Logo

मन्दीको असर झापाका इँटा उद्योगमा

फाइल तस्बिर ।

बिर्तामोड– पछिल्लो समय आर्थिक मन्दीको असर झापाका इँटा उद्योगमा परेको छ । पहिले कोभिडकै कारण अर्बौं रकम गुमाएका इँटा उद्योगी त्यसपछि झनै वित्तीय संकट गहिरिएकाले इँटा उद्योग व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् ।

झापाको हल्दिबारी, बाह्रदशी, बिर्तामोड, गौरादह, कमल, दमक, मेचीनगर र गौरीगञ्जमा २३ वटा इँटा उद्योगहरू सञ्चालनमा रहेकोमा पछिल्लो पटक देखिएको आर्थिक मन्दीको असरका कारण १६ वटा इँटा उद्योग बन्द भएको झापा इँटा उद्योग संघका अध्यक्ष गुणराज थापाले बताए । झापामा सञ्चालित अन्य इँटा उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताउँदै उनले आर्थिक मन्दीका कारण ती इँटा उद्योगले ७० प्रतिशत उत्पादन कटौती गरिसकेको जानकारी दिए ।

झापामा उत्पादित इँटा इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीसम्म निजी तथा सरकारी निर्माण कार्यमा प्रयोग हुने भएकोमा निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा इँटा व्यवसायी इँटा उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेको झापा इँटा उद्योग संघका अध्यक्ष गुणराज थापाले बताए । झापाको हल्दिबारी, बाह्रदशी, विर्तामोड, गौरादह, कमल, दमक, मेचीनगर र गौरीगञ्जमा सञ्चालित २३ वटा इँटा उद्योगमा २५० करोड लगानी रहेको उनले जानकारी दिए ।

कोभिडको महामारीअघि झापामा सञ्चालित उद्योगले वार्षिक तीन अर्ब ५२ करोड मूल्य बराबरको इँटा उत्पादन गर्दै आएको भए पनि आर्थिक मन्दीका कारण हाल वार्षिक उत्पादन घटेर १८ करोड ३७ लाखमा सीमित भएको झापा इँटा उद्योग संघका अध्यक्ष थापाको भनाइ छ । पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको बताउँदै अध्यक्ष थापाले इँटा उद्योग पुनःसञ्चालनका लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताए ।

बजारमा इँटाको माग नै कम हुँदा इँटा उद्योगबाट उत्पादन भएका इँटा बिक्री नभएपछि इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको इँटा व्यवसायी महासंघ कोेशीका वरिष्ठ उपाध्यक्ष सीताराम भट्टराईले बताए । एकातिर इँटा बिक्री नभएर तनाव भइरहेको बेला बैंकले ऋण र ब्याज तिर्न ताकेता गरेकै कारण इँटा व्यवसायी मानसिक तनावमा रहेको उनको भनाइ छ ।

हरेक इँटाभट्टामा दुई सयदेखि अढाइ सय जनासम्मले प्रत्यक्ष रोजगारी पाएकोमा इँटा उद्योग बन्द भएसँगै उनीहरूले रोजगारी गुमाइसकेको बताउँदै इँटा व्यवसायी महासंघ कोशीका वरिष्ठ उपाध्यक्ष भट्टराईले चलिरहेका इँटा उद्योगले समेत आधाभन्दा धेरै कामदार तथा कर्मचारी कटौती गरेको जनाए । इँटा उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता भएकाले जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा इँटा व्यवसायी रहेको उनले बताए ।

सरकारले पुँजीगत खर्चमा गरेको कटौतीसँगै सरकारी विकास निर्माणका योजना ठप्प प्रायः भएका कारण र निजी क्षेत्रमा समेत निर्माण कार्य ठप्प भएर इँटाको माग नै कम हुँदा इँटा उद्योग सञ्चालनमा समस्या आएको इँटा व्यवसायी महासंघ कोशीका वरिष्ठ उपाध्यक्ष सीताराम भट्टराईले बताए । स्थानीय तहहरूले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि इँटा उद्योग सञ्चालनमा समस्या आएको उनी बताउँछन् ।

सरकारले काम भइसकेका निर्माण योजनाको भुक्तानी रोकेका कारण ठेकेदारले इँटाभट्टा व्यवसायीको भुक्तानी रोकेकाले आफूहरू झन् मारमा परेको झापा इँटा उद्योग संघका अध्यक्ष गुणराज थापाले बताए । वार्षिक ६ प्रतिशत सर्तमा लिएको ऋणको ब्याज अहिले १६ प्रतिशतसम्म बैंकहरूले असुलिरहेको उनको भनाइ छ ।

सरकारले पुँजीगत खर्च बढाउनुपर्ने र पुरानो कर्जालाई पुनर्कर्जामा परिणत गरेर पुरानै ब्याजदर लागू गर्न उनले सरकारसँग माग गरेका छन् । स्वदेशमा इँटा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा इँटा निर्यातसमेत गर्न सकिने दाबी गरे । नेपाली इँटा उच्च गुणस्तरको हुने भएकाले निर्माण क्षेत्रमा यसको प्रयोगसमेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्