अस्पतालको निरीक्षण «

अस्पतालको निरीक्षण

लमजुङ-गण्डकी प्रदेशका प्रमुख सचिवसहितको टोलीले लमजुङ जिल्ला सामुदायिक अस्पतालको निरीक्षण गरेको छ । प्रमुख सचिव हरिबहादुर बस्यालसहितको टोलीले जिल्ला सामुदायिक अस्पतालको सेवा प्रवाह, संरचना र अन्य अवस्थाको बारेमा निरीक्षण गरेको हो ।
अस्पतालको सेवा प्रवाको बारेमा निरीक्षणपछि प्रमुख सचिव बस्यालले अस्पतालको अवस्था निकै राम्रो भएको भन्दै यसको थप व्यवस्थापनको लागि प्रदेश सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । अस्पतालबाट उपलब्ध सेवा, अस्पतालको सरसफाई र भएका संरचनाहरु उत्कृष्ट भएको भन्दै आवश्यक संरचना र व्यवस्थापनको विषयमा थप पहल गर्ने प्रमुख सचिव बस्यालले बताए ।
मानव विकास तथा सामुदायिक सेवाको व्यवस्थापनमा सञ्चालित जिल्ला अस्पताल हाल नेपाल सरकारको संघ वा प्रदेश अन्तगर्त नपरेको गुनासोपछि प्रदेश सरकारले स्थलगत अवलोकनका लागि प्रमुख सचिवसहितको टोलीलाई लमजुङ पठाएको हो ।
निरीक्षण टोलीमा प्रमुख सचिवसहित सामाजिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वर मरहठ्ठा, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव निरज भट्टराई, मुख्यमन्त्री कार्यलयका उपसचिव डिल्लीराम सिग्देल, सामाजिक विकास मन्त्रालयका उपसचिव रमेशप्रसाद अधिकारी रहेका थिए ।
टोलीले जिल्ला अस्पताल प्रदेश सरकारको अन्तरग सेवा प्रवाह गराउन गण्डकी प्रदेश सरकार सकरात्मक रहेको भन्दै यसको आधिकारीक निर्णय भइसकेपछि आवश्यक संरचना र थप सेवा सुविधाको विषयमा अघि बढ्ने जनाएको छ । लमजुङसहित विभिन्न जिल्लाका बिरामीहरुलाई गुणस्तरीय सेवा दिइरहेको अस्पताललाई व्यवस्थित गर्न सवै एक भएर लाग्नुपर्ने समेत निरीक्षण टोलीको निष्कर्ष रहेको छ ।
प्रमुख सचिवसहितको टोलीलाई अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले स्वागत गर्दै अस्पताल व्यवस्थापन र सञ्चालनको विषयमा छिटो भन्दा छिटो निर्णय गराउन पहल गरीदिन आग्रह गरेका थिए । अनिर्णयको बन्दीले सरकारले दिँदै आएको विभिन्न सहयोग पनि नपाएको भन्दै सामान्य नागरिकहरुको सेवाका लागि सरकारले विशेष चासो दिनुपर्ने माग राखेका थिए ।
अस्पताल व्यवस्थापनको जिम्मा लिएको मानव विकास तथा सामुदायिक सेवाका अध्यक्ष कपिल जैसीले अस्पतालको विगत, वर्तमान र भावि योजनाको बारेमा जानकारी गराएका थिए । अस्पतालले दिने सेवा सुविधामा कुनै कमी नआए पनि नियमित आइरहेको सरकारी सहयोग पछिल्लो समय नआउँदा सरकारबाट उपलब्ध सेवा प्रभावित हुँदै गएको अध्यक्ष जैसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्