रुप्से झरनामा पर्यटक बढे

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा यतिखेर आन्तरिक पर्यटकको भीड लागेको छ । बिदाको समयमा मुस्ताङ भ्रमणमा हिँडेका पर्यटक कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको छेवैमा पर्ने झरनामा रोकिएर तस्बिर र भिडियो खिच्ने गर्दछन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्छ ।
पछिल्लो समय झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ । केही वर्ष पहिला रुप्सेमा आएको भिषण बाढी र पहिरोका कारण झरनाको स्वरुप बिग्रिएको थियो । विस्तारै पहिरो रोकथाम हुँदै जान थालेपछि झरनाको स्वरुपमा पनि परिवर्तन देखिन थालेको छ । झरनामा रमाउन विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढ्न थालेको छ ।
मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा केही समय बिताउने गरेको दानाका स्थानीय धनबहादुर पुर्जाले बताए । अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्बिर, भिडियो नखिची मुस्ताङ छिर्ने पर्यटक कमै हुन्छन्,’ उनले भने । उनका अनुसार, मोटरसाइकल र निजी तथा भाडाका सवारीसाधनबाट मुस्ताङ आउने–जाने पर्यटकको रोजाइमा रुप्से झरना पनि पर्ने गरेको छ ।
तीन वर्षअघि आएको भीषण बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । झरनामा पर्यटनमैत्री पूर्वाधार निर्माण गरेर रुप्सेको सौन्दर्यलाई जीवन्त राख्नुपर्ने झरनामा भेटिएका प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । तत्काल झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग, तस्बिर र भिडियो खिच्ने सुरक्षित ठाउँ बनाउनुपर्ने पर्यटक बताउँछन् ।
रुप्से झरनासँगै अन्धगल्छी रहेको यस पर्यटकीय क्षेत्रबाट स्थानीयबासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, खाजापसल सञ्चालन गरेर रोजगारी सिर्जना गरेर स्थानीय तहको आयस्रोत वृद्धि गर्ने सम्भावना छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संघीय सरकारबाट चालू आर्थिक वर्षमा प्राप्त ८० लाख अनुदानबाट रुप्से झरना र अन्धगल्छीलाई व्यवस्थित पूर्वाधार निर्माण गर्न लागिएको बताए ।