माछामा आत्मनिर्भर, भुरामा परनिर्भर

दाङ– दाङ जिल्ला माछामा आत्मनिर्भर बन्दै गए पनि माछाको भुराका लागि भने परनिर्भर हुने अवस्था कायमै रहेको छ । जिल्लामा माछाको भुरा उत्पादन भए पनि आत्मनिर्भर हुन सकेको छैन ।
अहिले पनि माछापालन गर्ने कृषकहरूले जिल्लाबाहिरबाट माछाका भुरा ल्याउने गरेका छन् । विश्व मत्स्य दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, दाङले बाँके पुगेर १० हजार माछाका भुरा सातताले कृत्रिम जलाशयमा छोडिएको थियो । जिल्लामा भुरा उपलब्ध हुन नसकेपछि कार्यालयले बाँके पुगेर माछाको भुरा ल्याएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गैरी गाउँमा माछापालन गर्दै आएका मोहन डाँगीले जिल्लाबाहिरबाट माछाका भुरा ल्याउने गरेको बताए । बाँकेबाट माछाका भुरा ल्याउने गरेको उनको भनाइ छ । ‘जिल्लाबाहिरवाट माछाका भुरा ल्याउनुपर्दा समस्या हुन्छ,’ उनले भने । जिल्ला बाहिरबाट ल्याउनुपर्दा ढुवानी खर्च र बढी समय लाग्ने गरेको उनले बताए । टाढाबाट ल्याउँदा भुरा मर्नेसमेत गर्छन् । कृषकहरूलाई आर्थिक, समयको अभाव र भुरा मर्ने समस्या रहेको डाँगी बताउँछन् ।
उनले विगत ६ वर्षदेखि माछापालन गर्दै आएका छन् । विगत ६ वर्षदेखि माछापालन गर्दै आएका डाँगीले बाहिरबाट ल्याएर पालन गर्दै आएको बताए । ‘जिल्लाबाट एकपटक पनि ल्याएको छैन,’ उनले भने । वैशाख, जेठ र असार महिनामा भुरा भनेजति नपाइने समस्या रहेको उनको भनाइ छ । अन्य समयमा भने धेरै समस्या नहुने उनले बताए । उनले दुई बिघा क्षेत्रफलमा माछापालन गर्दै आएका छन् । उत्पादन भएको माछा बिक्रीमा भने समस्या नभएको उनले बताए ।
घोराही उपमहानगरपालिका वडा नं. ५ मा माछापालन गर्दै आएका दीपक रावतले माछाका भुरा जिल्लाबाट ल्याउने गरेका छन् । देउखुरीबाट माछाका भुरा ल्याउने गरेको उनले बताए । ‘जिल्लाबाट ल्याउँदा सहज हुने गरेको छ,’ रावतले भने । टाढाबाट भुरा ल्याउँदा मर्ने सम्भावना बढी हुनुका साथै ढुवानी खर्च बढी हुने उनको भनाइ छ ।
जिल्लामा पर्याप्त मात्रामा भुरा पाउन सकेमा बाहिर जान नपर्ने उनले बताए । ‘माछाका भुरा लिन बाहिर जान नपरेमा कृषकलाई धेरै सहयोग पुग्नेछ,’ रावतले भने । उनले विगत ११ वर्षदेखि माछापालन गर्दै आएका छन् । नौ बिघामा माछापालन गरेको रावतले बताए । वार्षिक रूपमा साढे ४ क्विन्टल माछा उत्पादन हुने गरेको उनको भनाइ छ ।
जिल्ला माछामा आत्मनिर्भर बन्दै गए पनि भुरामा परनिर्भर रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले बताए । ‘माछाको राम्रो सम्भावना बोकेको जिल्ला हो । तर भुरामा परनिर्भर नै रहेको छ,’ अधिकृत चौधरीले भने । भुरामा परनिर्भर भएपछि बाँके र भैरहवासम्म पुगेर भुरा लिने गरेको उनको भनाइ छ । जिल्लामा भुरा उत्पादन गर्न सकेमा बिक्रीको समस्या नहुने उनले बताए । ‘माछाको भुरामा आत्मनिर्भर बनाउन सके कृषकहरूलाई समेत सहज हुनेछ,’ अधिकृत चौधरीले भने ।
देउखुरीमा माछाको भुरा उत्पादन
राप्ती गाउपालिका वडा नं. ६ सगरापुरमा माछाको भुरा उत्पादन हुने गरेको छ । विगत दुई वर्षदेखि माछाको भुरा उत्पादन गर्दै आएको अविचल मत्स्य प्रजनन केन्द्रका सञ्चालक सोमप्रसाद चौधरीले बताए । गत वर्ष आएको बाढीले माछा बगाइदिएपछि हाल भने भुरा उत्पादन हुन नसकेको उनको भनाइ छ । बाढीले माउ माछा बगाएपछि धेरै समस्या भएको उनले बताए ।
फेरि माछा ल्याई माउ बनाएर भुरा उत्पादनको तयारी गरिएको उनी बताउँछन् । ‘आउँदो माघ, फागुनदेखि माछाको भुरा उपलब्ध गराउने गरी तयारी गरिराखेको छु,’ उनले भने । मासिक ६० लाख माछाको भुरा उत्पादन हुने उनी बताउँछन् । उत्पादन भएका भुरा बिक्रीमा कुनै समस्या नभएको उनले बताए ।
उनले उत्पादन गरेको माछा जिल्लाका साथै रुकुम, रोल्पा, सल्यान, वर्दिया, कपिलवस्तुसम्म जाने गरेको छ । २०४६ देखि माछापालन गर्दै आएका चौधरीले करिब दुई वर्षपहिलेदेखि माछाका भुरा उत्पादन सुरु गरेका थिए । माछाको भुरा तयार गर्नका लागि प्राविधिक ज्ञान हुनुपर्ने भएकाले सबैले भुरा उत्पादन गर्न नसक्ने उनी बताउँछन् ।