Logo

प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

सरकारविरुद्ध प्रदर्शन, दुई पक्षबीच ढुङ्गा हानाहान

काठमाडौं- मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा-विद्यार्थी विशेष शक्तिले काठमाडौं उपत्यकामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

आजको विरोध प्रदर्शनका लागि काठमाडौं जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र युवा संघलाई तीनकुने तोकेको छ । युवा संघको र्‍याली तीनकुनेबाट कोटेश्वर हुँदै पुनः तीनकुने आएर सभामा परिणत हुनेछ भने युवा र विद्यार्थीका नेता/कार्यकर्ताले तीनकुनेदेखि कोटेश्वरसम्मको सडक भरिएको छ ।

एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडालले र्‍यालीको नेतृत्व गरेका छन् । त्यस्तै उपत्यका भित्रिएका दुर्गा प्रसाईँका समर्थकहरू पनि कार्यक्रमस्थल बल्खुतर्फ लागेका छन् । बल्खुतर्फ जाने र्‍यालीका लागि छुट्टाछुट्टै रुट तय गरिएको थियो ।

यस्तै काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा संघका कार्यकर्ताबीच झडप समेत भएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको हो ।

युवा संघका कार्यकर्ता बल्खु हुँदै कोटेश्वरतिर जाने क्रममा दुई समूहबीच ढुङ्गा हानाहान भएको हो । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ भने कार्यक्रमस्थल जाने सडकमा सवारी आवागमन ठप्प छ । ट्राफिक र सुरक्षाकर्मीले ठाउँठाउँबाट सवारीसाधन डाइभर्ट गरेका छन् ।

त्यस्तै बल्खुमा प्रहरीले प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईं नेतृत्वको जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले रोकेको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले उनीहरूमाथि पानीको फोहोरासमेत प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्