चार महिनाको निर्यात ५० अर्ब मात्र

काठमाडौं– चालु आर्थिक वर्षको चार महिनामा मुलुकको वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको कुल व्यापारमा कमी आएको हो । भन्सार विभागका अनुसार यो वर्षको पहिलो चौमासिक अवधि (साउन–कात्तिक) मा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो । यो अघिल्लो आवका तुलनामा ३.७९ प्रतिशत कम हो ।
गत वर्ष कात्तिसम्ममा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको थियो । विदेशबाट आयात हुने कुल वस्तुमध्ये पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै घटेको छ । अहिलेसम्म इन्धन आयातमा १० अर्ब रुपैयाँ कम भएको हो । अर्थतन्त्र सुस्ताएको र सवारी साधनमा विद्युतीय गाडिको प्रयोग बढ्दै गएको कारण इन्धन आयात कम भएको हो ।
भन्सारका अनुसार पहिलो आयात जस्तै निर्यात व्यापार पनि खस्किएको छ । यस अवधिमा मात्र ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा ७.६८ प्रतिशत कम हो । अघिल्लो आवको यसै अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात दुवै घट्दा समग्र वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ । चार महिनामा कुल ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४.१५ प्रतिशत कम हो । गत आवको यसै अवधिमा वैदेशिक व्यापारको आकार ५ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ थियो ।
यस अवधिमा व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको तुलनामा ३.३४ प्रतिशत हो । गत आवको पहिलो चौमासमा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२ र निर्यातको हिस्सा ८.९८ प्रतिशत रहेको छ ।