Logo

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर

जाजरकोट– कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपासमा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट क्षति बेहोराका सर्वसाधारणलाई निःशुल्क विद्युत मिटर उपलब्ध हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितलाई निःशुल्क मिटर वितरण गर्नका लागि निर्णय भएको बताए ।

‘भूकम्पका कारण हामी अहिले भारी अप्ठ्यारोमा छौं, त्यसैले विद्युतको मिटर निःशुल्क रूपमा वितरण हुने सबैमा जानकारी गराउँछु,’ उनले भने । घर भत्किएका छन्, सर्वसाधारण अस्थायी टहरा निर्माण गरेर जिन्दगी कटाइरहनुभएको छ, त्यसैले हामीले निःशुल्क मिटर दिँदा ठूलो रहत हुने महसुस गरेको मन्त्री बस्नेतले जानकारी दिए ।

भूकम्प प्रभावितबाहेक अन्यलाई यो सुविधा दिइने छैन । त्यस्तै मन्त्री बस्नेतले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् विद्युत सेवा नपुगेका ठाउँमा रहेका भूकम्प पीडितका लागि सोलार सिस्टम वितरणको तयारी भएको बताए । ‘केन्द्रका कर्मचारी डाटा संकलनमा रहेकाले तत्काल डाटा आउनेबित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ,’ मन्त्री बस्नेतले भने । भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्