खानेपानीका लागि १ करोड १८ लाख विनियोजन «

खानेपानीका लागि १ करोड १८ लाख विनियोजन

ताप्लेजुङ-जिल्लाको फुङलिङ नगरपालिका–५ स्थित माछापोखरी बस्तीका एक दर्जन परिवारले नजिकैको पानीको मुहान प्रयोग गर्थे । तर जग्गाधनी सरिता लिम्बुले मुहान क्षेत्रमै घर बनाइन् । पानीको मुहान सुक्ने खतरा तथा पानी दुषित बन्यो । बस्तीमा पानीको विवाद मिलेन । नगरपालिकाको न्यायिक उपसमितिमा उजुरी प-यो । न्यायिक उपसमितिले मुहानलाई असर नपर्ने गरी घर निर्माण गर्न आग्रह ग-यो । तर उपभोक्ता न्यायका लागि भन्दै जिल्ला अदालत पुगे । अदालतले मुहान धनीको पक्षमा फैसला सुनायो । फैसलामा चित्त नबुझेपछि स्थानीयले उच्च अदालत जाने तयारी गरेको अधिवक्ता देवराज मेन्याङबोले जानकारी दिए ।
फुङलिङ नगरपालिका–४ उकालीपानीका कृष्ण गुरुङको आफ्नै वारीमा पानीको मुहान छ । तर गुरुङसहित नजिकका छिमेकले पानी प्रयोग गर्न समस्या छ । पानीको मुहान पाथीभरा बहुमुखी क्यापम्सलाई उपलब्ध गराएको छ । समयक्रम अनुसार आफूले खाने पानीको मुहान सुक्न थालेको र क्याम्पसलाई दिएको पानी आफूसहित छिमेकले प्रयोग गर्ने क्रममा विवादको खतरा बढेको छ । अब मुहान कसरी संरक्षण गर्ने र सबैले मिलेर कसरी पानी प्रयोग गर्ने भन्ने विषयले प्रवेश पाएको छ । स्थानीयले क्याम्पसदेखि सेनाको गुल्मलाई समेत मुहानको पानी दिएको छ । तर पानी मुहानका धनीहरू भने मिटरको पानी जडान गरेर प्रयोग गर्छन् ।
यी त प्रतिनिधिमूलक घटना हुन् । पानीको विवाद गाउँघरदेखि स्थानीय न्यायिक समिति हुँदै अदालतसमक्ष पुगेका छन् । एकातिर पानीको मुहान संरक्षण तथा वितरणमा हुने समस्याले स्थानीयवासी पिरोलिएका छन् । अर्कातिर सामाजिक सदभावमा खलबल पुग्ने खतरा उत्पन्न भएको छ । अव्यवस्थित रूपमा सडक निर्माणमा डोजर प्रयोग, वन फडानी, हाइड्रोपावर निर्माणमा प्रयोग गरिने ब्लास्टिङ, बढ्दो तापक्रमसँगै हिउँ पग्लने समस्याजस्ता प्राकृतिक तथा कृत्रिम समस्याले पानीको मुहान संरक्षण तथा वितरण चुनौतीको विषय बनेको छ ।
संविधानको मौलिक अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहँुचको हक हुनेछ भनी उल्लेख गरिएको छ । संविधान देशको मूल कानुन भएकाले संविधानको मर्म अनुरुप बनेका ऐन, नियम तथा कानुनलाई पालना गर्नु सबैको साझा दायित्व हो । स्थानीय, प्रदेश र संघीय सरकारले पानीको व्यवस्थापन तथा वितरणका लागि बजेट विनियोजन गर्न थालेका छन् ।
जिल्लाको फुङलिङ नगरपालिकाले पनि पानीको समस्या समाधानका लागि मुहान संरक्षण र वितरणलाई प्राथमिकतामा राखेको छ । खानेपानी तथा सरसफाई कार्यक्रममा ३१ वटा कार्यक्रममार्फत १ करोड १८ लाख रुपैयाँ विनियोजन गरेको छ । मुहान संरक्षणसहित पाइप खरिद, ट्यांकी निर्माण र घेराबारा छन् । ११ वटा वडामध्ये पानीको सबैभन्दा बढी समस्या भएको फुङलिङ नगरपालिका–१ मा ‘एक घर एक पक्की धारा’ निर्माणको अभियान छ । उक्त कार्यक्रमका लागि २५ लाख विनियोजन गरिएको वडाअध्यक्ष पदम सुनुवारले जानकारी दिए । नगरपालिकाभित्रका ६ वटा मुहान संरक्षणका लागि मात्र १४ लाख विनियोजन गरिएको छ । फुङलिङ नगरपालिका–३ को जुकेपानी मुहान, फुङलिङ–४को कुवापानी र धर्लासिंह मुहान र वडा नं–५ को उकालीपानी मुहानलगायत छन् ।
फुङलिङ नगरपालिका नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार खानेपानी मानिसका लागि पहिलो सर्त भएकाले नगर मुहान संरक्षण तथा वितरणमा चिन्तित रहेको बताए । पानीकै कारण समाजमा झैझगडादेखि बसाइँसराइले दीर्घकालीन समस्या निम्त्याउने खतरा बढेकाले स्थानीय सरकारले आफ्नो ताकतअनुसार काम गर्ने गरेको नगर प्रमुख प्याकुरेलले दाबी गरे । नगरवासीलाई पानीको संकट हुन नदिनु र भएका मुहानको संरक्षण तथा वितरण गर्नु नगरको प्राथमिकताको विषय बन्नुपर्नेमा नगरबासीले जोड दिएका छन् ।

 देवराज गुरुङ

प्रतिक्रिया दिनुहोस्