पर्यटक बढाउने योजना बनाऊ

यो वर्ष पर्यटकीय मौसममा पनि होटलको न्यून अकुपेन्सी गम्भीर समस्या हो । अहिले होटल क्षेत्रमा रहेको क्षमताको एकतिहाइ मात्र पर्यटक आएका छन् । खासमा पर्यटक आगमन विगतकै जस्तो छ; अर्थात् कोभिडपूर्वको अवस्थामा पर्यटक आएका छन् । तर, यसबीच पर्यटन व्यवसायीले पूर्वाधार निर्माणमा ठूलो लगानी थपेर होटलको संख्या बढाएका छन् ।
यही कारण पर्यटक आगमन पुरानो लयमा फर्किए पनि अकुपेन्सी बढ्न सकेको छैन । यो वर्षको ११ महिनासम्ममा करिब ८ लाख १० हजार पर्यटक नेपाल आएका छन् । व्यवसायीहरूका अनुसार मुलुकभित्र वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिने पूर्वाधार तयार छ । पूर्वाधार थपिए पनि सरकारले पर्यटक ल्याउने लक्ष्य वार्षिक १० लाखभन्दा माथि लैजान सकेको छैन । अर्कातिर सेवा दिन सक्ने क्षमताको एकतिहाइ लक्ष्य राख्दा पनि पूरा हुन सक्ने अवस्था छैन ।
यो कस्तो विडम्बना ? अर्बौं रुपैयाँ लगानी गरेका पर्यटन व्यवसायीले के गर्ने ? उनीहरूको लगानी के हुने ? प्रश्न जटिल बन्दै गएका छन् । पर्यटक ल्याउन सरकारले योजना बनाउन सक्दैन भने यो क्षेत्रको पूर्वाधार निर्माणलाई निरुत्साहित गर्नुपर्छ । व्यवसायीले लगानी गर्नु वा थप्नु भनेको बैंकहरूबाट कर्जा लिएर हो । बैंकको पैसा सर्वसाधारण नागरिकको हो, त्यो बचतका रूपमा होस् वा सेयर लगानीका रूपमा होस् । त्यसैले व्यवसायीको लगानी डुबे बैंक प्रभावित हुनेछन् र त्यसको असर नागरिकसम्म आउनेछ ।
आगामी दिनमा बढी पर्यटक ल्याएर समस्या भित्रिन नदिन सरकारले ठोस योजना ल्याउन जरुरी भइसकेको छ ।
अहिलेजस्तै पर्यटन पूर्वाधारमा लगानी थपिरहने तर पर्यटक ल्याउन ठोस योजना बनाउन नसक्ने हो भने समस्या चाँडै नै नआउला भन्न सकिँदैन । यो वर्ष पर्यटक आगमनमा सुधार हुँदा पनि होटल रित्तैजस्तै छन् । होटलहरूको अकुपेन्सी वार्षिक ३० प्रतिशत पनि पुग्न सकेको छैन । यो भनेको व्यवसाय घाटामा सञ्चालनमा छ भन्नु हो । भनिन्छ, होटलहरूको अकुपेन्सी ५० प्रतिशत पुगे मात्र सञ्चालन खर्च उठ्छ । नाफा कमाउन अकुपेन्सी कम्तीमा पनि ७०–७५ प्रतिशत पुग्नुपर्छ । अहिलेको हिसाबले त्यो सम्भव देखिँदैन ।
खासमा पर्यटक ल्याउन सरकारले काम गर्न नसकेरै हो । विश्वको कुल जनसंख्या ८ अर्ब पुग्दा हाम्रा दुई छिमेकीहरूसँग मात्र पौने ३ अर्ब छ । दुवै छिमेकी चीन र भारत अहिले आर्थिक विकासमा फड्को मारिरहेका मुलुक हुन् । चिनियाँ र भारतीय नागरिकको प्रतिव्यक्ति आय पनि क्रमश: बढ्दै गएको छ भने घुम्न निस्कने प्रवृत्ति पनि बढ्दो छ । सरकारले यिनै दुई मुलुकका नागरिकलाई आकर्षण गर्न सक्ने गरी योजना बनाए पर्याप्त हुन्छ । अहिले भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा बनेको अर्को अन्तर्राष्ट्रिय विमानस्थलबाट यी दुई छिमेकी मुलुकका विभिन्न सहरमा हवाई उडान सुचारु गर्न सके धेरै पर्यटक ल्याउन सकिन्छ ।
त्यसै पनि पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनेको हो । यो विमानस्थल सञ्चालनमा ल्याउन चीनको सहयोग खोज्नु आफैंमा नराम्रो पक्ष होइन । सरकारले चीनका उच्च अधिकारीहरूसँग छलफल गरेर पोखराबाट चीनका धेरै सहरलाई हवाई उडानबाट जोड्न सकिन्छ । यस्तै भारतलगायत अन्य मुलुकका बुद्ध धर्म मान्नेहरूलाई गौतम बुद्ध विमानस्थलमा सीधा हवाई उडानको व्यवस्था गर्न सके धार्मिक पर्यटक पनि धेरै आउने सम्भावना रहन्छ ।
तर, सरकारमा बस्नेहरूलाई यस्ता विषयले घोच्दैन । दुवै विमानस्थल तयार भएको एक–डेढ वर्ष बितेको छ । यसबीच मुलुकलाई अर्बौं रुपैयाँ घाटा परिसकेको छ । तर पनि सरकारमा बस्नेहरू तात्दैनन् । मुलुकभित्र पर्यटन क्षेत्रमा सम्भावना देखेकै कारण निजी क्षेत्रले पूर्वाधार निर्माणमा अर्बौं लगानी गरेको छ । स्तरीय होटल तथा रिसोर्ट निर्माणको गति उच्च छ । पूर्वाधारमा प्रत्येक वर्ष लगानी थपिइरहेको छ । अहिले मुलुकभरमा डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ ।
यसैगरी तारे स्तरबाहेकका डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ छ । ८ सय ५७ तारेस्तरका होटलमा रहेका बेडको संख्या १६ हजार ३ सय ३५ छ । पूर्वाधार तयार भएअनुसार पर्यटक नआएपछि व्यवसायीले बारम्बार सरकारलाई घचघचाइरहेका छन् । होटल व्यवसायीहरूको छाता संगठन होटल संघले गत साता विभागीय मन्त्रीलाई भेटेर यी दुवै विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दै आएको छ ।
अर्कातिर पर्यटकीय क्षेत्रमा पुग्ने सडक मार्गलाई पनि गुणस्तरीय बनाउनुपर्ने उसको माग छ । अहिले पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटकीय क्षेत्रमा जाने सडकमार्ग राम्रो छैन । सडकको स्तरोन्नति भइरहेका कारण ती क्षेत्रमा पुग्न अतिरिक्त समय लाग्ने गर्छ । अर्बौं रुपैयाँ लगानी भएको यो क्षेत्रमा पर्यटक नआए अवस्था साँच्चै गम्भीर हुनेछ । त्यसैले आगामी दिनमा बढी पर्यटक ल्याएर समस्या भित्रिन नदिन सरकारले ठोस योजना ल्याउन जरुरी भइसकेको छ ।