Logo

अनुदानका लागि मात्र उद्योग

जुम्ला– उद्योग दर्ताको उद्देश्य उत्पादन वृद्धि र रोजगारी सिर्जना हो । बेरोजगारी कम गर्न, आयात प्रतिस्थापन गर्न, बजारको माग पूर्ति गर्न तथा कच्चा पदार्थको प्रशोधन तथा उत्पादन वृद्धिका लागि उद्योग दर्ता आवश्यक छ । तर, तथ्यांक हेर्ने हो भने जुम्लामा निर्वाहमुखी, नाफामुखी, व्यावसायिक र उत्पादनमुखीभन्दा अनुदानमुखी उद्योग बढी छन् । संघीयतापछि अनुदान लिनमात्रै उद्योग दर्ता गर्ने र अनुदान सकिएसँगै उद्योग पनि बन्द गर्ने प्रवृत्तिले न उत्पादन वृद्धि भएको छ, नत रोजगारी सिर्जना भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको गत आव २०७९–८० को तथ्यांकनुसार जुम्लामा एकै वर्षमा ७ सय ६० उद्योग दर्ता भएका छन् । उद्योगतर्फ ५ सय ८९ र वाणिज्यतर्फ १ सय ७१ गरी यो संख्यामा उद्योग दर्ता भएका हुन् । कार्यालय स्थापनादेखि हालसम्म भने जुम्लामा कुल ७ हजार ३ सय ३७ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये अधिकांश सञ्चालनमा छैनन् । तिनले न उत्पादन गर्न सकेका छन्, नत रोजगारी सिर्जनामा टेवा पुर्‍याएका छन् ।

श्रृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगकी सञ्चालक नारायणी चौलागाईंले भनिन्, ‘अनुदान पचाउन मात्रै जुम्लामा उद्योगी बन्ने प्रवृत्ति बढ्दो छ । नियमन पनि हुन सकेको छैन । नेताका आसेपासेले नक्कली उद्यमी बनेर अनुदान पचाउँदा वास्तविक उद्यमी मारमा परेका छाैं ।’ जुम्लामा शनिबार आयोजित नवौं उद्योग दिवसका अवसरमा चौलागाईंले अनुदान पचाउने नक्कली उद्यमीहरुको खोजी गर्नुपर्नेमा जोड दिइन् ।

‘दिवसमा सम्मान गरेर मात्रै उद्यमशिलता फष्टाउने वाला छैन । अनुदान विचौलियाले लिने, सरकारी लगानी हचुवामा हुने, नियमन नहुने तर औपचारिकतामा दिवस मनाएर उपलब्धि हुँदैन,’ उनले भनिन् । उद्यमी सरोज शाहीले उद्यमीलाई अनावश्यक आश्वासन दिनुभन्दा पहिचान गरी सहुलियत दिने तथा उत्पादित वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनका अनुसार अनुदान खानकै उद्योग दर्ता ह्वात्तै बढे पनि सञ्चालनमा निकै कममात्र छन् ।

गुठीचौर–३ स्थित अर्गानिक फुड प्रोडक्सन प्रालिका सञ्चालक चित्रबहादुर बुढाले अनुदानका कार्यक्रम भन्दा पनि उद्यमीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने ठाउँमा लगानी गर्नुपर्ने बताए । उनले भने, ‘अनुदान दिँदा वास्तविक उद्यमीको पहुँच पुग्दैन । विचौलिया मात्रै मोटाउँछन् । बोर्ड राखेर उद्यमी बन्नेको संख्या बढ्छ । त्यसैले वास्तविक उद्यमी पहिचान गरी लगानी गर्न आवश्यक छ ।’

सम्मान पाउँदा हर्ष लागे पनि वास्तविक उद्यमीलाई सरकारको लगानी हुन नसकेको गुनासो उनले पोखे । ‘जो नेताको पछि लाग्छ, उसैले अनुदान पाइरहेको छ । कसले उत्पादन गरेको छ, कसले रोजगारी दिएको छ भन्नेबारे अनुगमन नहुँदा अनुदानमुखी उद्योग फष्टाउने वातावरण बनेको छैन,’ उनले भने ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अनुदान खान उद्योग दर्ता गर्ने र पछि अलपत्र पार्ने नक्कली उद्यमीको खोजी गरिने बताए । बैंकबाट ऋण लिने र सरकारबाट अनुदान खाने तर उत्पादन नगर्नेहरुले सरकारी लगानी डुबाएको उनको भनाइ छ । उद्योग दिवसमै उद्यमीको उत्साहपूर्ण सहभागिता नभएपछि जिसस प्रमुख आचार्यले दिवसमा नआउने उद्यमीले उद्योग चलाउँछन् भन्ने विश्वास नरहेको टिप्पणी गरे ।

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले निष्क्रिय रहेका उद्योगको सञ्चालन तथा खारेजी प्रक्रियामा जोड दिन सुझाव दिए । संख्यात्मक उद्योग र नक्कली उद्यमीको मारमा वास्तविक उद्यमी परेकोले अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमालले जुम्लामा कच्चा पदार्थ तथा उत्पादनको सम्भावना राम्रो भएकोले वास्तविक उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले गाउँका उद्यमीलाई सक्रिय बनाउन पालिकासँग समन्वय सहकार्य गरेर अघि बढ्ने बताएको छ ।

२२ उद्यमी सम्मानित
नवौं उद्योग दिवसका अवसरमा जुम्लाका २२ जना उद्यमी सम्मानित भएका छन् । उद्यमशिलताका माध्यमबाट जिल्लाको आर्थिक समृद्धि र उत्पादनका क्षेत्रमा योगदान दिएको भन्दै जिल्लाका आठ पालिकाका २२ जना सफल उद्यमीलाई सम्मान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका सहायक प्रमुख विनोद कुमार बानियाले बताए ।

उनका अनुसार चन्दननाथ नगरपालिकाका ६ जना र अन्य सात पालिकाकाबाट प्रतिपालिका २ जनाका दरले २२ जनालाई सम्मानपत्र प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्