लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रुपले बढ्योः अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रुपले बढेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले कोभिडको समयमा कर्जा प्रवाह गर्न राष्ट्र बैंक मौद्रिक नीति सहज बनाउँदा नेपालको शेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएको भन्दै त्यसको असर अहिले अर्थतन्त्रमा परेको दाबी समेत गरेका हुन् ।
उनले नेपाल राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नीतिले अनावश्यक ठाउँमा धेरै ऋण प्रवाह भएको उल्लेख गरे । उनले पछिल्लो समय मौद्रिक नीति सहज हुनुपर्ने समयमा भने मौद्रिकमा कडाई गर्दा पनि अर्थतन्त्रमा केही असहजता भएको दाबी गरे । उनले मौद्रिक नीति सहज हुँदा बैंकबाट प्रवाह भएको कर्जा घरजग्गा कारोबार अनावश्यक रुपले वृद्धि भएको बताए ।
उनले गत सालको भन्दा तेब्बर हुने आशले बैंकबाट ऋण लिएर जग्गा र टावरहरुमा पैसा लगाएकाले अहिले अर्थतन्त्रमा समस्या देखिएको बताए । अर्थमन्त्री महतले अब निजी क्षेत्रले विगतको पाठ सिकेर प्रतिफल नआउने क्षेत्रलमा तत्कालका लागि लगानी नगर्न आग्रह गरे । उनले सरकारले पनि प्राथमिकताका क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको बताए ।
अर्थमन्त्री महतले अहिलेको अर्थतन्त्रको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने बताए । उनले अर्थतन्त्रमा आजको आजै समस्या नआएको भन्दै अब सकारात्मकतर्फ अगाडि बढेको दाबी गरे । उनले समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सञ्जाल प्रयोग भइरहेको बताए ।
अर्थमन्त्री महतले निश्चित नियत राखेर केही जत्थाले नकारात्मकता फैलाइरहेको बताए । उनले नकारात्मक कुरा लगानी गरेर सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुर्याउने काम भएको बताए । उनले नेपालीहरु आफ्नो पेट काटेर पनि स्मार्ट फोन चलाउने गरेको बताए । उनले अहिले दक्षिण एशियामै प्रतिव्यक्ति स्मार्ट फोन चलाउनेमा नेपाल अग्रस्थानमा रहेको बताए ।