केपी ओली टी–२० क्रिकेटमा बागमतीको विजयी शुरुवात «
Logo

केपी ओली टी–२० क्रिकेटमा बागमतीको विजयी शुरुवात

काठमाडौं- स्पिनर सन्दीप लामिछानेको बलिङप्रेरित बागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरु भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले हराएको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको टी–२० क्रिकेट प्रतियोगितामा एक सय ८४ रनको लक्ष्य पछ्याएको आयोजक १४.२ ओभरमा ७५ रनमै समेटिन पुग्यो । बागमतीको धारिलो बलिङसामु आयोजक समालिन सकेन । कप्तान सन्दीप लामिछानेले चार ओभरमा १६ रन मात्रै खर्चिएर ४ विकेट लिए । सुवास खत्रीले तीन तथा प्रतिश जिसीले दुई र रिजन ढकालले एक विकेट लिँदै आयोजकको इनिङ सस्तैमा रोके ।

आयोजकका लागि अमर मिश्रले १३, विजय प्रजापतीले १३ र सन्तोष यादव १२ रन बनाए । निर्मल थापाले १० रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकको रन बटुल्न सकेनन् । बागमतीले सहज जित निकाल्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपको कप्तानीमा उत्रिएको वागमतीले टस हारेर पहिले ब्याटिङको निम्तो पायो । बागमतीलाई ब्याटिङ गराउने आयोजकको निर्णय सही सावित भएन ।

रित गौतमको ७४ रनको योगदानमा बागमतीले पूरै ओभरमा खेल्दै सात विकेटको क्षतिमा १८४ रनको योगफल तयार पार्‍यो । ओपनर गौतमले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । उनी २०औं ओभरको अन्तिम बलमा रनआउटको शिकार भए । अर्का ओपनर शुभ कंसाकार पनि २२ बल खेल्दै २७ रनमा रनआउट भए । शुभले ४ चौका र १ छक्का हिर्काए । इसान पाण्डे सन्देश थापाको बलमा डकआउट भए ।

पावरप्लेमा दुई विकेट गुमाएको बागमतीको इनिङ ओपनर रितले अगाडि बढाएउँदै अन्तिमसम्म पुर्‍याए । प्रतिक श्रेष्ठ १४ रन बनाउने क्रममा सन्तोष यादवको बलमा आउट हुन पुगे । प्रतिश जिसी पनि बिप्रासन केसीको बलमा ९ रनमै पभेलियन फर्किए । बलर केसीले १४औं ओभरमा २४ रन खर्चिएर दुई विकेट लिए । सो ओभरमा उनले सन्दीपको विकेट पनि लिए ।

लामिछानेले उनलाई लगातार तीन छक्का हिर्काएर दबाब राखे पनि ओभरको अन्तिम बलमा आउट भए । गौरभ खड्का १७ रनमा अविजित रहे । एकेडेमीका केसीले तीन ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्देथ थापा र सन्तोष यादवले समान एक/एक विकेट लिए । प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक केपी शर्मा ओलीले गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्