा बसेर काम गरेको अनुभव भएका मीनाले दुई देशबीचको अन्योन्याश्रित सम्बन्ध कायम राख्नका लागि आफू प्रतिबद्ध रहेको र वीरगन्जको समग्र विकासमा आफ्नो कार्यकालमा समस्या समाधान हुने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, पूर्वअध्यक्ष प्रदीप केडिया, कोषाध्यक्ष नीरज अग्रवाल, कोषाध्क्ष शिवजी कलवार, जितपुर सिमरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जय साह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहलगायत उद्योगी व्यवसायीहरूले निजी क्षेत्रले बेहोर्नुपरेको समस्या उजागर गरेका थिए ।