कोरियाले थप पाँच क्षेत्रमा कामदार लैजाने «
Logo

कोरियाले थप पाँच क्षेत्रमा कामदार लैजाने

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा थप नेपाली युवा लैजान भाषा परीक्षा गर्ने भएको छ ।

कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन १ महिनाभित्र आह्वान गर्ने भएको वैदेशिक रोजगार विभाग ईपिएस शाखाले जनाएको छ । शाखाका निर्देशक गुरुदत्त सुवेदीले कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप कामदार आवश्यक रहेको जनाउँदै भाषा परीक्षा गर्ने भएको बताए ।

‘कोरियाले एक महिनामा ३ हजारभन्दा बढी नेपालीको भिसा लगाएका कारण उत्पादनमूलक क्षेत्रमा १ हप्ताभित्र भाषा परीक्षा आवेदन माग गर्ने तयारी भएको छ,’ सुवेदीले कारोबारसँग भने, ‘कोरियाले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको छ ।’ यसअघि कोरियाले नेपालबाट कृषि तथा पशुपालन र निर्माण क्षेत्रमा मात्र नेपालीलाई माग गर्दै आएकोमा केही अघिदेखी सिप बिल्डिङमा समेत माग गर्न थालेको थियो । बिहीबार सिप बिल्डिङको परीक्षा सकिएको छ । यसबाट ४ हजारदेखि ४२ नेपाली छनोट गर्ने तयारी भएको शाखाले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन सन् २०२३ भित्रै खुलेमा यसअघि सिप बिल्डिङमा भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि छनोट कोटा कति हुने भन्नेबारे खुलाइएको छैन । ईपिएस मार्पmत कोरियाले निर्धारण गरेका रोजगार क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ ।

कोरियामा श्रमिकको चरम अभाव हुन थालेपछि आफ्ना नागरिक र दक्ष विदेशी श्रमिकका लागि आरक्षण गरिएका सेवा, निर्माण क्षेत्रमा नेपाली युवालाई समेत माग गर्न थालिएको छ । कोरियाले सेवा तथा उत्पादन क्षेत्रका विभिन्न उप–क्षेत्रमा विदेशी श्रमिकलाई रोजगारी गर्न नपाउने कानुनी व्यवस्थालाई संशोधन गरेर रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गतका श्रमिकले समेत काम गर्न पाउने व्यवस्था गरेको छ । कोरियामा यसअघि ई–९ भिसा वहाक विदेशी श्रमिकलाई डिथ्री (डर्टी, डिफिकल्ट र डेन्जर) क्षेत्रमा मात्र काम गर्ने अवसर दिँदै आएकोमा अब भने सेवा र अन्य क्षेत्रमा समेत काम गर्न पाउनेछन् ।

नेपालबाट हाल कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा वर्षेनी १२ हजार श्रमिक रोजगारीका लागि जाने गरेका छन् ।
२०२४ का लागि १ लाख ६५ हजार कोटा रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार विदेशी श्रमिक माग गर्ने भएको छ । ईपिएस अन्तर्गतका नेपालसहित १६ देशको लागि सो कोटा निर्धारण भएको हो । १६ देशमध्ये पनि नेपाली श्रमिक रुचाइएका कारण सो कोटा नेपालले धेरै पाउने ईपिएस शाखाले जनाएको छ ।

मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सन् २०२४ मा ईपिएस अन्तर्गत कोरिया ल्याउने प्रवासी मजदुरको संख्या १ लाख ६५ हजार निर्धारण गरेको थियो । यो तोकिएको १ लाख ६५ हजार प्रवासी विदेशी श्रमिकको संख्यामध्ये नयाँ नियमितको लागि १ लाख ४३ हजार ५३० जना तोकिएको छ । बाँकी २१ हजार ४ सय ६० जना प्रतिवद्ध (कमिटेड श्रमिक) लाई तोकिएको छ । निर्धारण गरिएको क्षेत्र अनुसारको कोटामध्ये उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, सिप बिल्डिङमा ५ हजार, निर्माण क्षेत्रमा ६ हजार, सेवा क्षेत्रमा १३ हजार र अन्य आवश्यक क्षेत्रमा ३० हजार जना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्