संघीयतामा आर्थिक विकासको मार्गचित्र बहस–३

प्रदेश नम्बर ४ को अस्थायी राजधानी पोखरा नेपालकै पर्यटनको राजधानी हो । पोखराभित्रका विभिन्न तालतलैया तथा पोखराको एक कुनामा बसेर देख्न सकिने तीनवटा हिमालले अनुपम प्राकृतिक स्वाद पस्किरहेका छन् । पोखरालाई केन्द्रबिन्दु बनाएर यस आसपासका हिमाललगायतका भूगोलमा घुम्न, रमाउन सकिन्छ । उता पोखरा केन्द्रित भई फस्टाएको प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइलटले पोखराको पर्यटनमा इँटा थपेका छन् भने थकाली ब्रान्डको नेपाली खाना उत्तिकै लोकप्रिय छ । पोखराको पर्यटन पूर्वाधार विकास गर्न राजनीतिक दल, पर्यटन व्यवसायीलगायत अन्य सरोकारवालाले सक्दो प्रयत्न त गरिरहेका छन्, तर सहरीकरणले दिनहुँ भरिँदै गएको सहर राजधानी भएपछि यसको सौन्दर्यमा निखार ल्याउन झनै वैज्ञानिक तबरले काम गर्नुपर्ने देखिन्छ । पर्यटनले पोखराको चौतर्फी व्यवसायमा सहयोग पुराएको छ भन्नु अतिशयोक्ति हुदैन । यहाँको पर्यटनले अन्य व्यापार–व्यवसाय, बैंक तथा वित्तीय संस्था, सार्वजनिक सवारी, सडकलगायतका भौतिक पूर्वाधार तथा मानवीय बसोवास, जीविकोपार्जन तथा जीवनशैलीलाई पृथक् बनाउन भूमिका खेल्नु पोखराको सान नै हो । यसै सन्दर्भमा गत साता कारोबार राष्ट्रिय दैनिकले पोखरामा आयोजना गरेको बहसमा सहभागीहरूले व्यक्त गरेका विचारलाई सहकर्मीहरू दीननाथ बराल, लक्ष्मीप्रसाद सापकोटा र सन्तोष गौतमले संकलन गरेको सार:
आयात घटाउनतर्फ सोच्नुपर्छ
गणेशबहादुर भट्टराई
पूर्वअध्यक्ष
पोखरा पर्यटन बोर्ड
हामीले आर्थिक विकास र समृद्धिका कुरा गरेका छौं, तर हामी पूर्वाधारका हिसाबले कहाँ छौं, के यसका बारेमा हामीले सोचेका छौं ? कि फोस्रा भाषणमा सीमित भएका छौं ? चीन र भारतसम्म रेलमार्ग बनाउने भनिएको छ, तर कति वर्ष भयो पोखरा–काठमाडौँ , पोखरा–मुग्लिन, पोखरा–सुनौली सडकको स्तरोन्नति गर्ने भनेर भाषण दिएको ? आज ती सडकको अवस्था कति वर्ष भयो, जस्ताको तस्तै छ । पूर्वसांसदहरूले पनि गतिलो विकासका काम गरेका छैनन् । जनप्रतिनिधि तथा कर्मचारीहरू आफैं भ्रष्टाचारमा मुछिएका छन् । देशमा भ्रष्टाचार रोकिएन भने मुलुक अघि बढ्न सक्दैन ।
सिंगो देश र हाम्रो प्रदेशमा जनशक्ति कति छ, हाम्रो प्रदेशमा के–के उत्पादन हुन्छ, यहाँको सम्भावना के हो, व्यापार आयात घाटा घटाउन अब प्रदेश ४ ले के–कस्तो कस्तो रणनीति तय गर्नुपर्ने हो, अब हामीले यस विषयमा गहन अध्ययन गर्नुपर्ने समय आएको छ । एक गाउँ एक उत्पादनजस्ता कार्यक्रम ल्याइए, हाल कुन गाउँमा कुन वस्तु उत्पादन हुन्छ, खै त्यसका बारेमा चर्चा–परिचर्चा भएको ? खै ती योजना प्रभावकारी ढंगले अघि बढेको ? अब हामीले प्रदेशको व्यापारघाटा घटाउने विषयमा पनि बहस गर्नुपर्छ । यहाँको पर्यटनको कुरा गर्दा, बोइङ जहाज विदेशीले चढ्न नमान्ने हाम्रो देशलाई हवाई उडानको क्षेत्रमा कालोसूचीमा राखेका धेरै देशलाई विश्वास दिलाउनु अर्को चुनौती छ ।
देशमा संघीयता लागू भएकोमा हामी खुसी छौं, तर एनजीओ/आईएनजीओसँग मिलेर विदेशीबाट हामी चल्न खोज्यौं भने संघीयताको अर्को खतरा हुन सक्छ । हामी विदेशीबाट सतर्क हुनुपर्छ । गाउँ खाली छ, तर सहर–बजारमा जनघनत्व बढ्दो छ । अब यसलाई सन्तुलन कायम गर्न पनि प्रदेश सरकारले नयाँ योजनाका प्याकेज ल्याउनुपर्छ । विदेशको पकेटबाट हामी चल्ने प्रयास भए हाम्रो अस्तित्व नै गुम्छ ।
हामीले विकास गर्न र देख्न पाउनुपर्छ
प्रकाश केसी
प्रबन्ध निर्देशक, केसी गु्रप
प्रदेश नम्बर ४ र यसको राजधानी पोखरामा रमाइलो गर्ने ठाउँ, आकर्षण र बस्ने राम्रो व्यवस्था छ तर अब यसलाई विश्व बजारमा बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । सडक मार्ग र हवाई मार्गको सहज पहुँच हुनुपर्छ, यसका लागि प्रदेश सरकारले सोच्नुपर्छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको करिब ८ प्रतिशत काम सकिएको छ ।
अब यसमा कसैले बाधा–अवरोध पुरायाए पनि पोखरेली जनता जनश्रमदान गरेरै भए पनि यो योजना पूरा गरिछाड्छन् । पोखरेलीको सहयोगले अपुरो काम पूरा हुने अवस्थामा छ । त्यसो भएकाले पनि अब तीनदेखि चार वर्षभित्रमा पोखरामा हवाई उडानको पहुँच हुन्छ । हवाई उडान भएसँगै यहाँ लाखौंले रोजगारी पाउँछन् । हामीले पछिल्लो केही वर्षदेखि तीन–चारवटा जलविद्युत्मा लगानी गरेका छौं, अब देशमा जलविद्युत्बाट धेरै काम गर्न सकिन्छ । हाल हामीले माछा–मासुबाहेक अन्य तातो पानी तताउनेदेखि राइसकुकरमा भात पकाउनेसम्म काम गरेका छौं भने धेरै विद्युत् स्वदेशमा उत्पादन भएमा हामी यहाँ विद्युतीय सवारी साधनदेखि अन्य धेरै कुराको प्रयोग गर्न सक्छौं, धेरै उद्योगधन्दा समेत सञ्चालन गर्न सक्छौं । विकासको खडेरी लागेको समयमा देशमा संघीयता लागू भएकाले अब हामीले विकास गर्न र देख्न पाउनुपर्छ । केही सीमित व्यक्तिको स्वार्थले गर्दा ३ करोड जनताले विद्युत्का कारण सास्ती भोग्नुपरेको समस्याबाट हाल माथि उठेको अवस्थामा अब पनि कसैले जनताको हितविपरीत काम गरेमा तिनीहरूलाई कडा कारबाही गर्नुपर्छ । दैनिक १५/१६ घण्टासम्मको लोडसेडिङले गर्दा बैंक, होटल तथा रेस्टुराँका सञ्चालकहरूले आर्थिक भार खेप्दै आएकोमा हाल बैंकहरूको वार्षिक डेढदेखि दुई करोडसम्म डिजेलको खर्च बचत भएको छ । हाल विद्युत्को सहजता भएकाले बैंक, होटल तथा रेस्टुराँका सञ्चालकहरूको मुहारमा उज्यालो छाएको छ ।
प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्छ
चिजकाजी गुरुङ
पोखरा इन्जिनियरिङ कलेज
प्राकृतिक स्रोतसाधनले धेरै क्षेत्रमा सम्भावना बोकेको प्रदेश ४ को विकासका लागि दक्ष र सक्षम मानवीय शक्तिको आवश्यकता पनि उत्तिकै छ । दक्ष जनशक्ति तयार पार्नका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्छ । स्वदेशमै प्राविधिक शिक्षा लिने र यही काम गर्ने वातावरण बनाउनुपर्छ । अहिले इन्जिनियर, डाक्टर, नर्सजस्ता प्राविधिक जनशक्ति मात्र नभएर वैदेशिक रोजगारीका कारण काम गर्ने मजदुरसमेत पाउन कठिन छ । दक्ष, सक्षम, योग्य जनशक्ति तयार पार्न राजनीतिक इच्छाशक्ति र इमान्दारिताको आवश्यकता देखिन्छ । अहिलेको जस्तो लथालिङ्ग अवस्था र व्यवस्थाले अब देश चल्न सक्दैन ।
स्रोतको पहिचान र परिचालनमा जोड
हरिनारायण गिरी
सहसंयोजक, नेकपा (माओवादी केन्द्र), कास्की
प्रदेश ४ मा विकास र समृद्धि हासिल गर्नका लागि स्रोतको कमी होला जस्तो लाग्दैन । पर्यटन, जलविद्युत्, कृषि, खनिज, वनपैदावार, जडीबुटी क्षेत्रको सम्भावनाको पहिचान गरी त्यसलाई व्यवस्थित रूपमा उपभोग र परिचालन गर्ने हो भने यहाँको स्थानीय तथा प्रदेश सरकारलाई मात्र नभएर संघीय सरकार सञ्चालनमा समेत सहयोग पुग्छ । प्राकृतिक स्रोतसाधनको परिचालनमा सबै दल, सरोकारवालाहरूबीच समन्वय र सहभागिताको आवश्यकता देखिन्छ । धौलागिरी, अन्नपूर्ण, मनास्लु क्षेत्रको भ्रमणमा आउने पर्यटकको शुल्कलाई व्यवस्थित गरिनुपर्छ । यस क्षेत्रको प्रमुख सम्भावना पर्यटनमा प्रमुख चुनौतीका रूपमा देखिएको वातावरण संरक्षणमा प्राथमिकता दिनुपर्छ । जनप्रतिनिधिहरूले जनताको कुरा सुनेर उनीहरूलाई सुशासन र विकासको अनुभूति दिलाउने गरी काम गर्नुपर्छ ।
पर्यटन नै विकासको विकल्पनारायण भण्डारी
व्यवसायी
यो प्रदेशको विकास पर्यटनबाट सम्भव छ । खास गरी फेवातालमा रहेको जलकुम्भी झार हटाउने विषयमा धेरै संघ–संस्था लाग्दै आए पनि अन्ततः त्यसको जरैबाट नियन्त्रण गर्ने हालसम्म कुनै निकाय निस्केको छैन । हामीले खाली चर्चा/परिचर्चाका लागि मात्र काम गरेका छौं, न कि दिगो हुने गरी काम गर्न सकेका छैनौं । हामी युवावर्गले अब यस्ता कुरामा सम्बन्धित निकायलाई घचघच्याउने गरी आवाज उठाउनुपर्छ । दिगो विकास हुने गरी योजनाहरू ल्याउनुपर्छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोडविश्वेश्वर आचार्य
अध्यक्ष, नोभेल एकेडेमी
तीनखम्बे अर्थनीतिलाई यो प्रदेशमा पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सके समृद्ध र मुलुककै नमुना प्रदेशका रूपमा विकास गर्न सकिन्छ । यो समृद्ध प्रदेश हो । खासगरी पर्यटन र जलविद्युत्लाई नै प्रवद्र्धन गर्नुपर्छ । पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्छ । गण्डकी र धौलागिरि अञ्चल नेपालको मुख्य पर्यटकीय क्षेत्र नै हुन् । अहिले पनि आन्तरिक तथा बाह्य पर्यटनहरूबाट यो क्षेत्रमा ठूलो आम्दानी हुँदै आएको छ । अझ भनौं, नेपालीले खर्च गरेजसरी विदेशीहरूको खर्च गर्दैनन् । त्यसो हुनाले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिनुपर्छ । लगानीको उचित वातावरण निर्माण गर्नुपर्छ । पछिल्लो समय उद्योगी–व्यवसायीहरूले तत्काल मुनाफा आउने कुरामा मात्र लगानी गर्न थालेका छन्, यो प्रवृत्ति रोकिनुपर्छ ।
सीपमूलक शिक्षामा प्राथमिकता
टीआर काफ्ले
व्यवसायी
प्रदेश नं. ४ मा सम्भावना र चुनौती उत्तिकै छन् । प्रकृतिले यहाँ थुप्रै अवसर प्रदान गरेको छ, तर हामीले त्यो अवसरलाई उपयोग गर्न सकिरहेका छैनौं । कृषिमा आधुनिकीकरण आवश्यक छ । राज्यले कृषिक्षेत्रको विकासका लागि प्रविधिको विकासमा जोड दिनुपर्छ । पर्यटनको प्रचुर सम्भावना रहेको यो क्षेत्रमा पोखरालगायत मुख्य सहरहरू सफा गर्नका लागि स्विपरको व्यवस्था गर्नुपर्छ । हामीकहाँ स्रोतको कमी छैन, सोच र इच्छाशक्तिको अभाव देखिन्छ । अर्कातर्फ यहाँ वैज्ञानिक शिक्षाको विकास गर्नुपर्छ । राज्यले गुणस्तरीय शिक्षाको नाममा बर्सेनि पलायन हुने युवाशक्तिलाई रोक्नका लागि सबै शिक्षालयमा सीपमूलक शिक्षामा जोड दिनु जरुरी छ ।
पूर्वाधार विकास अनिवार्य बाबुराम पन्त
व्यवसायी
भौतिक पूर्वाधारका काम गुणस्तरीय र दीर्घकालीन बन्नुपर्छ । यो प्रदेशको पहिलो प्राथमिकतामा बाटोघाटोजस्ता पूर्वाधार विकासमा जोड दिनुपर्छ । सँगसँगै अहिलेको शिक्षा पद्धतिमा पनि ठूलो सुधार जरुरी छ । विश्वासिला शिक्षालयहरू निर्माण गर्नुपर्छ । गुणस्तरीय र प्रविधियुक्त शिक्षाको विकासबिना अन्य विकास अधुरोजस्तै हुन्छ । मुलुकका अन्य प्रदेशहरूबाट पनि यो क्षेत्रमा पढ्नका लागि आउने वातावरण बनाउन सकियो भने पनि धेरै ठूलो विकास हुन सक्छ । त्यसैगरी सुरक्षा चुनौतीलाई कम गर्नुपर्छ । सुरक्षाका कारण पनि शिक्षा, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रहरू फस्टाउन सक्दैनन्, त्यसैले सुरक्षाको मामिलामा राज्यले ठोस कानुन बनाएर अघि बढ्नुपर्छ । उद्यमशीलताको विकास पनि आर्थिक विकासको मेरुदण्ड नै हो ।
पर्यटनमैत्री वातावरण आवश्यककेदारनाथ शर्मा
अध्यक्ष, पोखरा पर्यटन परिषद्
प्रदेशमा बलियो सरकार निर्माण गर्नुपर्छ । नबाझिने खालका नीति–नियम र ऐन–कानुन निर्माण गर्नुपर्छ । लगानी, सुरक्षामैत्री वातावरण बन्न सक्यो भने प्रदेश नम्बर ४ साँच्चिकै पर्यटनको राजधानी बन्न सक्छ । मुस्ताङको लामान्थाङदेखि नवलपरासीको सुस्तासम्मको सडकलाई फराकिलो बनाउनु जरुरी छ । यहाँ पर्यटनका सबै खाले सम्भावना छन् । धार्मिक पर्यटकदेखि लिएर अन्य मुलुकका पर्यटकलाई पनि यहाँ भित्राउन सकिने धेरै सम्भावना छन् । जलयात्रा, क्यानोनिङ, हिमाल आरोहण, अल्ट्रालाइट, प्याराग्लाइडिङ, बन्जिजम्पजस्ता पर्यटक लोभ्याउने खेलहरू यही प्रदेशमा छन् । नेपाल भित्रिने ९० प्रतिशत पर्यटक भिœयाउन सकिने भएकाले प्रदेश सरकारले पर्यटनमैत्री वातावरण निर्माणमा जोड दिनुपर्छ । चाइनाबाट आउनेले साहसिक पर्यटन मन पराउँछन्, भारतीयहरू धार्मिक पर्यटन मन पराउँछन् । यो प्रदेश खेलक्षेत्रका लागि पनि उत्तिकै पोटेन्सियल छ । पोखरामा रहेको रंगशालाको व्यवस्थापन गर्न सके खेल पर्यटनको पनि विकास हुन सक्छ । पदमार्गहरूमा सडक निर्माण गरिँदा बाह्य पर्यटकहरू पैदल यात्रा गर्नबाट वञ्चित भएको अवस्था छ । अब वैकल्पिक पदमार्गहरू खोल्नुपर्छ । त्यसैगरी तालहरूको संरक्षण, यातायात, होटल व्यवसाय र रेस्टुराँजस्ता पूर्वाधारहरूको विकास गर्न सकियो भने पर्यटन व्यवसायबाट मात्रै पनि यो प्रदेशको विकास गर्न सकिने देखिन्छ ।
अन्नपूर्ण हिमाल चढ्ने वातावरण बनाउनुपर्छलक्की कार्की
पर्यटन व्यवसायी
हामीले पर्यटनमा गुणस्तर दिन सकेका छैनौं । विकासका काम दिगो रूपमा गर्न जरुरी छ । लगानी सदुपयोग गर्न ध्यान दिनुपर्छ । यस प्रदेशको विकासमा पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्छ । अन्नपूर्ण हिमालमा किन साहसिक पदयात्रा हुँदैन ? अन्नपूर्ण हिमाल चढ्न पर्यटक किन आउँदैनन् ? किन सगरमाथामा मात्र केन्द्रित छन् पर्यटक ? यसको खोजी गरेर पर्यटकलाई अन्नपूर्ण हिमाल चढ्ने वातावरण बनाउनु जरुरी छ ।
नेपाली व्यवसायीलाई नै यहाँको ठूलाठूला परियोजना बनाउन दिनुपर्छ । यसले रोजगारी मात्रै सिर्जना गर्दैन, हामीले मागेर ल्याएको पैसा पनि बाहिर जानबाट रोक्छ । असर पर्यटनमा पनि परेको छ ।
स्टक मार्केटमा ध्यान दिनुपर्छगोकुल रिमाल, स्टक ब्रोकर
नेपालको स्टक बजार १९ अर्ब रुपैयाँबराबरको छ । यसको विकासमा राजनीतिक दलको पनि चासो बढ्नुपर्छ । धेरै मुलुकमा स्टक मार्केट विकास नभई आर्थिक विकास हुन कठिन हुने हुँदा नेपालमा पनि राजनीतिक दलहरूले यसलाई बुझेर यसको प्रभावकारितालाई अघि बढाउन सक्नुपर्छ ।