मौद्रिक नीति समीक्षाको प्रतिक्षामा सेयर लगानीकर्ता «
Logo

मौद्रिक नीति समीक्षाको प्रतिक्षामा सेयर लगानीकर्ता

काठमाडौं– नियामक निकायको नीतिगत कडाइका कारण बजार बढ्न नसकेको बताउँदै आएका सेयर लगानीकर्ता यतिखेर नीति परिमार्जनको पर्खाइमा छन् । सत्तासँग नजिक रहेका केही लगानीकर्ता नीति परिमार्जन गर्न लबिङमा जुटिरहेका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहँदा लगानीकर्ताले अपेक्षा लचक नीतिको छ । यही कारण सेयर बजार केही लयमा जान थालेको संकेत देखिएको जानकारहरू बताउँछन् । विगतमा जति लबिङ गरे पनि नीति लचक नआउँदा सेयर बजारले समस्या भोगिरहेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । उनले मौद्रिक नीतिको समीक्षा आउने तयारी भएसँगै अब समय मिलेसम्म राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी सेयर बजारलाई अगाडि लैजानका लागि सहजीकरण गर्न आग्रह गर्ने बताइन् ।

‘नियामकीय कडाइकै कारण अहिले सेयर बजारमा समस्या आएको हो । लगानीकर्ता समस्यामा परेका हुन्,’ अध्यक्ष पोखरेल भन्छिन्, ‘अहिले तरलता पनि सहज भएको अवस्था छ । अब ब्याजदर पनि क्रमशः घट्दै जाने भनिएको छ । अब जोखिम भारको व्यवस्था पनि पुनरावलोकन गरिदिए बजारले गति लिन्छ ।’ पुँजी बजार विश्लेषक मुक्ति अर्याल अहिले मौद्रिक नीतिको समीक्षा पछिमात्रै सेयर बजार कता जान्छ भन्न सकिने बताउँछन् । उनले अहिले लगानीकर्ता मौद्रिक नीतिको समीक्षातिर बढी चासो रहेको बताउँदै राष्ट्र बैंकले लिने नीतिमा नै बजारको दिशा तय हुने उल्लेख गरे ।

उनले भने, ‘राष्ट्र बैंकले केही नीतिगत लचकता अपनायो भने बजारले लय समात्न सक्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अर्थतन्त्रमा सुधार ल्याउनका लागि पहल गरेकाले यसले लगानीकर्ताको आत्मविश्वास जगाउन भूमिका खेल्ने उनले बताए । अर्थतन्त्र सुदृढ हुँदै जाँदा सेयर बजारले लय पक्रने बताउँदै उनले अहिले तरलताको अवस्था पनि राम्रो रहेकाले राष्ट्र बैंकले नीतिमा सहजीकरण गरेमा बजार बढ्ने बताए ।

यो साता बजार यस्तो रह्यो
गिरावटबाट सुरू भएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले साताभरमा सामान्य लय लिएको छ । साताको दुई दिन घटेको सेयर बजार पछिल्ला तीन दिनमा क्रमशः बढेर बिहीबार बन्द भएको हो ।

चाडपर्वका कारण सेयर बजार गत कात्तिक २३ पछि एकैपटक मंसिर ४ गतेदेखि खुलेको थियो । कात्तिक २३ मा १८५२.०८ विन्दुमा रोकिएको सेयर बजारले मंसिर ४ गते सोमबार सामान्य वृद्धि पायो । सो दिन नेप्से परिसूचक १८५३.४८ विन्दुमा पुग्यो । चाडवाडपछिको पहिलो दिनको वृद्धिले सेयर बजारमा निरन्तरता पाउन सकेन । मंगलबार परिसूचक घटेर १८२९.६५ विन्दुमा झर्यो ।

मंगलबारपछिका बाँकी दुई दिन भने सेयर बजारमा वृद्धि आयो, जसलाई लगानीकर्ताले सामान्य सुधारका रुपमा लिएका छन् । बुधबार नेप्से परिसूचक १८५०.३३ विन्दुमा उक्लिएकोमा बिहीबार थप वृद्धि हुँदै १८६०.२० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ९.८७ अंकले उकालो लाग १८६०.२० विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७६ अंकले उकालो लागेर ३५६.९८ मा पुगेको छ ।

बिहीबार बजार बढ्दा कारोबार रकम पनि बढेको छ । बजारमा लगानीकर्ताको सक्रियता बढेको देखिन्छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ । कुल ४४ लाख २० हजार ५१८ कित्ता सेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, सोनापुर मिनरल्स नौ करोड ५८ लाख १६९, सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेड पाँच करोड ४१ लख ९८ हजार १८१, सिटिजन लाइफ इन्स्योरेन्स पाँच करोड ३० लाख ४४ हजार ४८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँच करोड २१ लख २७ हजार ७१४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, थ्री स्टार हाइड्रोपावर ८.५८, सिक्लेस हाइड्रोपावर ८.५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ८.२५ र सानिमा जीआइसी इन्स्योरेन्सका लगानीकर्ताले ६.३१ प्रतिशतले कमाएका छन् । यस्तै, नबिल बैंक ८.२०, किसान लघुवित्त ५.७८, सपोर्ट माइक्रोफाइनान्स ५.३४, माहुली लघुवित्त ४.५३ र हिमालयन लघुवित्तका लगानीकर्ताले ३.७३ प्रतिशतले गुमाएका छन् । लामो समयदेखि घटेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य तल्लो विन्दुमा झरेको छ । यस कारण पनि बजारमा क्रेता सक्रिय देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्